सिमेण्टको मुख्य कच्चा पदार्थमा उच्च दरको भन्सार महशुल आमउपभोक्ता मारमा – राजेस अग्रवाल

124

Share
  • 31
  •  
  •  
    31
    Shares

वीरगञ्ज २४ भदौ । सरकारले सिमेण्टको मुख्य कच्चा पदार्थको आयातमा उच्च दरको भन्सार महशुल असुल्दा उपभोक्ता मारमा परेका छन् । आयातकर्ताले क्लिङ्करमा ५० प्रतिशतभन्दा बढी भन्सार राजस्व तिर्नु परेपछि त्यसको मार उपभोक्तामाथि पर्न गएको हो । उच्च दरमा भन्सार लगाइपछि स्वदेशका क्लिङ्कर उद्योगले आयातित क्लिङ्करको भाउका आधारमा क्लिङ्करको मूल्य राख्ने गरेको उद्योगी बताउँछन् । ‘यो सीमित उद्योगीलाई पोस्ने काममात्र भयो । आमउपभोक्ता महँगो सिमेण्ट किन्न बाध्य पारिएका छन’ जगदम्बा सिमेन्टका संचालक राजेस अग्रवालले भने । मुलुककै ठूलो नाका वीरगञ्जबाट भित्रिने प्रतिमेट्रिक टन क्लिङ्करको भाउ ४ हजार ५ सय रुपैयाँसम्म पर्ने आयातकर्ता बताउँछन् । भन्सार कार्यालयले प्रतिमेट्रिक टन २ हजार ४ सय रुपैयाँका दरले भन्सार महशुल असुल्छ । त्यसमाथि १३ प्रतिशतका दरले मूल्यअभिवृद्धि कर पनि लाग्छ । अधिकांश औद्योगिक कच्चा पदार्थमा ५ प्रतिशत महशुल लाग्ने भए पनि क्लिङ्करमा उच्च दरको भन्सार तोकिएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत मनिस महतोले अन्य कच्चा पदार्थमा बढीमा २० प्रतिशतसम्म महशुल भए पनि धेरैजसोमा ५ प्रतिशत रहेको बताए । निर्माण कार्यमै प्रयोग हुने फलामको कच्चा पदार्थमा ५ प्रतिशत राजस्व छ । सिमेण्ट उद्योगले प्रयोग गर्ने कोइलाको आयातमा पनि त्योभन्दा बढी छैन । क्लिङ्करमा भने मूल्यसँग तुलना गर्दा ५० प्रतिशतभन्दा बढी पर्न जाने श्री सिमेण्ट्स इण्डष्ट्रिजका सञ्चालक अनिल अग्रवालले बताए । क्लिङ्करमा उच्च दरको महशुलका कारण तयारी सिमेण्टको मूल्य बढी पर्न जाने उद्योगी अग्रवालको भनाइ छ । ‘क्लिङ्कर सिमेण्टको मुख्य कच्चा पदार्थ हो,’ उनले भने, ‘यसैमा चर्को दर लिएपछि उत्पादनको लागत बढी भइरहेको छ ।’ अहिले ओपिसीको कारखाना मूल्य ७ सय ४० देखि ८ सय ६० रुपैयाँसम्म छ । नारायणी सिमेण्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुर कच्चा पदार्थमा उच्च दरको भन्सार महशुल उचित नहुने बताउँछन् । ‘स्वदेशमा पर्याप्त क्लिङ्कर उत्पादन हुन नसकेको अवस्थामा यसले सिमेण्टको लागतमात्र बढाएको छ,’ सरकारले स्वदेशी उद्योगको संरक्षणका नाममा राजस्वलाई मात्र ध्येय बनाएको उनको बुझाइ छ । सरकारले क्लिङ्करबाट अधिक राजश्व उठाउँदै आएको छ । क्लिङ्कर उच्च राजश्व दिने बस्तुको सूचीमा अग्रस्थानमा पर्दछ । आयातकर्ताले भारतका विभिन्न स्थानबाट क्लिङ्कर आयात गर्छन् । आफैं क्लिङ्कर बनाएर सिमेण्ट उत्पादन गर्ने उद्योगको संरक्षणका लागि भन्दै सरकारले क्लिङ्करको आयातमा उच्च महशुल तोकेको हो । सिमेण्टमा पूर्ण आत्मनिर्भर हुने नीति लिए पनि आवश्यकीय पूर्वाधारको प्रबन्धमा सरकार उदासीन रहेको आरोप उद्योगीहरूले लगाउँदै आएका छन् । इण्टरनेशनल सिमेण्ट्स प्रालिका सञ्चालक सन्दीप अग्रवाल सिमेण्टमा पूर्णरुपमा आत्मनिर्भर नहुँदासम्म क्लिङ्कर आयातमा अन्य कच्चा पदार्थसरह महशुल लिनुपर्ने बताउँछन् । ‘क्लिङ्कर बनाउनेले समेत आयात गर्नुपर्ने अवस्थामा संरक्षणको नाममा लागत बढाउने काममात्र भएको छ,’ अग्रवालले भने । स्वदेशका क्लिङ्कर उत्पादकलाई संरक्षणका लागि भनेर लिइएको नीतिको दुरुपयोग भइरहेको दाबी उद्योगीहरूकै छ । उच्च दरमा भन्सार लगाइपछि स्वदेशका क्लिङ्कर उद्योगले आयातित क्लिङ्करको भाउका आधारमा क्लिङ्करको मूल्य राख्ने गरेको उद्योगी बताउँछन् । ‘यो सीमित उद्योगीलाई पोस्ने काममात्र भयो । आमउपभोक्ता महँगो सिमेण्ट किन्न बाध्य पारिएका छन’ जगदम्बा सिमेन्टका संचालक राजेस अग्रवालले भने । नेपालका अधिकांश उद्योग आयातित क्लिङ्करको भरमा छन् । साना ठूला ५० ओटा उद्योगमध्ये क्लिङ्कर उत्पादकको सङ्ख्या एक दर्जन पनि छैन । आवश्यक परिमाण उत्पादन नहुँदा आफैं क्लिङ्कर बनाउने उद्योगले आयातित क्लिङ्कर प्रयोग गर्छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here