×

वीरगन्ज २ असोज । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलवारदेखी शुरु गरेको आन्दोलनका कारण देशभर सार्वजनीक यातायात ठप्प भएको छ ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउने चालकहरुले मंगलबारबाट सवारी नचलाउने घोषणा गरेका हुन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसंग आग्रह समेत गरेको छ ।

वर्तमान ऐन संशोधन नभएसम्म संघर्ष जारी रहने भन्दै समितिका सहसंयोजक अर्जुन अधिकारीले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको कानुन संसोधन नभए चालक अनुमतीपत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए ।

समितिका सहसंयोजक अधिकारीले आन्दोलनका क्रममा गाडी चलाउनेहरुलाई कुनै अवरोध नगरिने भन्दै आँफूहरुको आन्दोलन आफ्नै लागि भएकाले सोंचेर कदम चाल्न चालकहरुलाई आग्रह गरे ।

आन्दोलनका नाममा सडकमा उत्रने तथा जर्वजस्ती सवारी बन्द गर्न लगाउने आफूहरुको कार्यक्रम नरहेको पनि अधिकारीले स्पष्ट पारे ।

मंगलबार विहान बाराको सिमरामा भेला भएका सयौं सवारी चालकहरुले सरकारले कानुन संसोधनको माग पुरा नगरेसम्म आँफूहरु गाडीको स्टेरिङमा नबस्ने घोषणा गर्दै सरकारको विरोध गरेका थिए ।

सवारी चालकहरुले सवारी थन्काएर आन्दोलन शुरु गरेपछि मंगलबार विहानैबाट बारा, पर्सा, रौतहट लगायतका स्थानमा सार्वजनिक सवारी चलेका छैनन् । सार्वजनिक सवारी नचल्दा सडक सुनसान भएको छ ।

सडकमा एम्बुलेन्स तथा स्कुल बस र केहि साना सवारी मात्र चलेका छन् ।

समितिका केन्द्रिय संयोजक बसन्त शर्माले मंगलबार विहान बाराको सिमराबाट देशभरका चालकहरुलाई सम्बोधन गर्दै सवारी चालकलाई अपराधी सरह ब्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म आँफूहरुले सवारी नचलाउने घोषणा गरे ।

वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेकोप्रति असन्तुष्ट रहेको भन्दै संयोजक शर्माले तत्काल उक्त कानुन सच्याउन माग गरे ।

Back to top