×

वीरगन्ज १७ असोज । रौतहट जिल्लाको लालबकैया नदीमा निर्माणाधीन पुलको विषयमा नेपाल निार्मण व्यवसायी महासंघले बचाउ गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै पप्पु कन्स्ट्रसनको लापरवाहीका कारण नभइ समयमा रकम निकासा नहुँदा उक्त पुल निर्माण अलपत्र हुन पुगेको तर्क गरेको छ ।

विभिन्न सञ्चार माध्यमा पप्पु कन्स्ट्रक्सन कम्पनीको नाम जोडेर आइरहेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रौतहटको टिकुलियामा भएको दुःखद डुङ्गा दुर्घटना र त्यसबाट हुन गएको मानवीय क्षतिले महासंघलाई समेत स्तब्ध बनाएको महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । तर, मानवीय जीवन र सम्वेदनासँग जोडिएको विषयलाई पुलनिर्माण कार्यसँग जोडेर समाचार प्रकाशनमा आएकोप्रति आफ्नो विमति रहेको जनाएको छ । विज्ञप्तिमा कन्स्ट्रसनको बचाउ गर्दै पुल निर्माणका लागि ३ वर्षभित्र काम सक्ने गरी २०७१ साल असारमा सम्झौता भएको चार महिनासम्म पनि साइट उपलब्ध नभएको तर्क पेश गरेको छ ।

पुलका लागि उपलब्ध गराउने जग्गाको विवादमै चार महिना बितेको र २०७२ साल बैशाखको भूकम्पले गर्दा निर्माण कार्य रोक्न सडक विभागबाट सूचना प्रकाशित भएको थप ४ महिनासम्म पनि साइट उपलब्ध नहुँदा काम अवरुद्ध भएको जनाइएको छ ।

त्यस लगत्तै निर्माण सामग्रीको अभाव र ८ महिना लामो मधेस आन्दोलनका कारण काम अघि बढ्न नसकेको महासंघले जनाएको छ । महासंघका अनुसार पर्याप्त रकम विनियोजन भएमा निर्माण कम्पनीले ६ महिना थप अवधिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । १५ करोड रुपैयाको योजनामा हाल सम्म ६ करोड मात्र बजेट विनियोजन भएको हुँदा रकम अभावका कारणले काम प्रभावित भएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुलनिर्माण कार्य सुरु हुनुभन्दा पहिलेदेखि नै उक्त खोलामा डुङ्गा सञ्चालन हुने गरेको र दुर्घटनाको प्रकृति हेर्दा माझीले पुलको दक्षिणतर्फबाट डुङ्गा तार्नु पर्नेमा पुलको उत्तरतिरबाट तार्न खोज्दा पानीको बहावले डुङ्गा पल्टाएर पुलको पिलरमा ठोक्किन गएको देखिन्छ ।

यसरी खोलामा भएको दुर्घटनामा पुल निर्माणको जिम्मा लिएको कम्पनीलाई दोषी देखाउन खोज्नु आफैंमा पूर्वाग्रह प्रेरित देखिने महासंघले जनाएको छ । सडक विभागको प्रक्रियागत र परिस्थिति जन्यकारणले हुन गएको ढिलाइ नदेखे झै गरी निर्माण कम्पनीको टाउकोमा दोष खन्याउने काम न्यायोचित नभएको भन्दै महासंघले मुलुक निर्माणमा होमिएका १२ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरुलाई हतोत्साहित नहुने गरी गरी सत्य तथ्य बुझ्न समेत आग्रह गरेको छ ।

Back to top