×

वीरगञ्ज २३ भदौ । वीरगञ्जलाई औद्योगिक र व्यापारिक केन्द्रको रुपमा चिनिए पनि व्यावसायिक प्रतिष्ठानका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक अवसरहरूको भने कमी देखिएको छ । सरकारी स्वामित्वको त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले वीरगञ्जमा अहिलेसम्म बीबीए कक्षा सञ्चालनको अनुमतिसमेत दिएको छैन् ।

औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानहरूले दक्ष जनशक्तिको अभाव खेपिराख्दा सरकारी विश्वविद्यालयले व्यवस्थापनका क्षेत्रमा सर्वाधिक मागको विषय बनेको उच्च शिक्षाको कक्षा सञ्चालनको अनुमति नदिएको गुनासो सरोकारका पक्षले गरेका छन् । निजीक्षेत्रले अन्य विश्वविद्यालयबाट सम्बन्धन लिएर वीरगञ्जमा एमबीएसम्मको कक्षा सञ्चालन गरे पनि नेपालकै जेठो सार्वजनिक क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसले बीबीए तहको अनुमति अहिलेसम्म पाएको छैन् ।

शनिवार क्याम्पस परिसरमा आयोजित अन्तरक्रियाका सहभागीले ठाकुरराम क्याम्पसमा बीबीए तहको कक्षा सञ्चालनको अनुमति दिइनुपर्ने माग गरे । त्रिवि व्यवस्थापन विभागका डिन डिल्लीराज शर्माको सहभागिता रहेको अन्तरक्रियामा सहभागी क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी सङ्गठनका अगुवा, उद्यमी, व्यवसायी, बैङ्कर्सलगायतले सो क्याम्पसलाई बीबीए सञ्चालनको अनुमति तत्काल दिइनुपर्ने बताएका हुन् ।

डिन शर्माले त्रिविका आङ्गिक क्याम्पसलाई प्राथमिकता दिने नीति भएको बताए । उनले बीबीए तहको पढाई व्यवस्थापनका अन्य विषयभन्दा महँगो भएको भन्दै आवश्यकीय पूर्वाधार तयार भए अनुमति दिन कुनै समस्या नभएको स्पष्ट पारे । क्याम्पस प्रमुख प्रमोद कुशवाहले बीबीए तह सञ्चालनका लागि पर्याप्त पूर्वाधार भएको दाबी गरे । वीरगञ्ज क्षेत्रको व्यावसायिक विशिष्टताका कारण पनि ठाकुररामलाई बीबीए तह सञ्चालनका अनुमति दिन ढिलाई नगर्न त्रिवि पदाधिकारीलाई उनले आग्रह गरे ।

सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले ठाकुरराममा बीबीए र एमबीए तह अत्यावश्यक भएको बताए । त्रिविले तत्काल बीबीएको अनुमति दिएमा आगामी दिनमा एमबीए सञ्चालनको पनि बाटो खुल्ने र पूर्वाधार निर्माण हुँदै जाने विश्वास लामिछानेले व्यक्त गरे । क्याम्पसले आवश्यकीय पूर्वाधार निर्माण र सुधारलाई पूर्णता दिइरहेकाले तत्कालै बीबीए कक्षा सञ्चालन गर्न सकिने दाबी उनको थियो ।

ठाकुररामले विगत ६ वर्षदेखि बीबीए तहको माग गर्दै आए पनि त्रिविले आवश्यकीय पूर्वाधार नपुगेको भन्दै स्वीकृति दिएको छैन । बीबीएस र एबीएस सञ्चालन गर्दैआएको क्याम्पसमा विज्ञान, मानविकी र शिक्षाशास्त्र सङ्कायमा पनि स्नातकोत्तरसम्मको पढाई हुन्छ ।

Back to top