×

बीरगंज २७ भदौ । चाडवाड भित्रिने क्रमसँगै सिमा नाकाहरुबाट हुने तस्करी बृद्धि भएको छ । बीरगंज, ठोरी, गौर, मटिअर्वा, इनर्वा लगायतका भन्सार नाकाबाट अवैध रुपमा राजस्व छलि ल्याउदै गरेको झण्डै ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको सो मुल्य बराबरको तस्करीको सामग्री बरामद भएको प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी विगत केही दिन यता वीरगंज भन्सार कार्यालयबाट राजस्व जाँच पास भई गएको माल वाहक ट्रकलाई चितवन प्रहरीले पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । भन्सार नाकाबाटै सुरक्षाकर्मी तथा भन्सार कर्मचारीको मिलोमतोमा तस्करी हुने गरेको खुलासा भएपछि यस तर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व विभागको समेत ध्यान केन्द्रित भएको छ । चाडवाड भित्रिने क्रमसँगै रक्सौल लगायत भारतीय सिमा बजारहरुबाट दैनिक उपभोग्य समान, लत्ताकपडा, इलेक्ट्रिक तथा मोटरपार्टस, कस्मेटिक समानहरु तस्कर गिरोहले राजस्व छलि भित्र्याउन थालेका छन् । रातको समयमा तस्करहरुले वीरगंजको छपकैया, भकुवा, बाराको मटिअर्वा, पर्साको जानकी टोला लगायतका दर्जनौ सिमा नाकाहरुबाट तस्करीका सामान भित्र्याउने क्रम बढेको स्थानिय वासिन्दाहरुले गुनासो गरेका छन् ।

Back to top