सञ्चालक मधेसी भएकै कारण पप्पु कन्स्ट्रक्सनमाथि प्रहारको सिलसिला ! पप्पुको ढिलासुस्ती देख्ने सडक विभागको आँखा काठमाडौंमा किन पर्दैन ?

119

Share
  • 27
  •  
  •  
    27
    Shares

काठमाडौं, २९ भदौ पप्पु कन्स्ट्रक्सन अहिले चर्चाको चुलीमा छ । रौतहटको टिकुलियादेखि बर्दियाको जब्दीघाट पुलसम्म उसको आलोचनाको मसला बनेको छ । एक दर्जनभन्दा बढी निर्माण योजनासँग यो कम्पनीलाई जोडेर विभिन्न सञ्चारमाध्यम यतिबेला पप्पुमय भएको देखिएको छ । आफूलाई देशकै नम्बर वान मिडया दाबी गर्नेदेखि अन्य माध्यमहरुमा आएका सिलसिलाबद्ध समाचार हेर्दा यो दुराग्रहग्रस्त मनोविज्ञानको उपज त होइन भन्ने आशंका स्वाभाविक बन्दै गएको छ । गल्ती गरेको भए जो कोहीलाई कारवाही हुनु पर्दछ । अपराध गरेर उन्मुक्तिको सुविधा कसैलाई पनि मिल्नु हुँदैन । तर, समयमा काम नगर्ने ठेकेदारलाई कठघरामा उभ्याउन मिडियामा हल्ला मच्चाउनु जरुरी छैन । यसका लागि नियम कानून विधि प्रक्रिया सबै छन् । सडक विभागका उच्च पदस्थ कर्मचारीहरु भने पप्पुलाई विभागीय प्रक्रियामा ल्याउनुभन्दा मिडिया दुरुपयोग गरेर कोकोहोलो मच्चाउन तल्लिन देखिएका छन् । सडक विभाग स्रोतका अनुसार पप्पुले ठेक्का लिएका योजनाको असफलतामा विभागीय कर्मचारी फस्ने भएपछि निर्माण कम्पनीलाई दबाब दिन यस्तो काइते उपाय अपनाइएको हो । सतहमा रौतहटको टिकुलिया देखिए पनि जब्दीघाट पुल प्रकरणको दोष स्वीकार गर्न दबाबका लागि पुल महाशाखाका प्रमुख अर्जुनजंग थापा नियोजित हिसाबमै मिडिया दुरुपयोगमा लागेको बताइएको छ । उनले मिडियालाई प्रभावमा पारी झूठो समाचार निकाल्न लगाएको विभागका कर्मचारी नै बताउँछन् । जब्दिघाट पुल भासिनुमा विभागको गलत डिजाइन दोषी रहेको प्रमाणित भइसकेपछि तत्कालिन फिल्डका कर्मचारी र ठकेदारलाई फसाएरै भए पनि उच्च तहका कर्मचारीलाई जोगाउने प्रपञ्चमा विभाग लागेको छ । स्मरण रहोस्, डिभिजन कार्यालय नेपालगञ्जका तत्कालिन कर्मचारीले विभागको यो बद्नियतविरुद्ध महानिर्देशकलाई लिखितरुपमै ध्यानाकर्षण गराएका छन् । पुलचोक इन्जिनियरिङलाई जब्दिघाट पुलको रेक्टिफिकेशनको जिम्मा दिएर एक पक्षीय प्रतिवेदन बनाएको दाबी निमाण व्यवसायी र असन्तुष्ट कर्मचारीहरुको छ । पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रौनियारले सरकारी कर्मचारीले आफू निकटका कर्मचारीलाई खटाएर प्रतिवदेन मान्य नहुने बताए । ‘त्यो त स्वतन्त्र निकायबाट हुनु पर्दछ । यो अख्तियारले पनि हेरिरहेको छ । सडक विभागले आफ्नो गल्ती छोप्नलाई पप्पुलाई दोष लगाएर हुन्छ ?, रौनियारको प्रतिप्रश्न छ । विभागको गलत गलत डिजाइनका कारण पुल भासिएको उनको दाबी छ । विभागको डिजाइनको त्रुटीबारे जानकारी दिँदा विभागले त्रुटीयुक्त डिजाइनमै काम गर्न दबाब दिएकोले पुल भासिएको उनले बताए । गलत डिजाइनमा पुल महाशाखाका कर्मचारी फस्ने भएकाले विभागका उच्च ओहोदाका कर्मचारी निर्माण व्यवसायी र तलका कर्मचारीलाई फसाएर उम्किन खोजिरहेका छन्, यो सम्भव छैन, रौनियारको दाबी छ । रौतहटको लालबकैया खोलामा निर्माणाधीन पुल कम्पनीका कारणले नभएर सरकारकै ढिलासुस्ती र नाकाबन्दी, भूकम्पजस्ता परिस्थितिजन्य अवरोधका कारण तोकिएको समयमा नसकिएको दाबी कम्पनीको छ । पप्पु कन्स्टक्सन मधेसी समुदायको व्यक्तिले चलाएकै कारण बदनाम गर्न खोजिएको बुझाई रौनियारको छ । ‘जब कुनै मधेसी माथि आउन थाल्छ, उसलाई अनेक प्रकारले लाञ्छित गरेर दबाउन खोजिन्छ । व्यवसायमा मात्र होइन, राजनीतिमा पनि यस्तै छ,’ उनको अनुभव छ । अहिले काठमाडौंमा भत्किएका र हिलाम्मे सडकका त्यहाँका बासिन्दा सास्ती खेप्न बाध्य छन् । तर, त्यहाँको काम जिम्मामा लिएर ठेकेदार सत्ताको नेतृत्वकर्ताको निकट भएकै कारण उन्मुक्त छन् । सत्ताका शीर्षस्थको तावेदारी गरेकै भरमा उनीहरुलाई समयमा काम नगरे पनि छुट छ । राजधानीका बासिन्दाको सम्भावित विरोधलाई विषयान्तर गर्न मधेसलाई आधारभूमि बनाएर निर्माण व्यवसायमा सक्रिय पप्पुमाथि निरन्तर प्रहार भइरहेको विश्लेषण गर्न थालिएको छ । सडक विभागसमेत काठमाडौंका नामूद ठेकेदारको प्रभावमा परेर राजनीतिका अगुवालाई खुशी पार्नकै लागि पप्पुको विरोधमा माहोल बनाएर काठमाडौंको आक्रोश थामथुम पार्न लागिपरेको बुझिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here