×

बीरगंज २९ असोज । दुर्गा पूजाको भजन किर्तनले अहिले मुलुकको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नगरी बीरगंज गुञ्जायमान छ । भोजपुरी, हिन्दी, नेपाली भाषाका दुर्गा भजनले वीरगंजमा दसैंको रौनक बढेको छ । वीरगंजको चोक–चोकमा दुर्गा पूजाका लागि भव्य पन्डाल निर्माण गरिएको छ । दसैंमा बीरगंजको गहवामाई मन्दिर मुख्य आकर्षण भए पनि यहाँ रानीघाट, विर्ता, घण्टाघर, लालबंगला, लक्ष्मणवा, जेल रोड लगायतका स्थानमा भव्य पण्डाल निर्माण गरी दुर्गा पुजा भई रहेको छ । बीरगंजमा दसैंको आगमनसँगै चहलपहल बढेको छ ।

बीरगंजवासीहरू उत्साहित भएर दसैंको पुजा आराधनामा जुटेका छन् । वीरगंजको रानीघाट देखि घण्टाघर हुदै माईस्थान, आदर्शनगर सम्मको क्षेत्र दुलही झै सिंगारिएको छ । व्यापारिक तथा आर्थिक केन्द्र भनेर चिनिने वीरगंज नगरी धार्मिक एवं एतिहासिक नगरी नगरीको रुपमा पनि स्थापित हुन थालेको छ । बीरगंजको केन्द्रमा पर्ने गहवामाई मन्दिरमा दशैंअवधिभर पुजा आराधनाका लागि ठूलो भीड लाग्ने गर्दछ ।

मुलुककै दश शक्ति पिठ मध्ये एक शक्ति पिठको रुपमा गहवामाई मन्दिरमा लाग्ने भिडलाई व्यवस्थित गर्न प्रहरीलाई हम्यहम्ये परेको छ । अहिले वीरगंजको घण्टाघरबाट माईस्थान प्रवेश गर्ने सम्पूर्ण सवारी साधन रोकिएका छन् भने अष्टमी सम्म घण्टाघर देखि माईस्थान आसपासको सडकमा भव्य मेला लागेको कारण बीरगंजको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

 

Back to top