ब्याज खाने धुनमा मधेसमा फोरम राजनीतिको सावा मास्दै उपेन्द्र यादव !

349

Share
  • 185
  •  
  •  
    185
    Shares

काठमाडौं, २२ असोज, संघीय सामाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको सत्तालिप्सा र अवसरवादी आचरणका कारण यो दलका स्थानीय नेता र कार्यकर्तामा व्यापक असन्तोष बढ्दै गएको पाइएको छ । बितेको मधेस आन्दोलनले दिलाएको सहानुभूति र मधेसी जनताको अपेक्षामा टेकेर सत्तामा उक्लिएका यादव अहिले सत्ताको चरम सुखमा रमाएर अन्य नेता र कार्यकर्तालाई उपेक्षा गर्दै हिडिरहको बताइन्छ । विगतका जसको विरुद्ध आन्दोलन भयो, उसैको नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका यादवले अहिलेसम्म सत्तागमनको तार्किक औचित्य पेश गर्न सकेका छैनन् । एक दुई जनालाई झण्डावाला सरकारी गाडी, विदेश सयर र सुविधा भोगका लागिमात्र मधेसी जनताले बलिदानी दिएका होइनन् । मधेसी जनताले आश गरिएका उपेन्द्र यादव सत्ताको गुलियोमा मधेसका एजेण्डालाई विसर्जन गरेको भान हुन थालेको छ, फोरमका एक स्थानीय नेताले गुनासो गरेका छन् । मधेसवादी चुनावमा जाने चर्चा चलिराख्दा संविधानको पुनर्लेखन नभएसम्म संविधानअन्तर्गतका कुनै पनि प्रक्रियामा सहभागी नहुने बताएका उपेन्द्र यादव चुनावी मैदानमा सबैभन्दा पहिला दौडिएका थिए । त्यतिबेलै मधेसी जनताले उपेन्द्रको स्वार्थी र कुटिल चाल नबुझेका होइनन् । तर, बदलिँदो परिस्थितिलाई कारण देखाएकाले मधेसी जनताले एक पटक परीक्षणको मौका दिएका थिए । सत्ताको अगाडि लत्रिएका यादव जनताको परीक्षामा उनी फेल हुने त निश्चित नै छ, उनको सत्तासुखमुखी आचरणका कारण मधेसमा मधेसवादी राजनीतिको साखसमेत खुइलिँदै गएको कार्यकर्ताको औसत गुनासो सुन्न सकिन्छ । उपेन्द्रको सत्तामुखी चरित्रका कारण समग्र मधेस राजनीतिकै विश्वास पातलिएको बताइएको छ । संविधानको विरोधमा ६ महीनासम्म वीरगञ्जको सीमानामा मधेसी जनतालाई आन्दोलन गर्न लगाएर मधेसी नेता त्यही संविधानअन्तर्गत भएको प्रधानमन्त्री चयनमा हरुवा उम्मेदवारलाई भोट हाल्न लाइनमा उभिएसँगै मधेसी जनताको मनमा चिसो पसेको थियो । तर, आन्दोलनमा मधेसी जनताको बलिदानी र मधेस अधिकारका लागि लड्ने उत्तम विकल्पको अभावमा कानो मामा नै जाति भनेर मधेसी जनताले मधेसवादीलाई भोट दिएर पठाएका थिए । मधेसी जनता मधेसी नेताको आचरण सुध्रिनेमा आशावादी भए पनि सत्ताको चास्नीमा लुटपुटिने उपेन्द्र प्रवृत्तिको पुनरावृत्ति देख्दा कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हाले पनि बांगै भन्ने उक्ति सम्झिइरहेको मधेसका एजेण्डामा सुझबुझ राख्नेहरु बताउँछन् । मधेस आन्दोलनको केन्द्र मानिएको वीरगञ्जबाट फोरमले ३ सीटमा जित हात पारेको थियो । त्यहाँका जनताले आन्दोलनको रापताप र मधेसी भवनाबाट ओतप्रोत भएर मतदान गरेर उपेन्द्रको हात बलियो बनाए पनि सरकारमा सहभागी हुने बेलामा पर्सालाई माइनस गरी सत्तामा टाँसिन गएपछि पर्सामा उपेन्द्रका दाहिने हात भनेर चिनिनेहरु नै चिढिएका चर्चा चलेको छ । कुनै बेला एक नम्बरको मधेसविरोधी मानिएका केपी ओलीको सोचमा मधेसप्रति के त्यस्तो चामत्कारिक परिवर्तन देखेर उपेन्द्र यादव ओलीसित घाँटी जोड्न पुगे ? यसको चित्तबुझ्दो जवाफ अहिलेसम्म मधेसका जनताले पाएका छैनन् । ६ महीने आन्दोलनका क्रममा भएको मधेसी जनताको बलिदानी र दर्जनौ सहिदको टेको टेकेर सत्तामा पुगेका यादवले मधेसका एजेण्डा सत्तासुखसँग साटेको टिप्पणी मधेस मामिलाका जानकारहरुले गर्न थालेका छन् । मधेसी नेता सत्ताको रापमा पर्नेबित्तिकै पग्लिने र एजेण्डा विसर्जन हुने रोग नयाँ पनि होइन । तर, ओली सरकारले मधेस राजनीतिका उदीयमान नेतृत्वलाई छानीछानी पूर्वाग्रह साँधेर बदनाम गर्दासमेत चुँइक्क नबोल्ने, बरु सरकारको स्वेच्छाचारीमा उल्टै मौन समर्थन जनाउने उपेन्द्रबाट मधेसका सीमान्तकृत जनताले के अपेक्षा गर्न सक्लान् ? प्रश्न त्यति जटिल छैन । तर, उत्तर दिने सामथ्र्य र नैतिक धरातल सम्भवतः उपेन्द्र यादवहरुसित छैन । मधेस आन्दोलनको व्याजमा प्राप्त सत्ताभोग गरिरहेका उपेन्द्रको पार्टीका समकालीन नेता नै उनको अवसरवादी आचरणबाट आजित भइसकेको बताउने गरेका छन् । उपेन्द्रलाई नजिकबाट चिन्नेहरु उनी लोभ र लाभमुखी स्वार्थको पुलिन्दाबाहेक अन्य केही नभएको बताउँछन् । मधेसका एजेण्डाको वैधानिक अवतरणको नाममा सत्ता उपभोगमात्र गर्ने र उत्तरार्धमा सरकारले सुनेन भन्दै सडकमा उत्रिएर चुनावी अंकगणित बनाउन खोज्ने चलाखी अब मधेसमा धेरै दिन नचल्ने जानकारहरु बताउँछन् । उपेन्द्र प्रवृत्तिका अगाडि यो कुनै अनौठो राजनीतिक खेल नभए पनि मधेस आन्दोलनको ब्याजमा मस्ती मारिरहेका उपेन्द्र यादवकै कारण मधेसमा फोरम राजनीतिको सावा नै मासिने दिन नजिकिइरहेको बुझाई मधेस राजनीतिका भुक्तभोगीहरुको छ । आगे उपेन्द्र जी कै मर्जी ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here