×

वीरगन्ज २५ असोज । चाडपर्वलाई लक्षित गर्दै महानगरपालिकाले सार्वजनिक स्थलमा वर्षौदेखि हुँदै आएको अतिक्रमण हटाउन अभियान शुरु गरेको छ। मुख्य र भित्री बाइपासमै आधाभन्दा बढी सडकै ढाकिने गरी मोटर ग्यारेज र कवाडी सञ्चालकले गरेको कब्जा हटाइएको हो ।

सडक अतिक्रमण गरेर व्यापारिक सामग्री थुपार्ने व्यापारीविरुद्ध कारवाहीलाई तीव्रता दिएको महानगरले व्यापारीले सडकमा थुपारेका सामग्री नियन्त्रणमा लिँदै चर्को जरिवानासमेत असुलेको छ।

अन्यत्रबाट नगरमा प्रवेश गर्ने यात्रुवाहक सवारीसाधन बाइपास रोडमा प्रवेश गर्दा अस्तव्यस्त अवस्था देखेर पर्यटकहरू माझ महानगरको नकारात्मक छवि बन्दै आएको थियो। अतिक्रमण हटाइएसँगै व्यवस्थित देखिएकाले पर्यटकसमेत खुशी छन्। बाइपास सडकको खाल्डाखुल्डी पुरिएपछि अहिले दुर्घटनाको जोखिमसमेत कम भएको छ।

घण्टाघर नजिकैको बीपी उद्यान परिसरको जग्गा कब्जा गरेका कपडा र तरकारी व्यापारीलाई अतिक्रमण हटाउन पूर्वसूचना जारी गरिए पनि अटेर गरेपछि महानगरपालिकाले बुधबार डोजर लगाएर हटाएको छ। ०६७ सालदेखि नै महानगरले पटक-पटक अतिक्रमण हटाए पनि राजनीतिक संरक्षणमा व्यापारीले उद्यानको जग्गा कब्जा गर्ने क्रम जारी राख्दै आएका छन् ।

महानगर प्रमुख विजय सरावगीले सार्वजनिकस्थल अतिक्रमणविरुद्धको कारवाहीलाई अभियानकै रूपमा अगाडि बढाइने जानकारी दिए । 'सार्वजनिक सम्पत्तिको संरक्षणमा हामीलाई‌ नगरवासीको सहयोग आवश्यक छ,' नगर प्रमुख सरावगीले नेपाल समयसँग भने, 'संरक्षणसँगै सौन्दर्यकरण पनि गर्दैछौं ।'

नगर विकास समितिबाट हालै मात्र महानगरपालिकाको स्वामित्वमा आएको बाइपास सडकलाई चारबाट ६ लेनमा विस्तार गर्ने, हरित पार्क बनाउने र सौर्य बत्ती जडान गर्ने योजना रहेको साना तथा मझौला शहर विकास परियोजना अधिकृत शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

बाइपास सडकको ७.५ किमिसँगै घण्टाघर लिंक रोड, रेलवे बाइपाससहित २०.५ किमि सडकको कालोपत्रे, हरित बेल्ट र आइल्यान्ड निर्माणका लागि दुर्इ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको परियोजना कार्यालयले जानकारी दिएको छ।

'दशैंपछि ठेक्का सम्झौता हुनेछ,' अधिकृत श्रेष्ठले नेपाल समयसँग भने, 'दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌लक्ष्य छ।' व्यवस्थित वीरगञ्ज अभियानले समेत महानगरको ट्राफिक र भित्री बस्तीको व्यवस्थापनका लागि घरदैलो अभियान शुरु गरेको छ।

छाडा चौपाया नियन्त्रण र घर-आँगन मात्र नभर्इ सडक र‌‌ सार्वजनिक स्थलसमेत सफा राख्न घरदैलोमै पुगेर आग्रह गरिएको अभियन्ता दिलिप कार्कीले जानकारी दिए । नगरवासीबाट सकारात्मक सहयोग प्राप्त भएकाले अभियानको प्रभाव देखिन थालेको छ।

यो अभियानमा महानगर, जिल्ला प्रहरी, ट्राफिक, ग्रिन सिटी र सामूदायिक सेवा समितिले हातेमालो गरेका छन्।

Back to top