×

वीरगञ्ज ३ असोज । मुलुककै मुख्य नाकास्थित वीरगञ्ज भन्सारले चालु आर्थिक वर्ष २०७५÷७६ को दोस्रो महीनामा अन्य शीर्षकको राजस्व लक्ष्य पूरा गर्न नसके पनि अन्तःशुल्क भने उल्लेख्य उठाएको छ । यो भन्सारले भदौ महीनामा लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्क सङ्कलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अन्तःशुल्क बढाएकाले त्ससको प्रभाव भन्सारको राजस्वमा देखिएको हो । वीररगञ्ज र एकीकृत जाँच चौकीका भन्सारले एक महीनामा २ अर्ब ७९ करोड रुपैयाँ अन्तःशुल्क उठाएका छन् । यो लक्षको तुलनामा ८७ प्रतिशत बढी हो । भन्सारलाई चालु वर्षको भदौ महीनाका लागि अन्तःशुल्को लक्ष्य १ अर्ब ४९ करोड रुपैयाँ तोकिएको थियो ।

भन्सार राजस्व र मूल्यअभिवृद्धि करको लक्ष्य नभेट्टाए पनि अन्तः शुल्कको रकमले भन्सारको समग्र लक्ष्यलाई भने सघाएको छ । समग्रमा लक्ष्यभन्दा २ प्रतिशत राजस्व सङ्कलन भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

भन्सारका सूचना अधिकृत सन्तोष यादवले चालु वर्षदेखि बढेको अन्तःशुल्कको प्रभाव राजस्वमा देखिएको बताए । ‘अन्तःशुल्क लाग्ने सुर्ती, मदिरा र गाडीको आयात बढेकाले अन्तःशुल्क बढेको हो,’ यादवले भने, ‘चाडवाडलक्षित बस्तुको आयात वृद्धि भएपछि अन्तशुल्क लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।’

सरकारले चालु वर्षदेखि अन्तःशुल्को दर र दायरा दुवै बढाएको थियो । भन्सारले भन्सार महशुल लक्ष्यको ९५ प्रतिशतमात्र उठाएको छ । ५ अर्ब ६७ करोड रुपैयाँको लक्ष्यमा ५ अर्ब ४१ करोड उठेको छ । मूल्यअभिवृद्धि करतर्फ ६ अर्ब ५५ करोड रुपैयाँ सङ्कलनको लक्ष्य दिइएकोमा ५ अर्ब ५९ करोडमात्र असुली भएको यादवले बताए । यो लक्ष्यको ८५ प्रतिशतमात्र हो ।

यो एक महीनाका लागि १३ अर्ब ७२ करोड रुपैयाँको कुल राजस्व लक्ष्य राखिएकोमा १४ अर्ब २ करोड असुली भएको छ । अन्तःशुल्को भरथेगमा भन्सारको समग्र राजस्वको लक्ष्य भने पूरा भएको देखिएको छ ।

Back to top