×

वीरगंज, आश्विन ११ - सार्क सदस्य राष्ट्रमा पेट्रोलियम इन्धन आपूर्तिको एकाधिकार कायम राख्न भारतले पाइपलाइन विस्तारमा जोड दिएको छ । भारतले नेपाल, बंगलादेश, भुटान, श्रीलंका र म्यानमारमा पाइपलाइन विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ ।

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको सन् २०१६/०१७ को वार्षिक प्रतिवेदनमा म्यानमार र बंगलादेशमा पेट्रोलियम इन्धन प्रशोधन केन्द्र स्थापनाका लागि समेत संयुक्त लगानीमा परियोजना निर्माण भइरहेको उल्लेख छ ।

यसै साता भारत-बंगलादेश पाइपलाइन विस्तारको काम शुरु भएको छ । १८ सेप्टेम्बरमा दुवै मुलुकका प्रधानमन्त्रीले एक सय ३० किमि पाइपलाइन निर्माण कार्यको संयुक्त रूपमा उद्घाटन गरे ।

पश्चिम बंगालको सिलिगुडीदेखि बंगलादेशको पार्वतीपुर (दिनाजपुर) जोड्ने तीन सय ४६ करोड भारुको पाइपलाइन परियोजना ३० महिनामा सक्ने लक्ष्य छ । पाइपलाइनबाट बंगलादेशले प्रारम्भमा अढाइ लाख टन र कालान्तरमा चार लाख टन इन्धन आयात गर्नेछ । अहिले भारतले रेलमार्गबाट बंगलादेशलाई डिजेल आपूर्ति गरिरहेको छ ।

रक्सौल-अमलेखगञ्ज पाइपलाइनमा ५० प्रतिशत प्रगति

भारतबाट इन्धन आयातका लागि निर्माणाधीन रक्सौल-अमलेखगञ्ज पाइपलाइन विस्तार परियोजनाअन्तर्गत पाइप ओछ्याउने काममा ५० प्रतिशत प्रगति भएको छ ।

नेपालतर्फ त्रिभुवन राजपथको अमलेखगञ्जदेखि रक्सौलसम्म ३६.२ किमिमध्ये १७ किमि खण्डमा पाइपलाइन ओछ्याउने कार्य सम्पन्न भएको परियोजनाका इन्जिनियर शरद पौडेलले जानकारी दिए । अहिले राजमार्गको ठाउँ-ठाउँमा पर्ने कल्भर्ट, नदीको पुलसहित १७ वटा विन्दुमा वारपार पाइप जोड्ने उद्देश्यले खन्ने काम जारी छ ।

मोतिहारी-अमलेखगञ्ज ६९ किमि लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम गत फागुनदेखि शुरु भएको हो । त्रिभुवन राजपथको गण्डकदेखि परवानीपुरसम्म पाँच किमि, बारा जीतपुर बजारको एक किमि र पथलैयादेखि उत्तर अमलेखगञ्जसम्म ८.५ किमि र पर्सा वन्यजन्तु निकुञ्जभित्र पर्ने जंगल क्षेत्रको काम शुरु नै भएको छैन ।

भारतीय आयल निगमको मोतिहारी डिपोबाट उच्च क्षमताको पम्पको माध्यमबाट प्रतिघण्टा दुई लाख लिटर पेट्रोल वा डिजेल नेपाल आयल निगमको अमलेखगञ्ज डिपोसम्म वितरण गर्न सक्ने क्षमताको पाइपलाइन विस्तार भइरहेको हो । तर, प्रारम्भमा रक्सौल डिप्पोबाटै इन्धन पम्पिङ गरेर अमलेखगञ्जमा आपूर्ति गरिनेछ ।

मोतिहारीबाट नेपालले 'डेडिकेटेड' लाइनबाट नभई आपूर्ति लाइनबाट इन्धन प्राप्त गर्ने भएकाले पाइपलाइनको सञ्चालनपछि मात्र आपूर्तिको अवस्थाबारे यकिन हुनेछ । परियोजनाअन्तर्गत राजमार्गछेउमा १०.७५ इन्च गोलाइ भएको पाइप ओछ्याइँदैछ ।

'गण्डक-परवानीपुर खण्डमा बाटो हिलाम्य भएकाले पाइप हाल्ने काम रोकिएको छ,' परियोजना इन्जिनियर पौडेलले भने, 'जंगल क्षेत्रको वातारणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयबाट अनुमोदन हुन बाँकी छ ।'

जितपुरमा सडक सीमाभित्र परेको निजी भवन संरचना नभत्काउँदासम्म कुर्नु परे परियोजना सम्पन्न गर्न ढिलाइ हुने बताउँदै भौतिक संरचना नभत्काई जमिन मूनिबाटै पाइप बिछ्याउने विकल्पबारे समेत निगमले छलफल गर्दैछ ।

इन्धन भण्डारणका लागि अमलेखगञ्ज डिपोमा अवस्थित चारमध्ये दुई ट्यांकीको मर्मत सम्भार र स्तरोन्नती अन्तिम चरणमा पुगेको छ । बाँकी दुई वटाको स्तरोन्नतीको काम बाँकी छ । करिब सात अर्ब रुपैयाँको लागतमा निर्माणाधीन पाइपलाइन परियोजनाको अवधी ३० महिना रहेकामा अब ६ महिना मात्र बाँकी छ ।

भारतीय पेट्रोलियम मन्त्री नेपाल आउँदै

नेपाल-भारत पेट्रोलियम पाइप लाइन विस्तार परियोजनाको अवस्थाबारे जानकारी लिन भारतीय पेट्रोलियम मन्त्री नेपाल भ्रमणमा आउने भएका छन् ।

भारतीय मन्त्री धर्मेन्द्र प्रधानले आगामी साता हुने दुई दिने भ्रमणको क्रममा मोतियारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको प्रगतिबारे स्थलगत जानकारी लिने भएका हुन् । शुक्रबार काठमाडौं आइपुग्ने उनले शनिबार अमलेखगञ्ज र धनुषाको भ्रमण गर्ने कार्यक्रम रहेको भारतीय दूतावाससम्बद्ध स्रोतले जनाएको छ ।

धनुषा भ्रमणका क्रममा मन्त्री प्रधानले पेट्रोलियम तालिम केन्द्र स्थापनाका लागि प्रस्तावित स्थलको अवलोकन गर्नेछन् । धनुषाको सखुवा महेन्द्रनगरमा आयल निगमको स्वामित्वमा रहेको १० बिघामा तालिम केन्द्र स्थापनाका लागि सुझाइएको छ ।

उद्योग मन्त्री मातृका यादव नेतृत्वको प्रतिनिधि मण्डलले गत महिना भारत भ्रमणका क्रममा ग्यास पाइपलाइन निर्माण गर्न, पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्न र तालिम केन्द्र निर्माण गरिदिन भारत सरकारसँग आग्रह गरेको थियो ।

Back to top