×

वीरगञ्ज १३ असोज, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले विद्यालयहरु दक्ष जनशक्ति निर्माणको आधार भएको बताएका छन् । ओम नेशनल एकेडेमीले शनिबार वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमका प्रमुख अतिथि यादवले विद्यालयस्तरीय शिक्षाको गुणस्तर राम्रो भएमात्रै देशले सच्चा कर्णधार पाउने दाबीसमेत गरे । उनले वीरगञ्जमा शिक्षाको अवसर अभिवृद्धिका लागि आफू लागिपरेको समेत बताए ।

कार्यक्रमका विशिष्ट अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले गुणस्तरीय शिक्षा नै आर्थिक समृद्धिको आधार भएको बताएका छन् । प्रमुख सरावगीले शिक्षण संस्थाहरूलाई शिक्षाको गुणस्तर अभिवृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

वीरगञ्ज महानगरले गुणस्तरीय शिक्षाका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याएको सरावगीको भनाइ थियो । सो विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीले ११ का विद्यार्थीको लागि आयोजना गरेको स्वागत कार्यक्रममा विद्यालयका प्रमुख डा. लालबाबु यादवले सो विद्यालयले वर्षेनी राम्रो नतिजा ल्याउन सफल भएको दाबी गर्दै शिक्षाको गुणस्तरलाई अझ राम्रो बनाउन निरन्तर प्रयासरत रहेको बताए । सो अवरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।

Back to top