×

काठमाडौं, २७ असोज, पप्पु कन्ट्रक्सनले पाएको नेपाल राष्ट बैंक केन्द्रीय भवनको ठेक्का खोस्न चरम चलखेल भइरहेको बताइएको छ । रौतहटको लालबकैयामा भएको डुंगा दुर्घटना र बबई पुलको विषयलाई लिएर सो निर्माण कम्पनी विवादमा तानिएको मौका छोपेर बैंक भवन निर्माणको ठेक्का खोस्ने चलखेल भएको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय भवन बनाउने ठेक्का चिनियाँ कम्पनी एसआरबीसी–पप्पु जेभीले पाएको छ । पप्पुको भन्दा २ करोड रुपैयाँ बढी रकम कबुल गरेको सीआइसीओ÷समानान्तर जेभी जसरी पनि त्यो ठेक्का पप्पुबाट फुत्काउन लागिपरेको बताइएको छ । पप्पुलाई कुनै पनि बाहानमा सो ठेक्का आउट गर्न पाए पप्पुपछिको कम रकम भएकाले काम आफ्नो हातमा आउने दाउ समानान्तरको छ । एसआरबीसी÷पप्पु जेभीले सबैभन्दा कम २ अर्ब ६ करोड रुपैयाँको प्रस्ताव गरेकाले उसले ठेक्का पाएको थियो । पप्पुको भन्दा २ करोड रुपैयाँमात्र बढी अर्थात २ अर्ब ८ करोड रुपैयाँ प्रस्ताव गरेको सीआइसीओ÷समानान्तर जेभीले कुनै पनि बाहानामा पप्पुबाट ठेक्का खोस्ने उपायमा लागेको स्रोतले बताएको छ । यसका लागि समानान्तरका सञ्चालक मिडिया दुरुपयोग रजानीतिक दलका नेता रिझाउन लागेको बताइएको छ । समानान्तरका सञ्चालक अच्युत खरेलले सत्तासीन पार्टीका नेतालाई प्रभावमा पारेर पप्पुको ठेक्का बदर गराएर आफ्नो बाटो क्लियर गर्ने प्रपञ्च बनाइरहेको बताइएको छ । बबई पुल प्रकरणमा पप्पुका सञ्चालकसहित १२ जनालाई अख्तियारले विशेष अदालतमा मुद्दा हालेकाले कुनै पनि बाहानामा ठेक्का फुत्काउने योजनामा समानान्तर लागेको छ । एसआरबीसी÷पप्पुको आर्थिक र प्राविधिक प्रस्ताव स्वीकृत भइसकेको छ । आर्थिक र प्राविधिक प्रस्ताव स्वीकृत भइसकेको अवस्थामा ठेक्का बदर गरिए चिनियाँ कम्पनी एसआरबीसी कानूनी उपचारमा जाने बताइरहेको छ । सो कम्पनीसित साझेदारीमा पप्पु जोडिए पनि ठेक्काको काम प्रत्यक्षरुपमा सोही चिनियाँ कम्पनीले हेरिरहेको पनि स्रोतले बताएको छ । सत्तासीन राजनीतिक दलका शीर्ष नेताहरु नै यतिबेला पप्पुबाट ठेक्का खोसेर समानान्तरलाई दिन राष्ट्र बैंकलाई दबाब दिइरहेका छन् । राष्ट्र बैंकका अधिकारीहरुले यो विषयमा चर्को राजनीतिक दबाब झेलिरहेका छन् । एकातिर राजनीतिक दबाब र अर्कातिर प्रक्रिया पुर्याएर दिइएको ठेक्का बदर गर्दा कानूनी कारवाहीको डरबाट राष्ट्र बैंकको नेतृत्व दोधारमा परेको बुझिएको छ ।

Back to top