मिडियाको निशानामा पप्पु कन्स्ट्रक्सन, के हो वास्तविकता ?

5314

काठमाडौं, १७ भदौ, कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालि पुलको ठेक्का लिएर समयमै निर्माण पूरा नगरेको भन्दै आलोचनाको निशानामा परेको छ । अधिकांश मिडियामा यो निर्माण कम्पानीबारे नकारात्मक समाचारले ठाउँ पाएका छन् । रौतहटको टिकुलियास्थित लालबकैया खोलामा डुङ्गा दुर्घटना भएर ५ जनाको ज्यान गएको घटनालाई त्यहाँ सो निर्माण कम्पनीले निर्माण गरिरहेको अधुरो पुलसित जोडर कम्पनीलाई आरोपति गरिएको छ ।

पुल नबन्नुमा सरकार दोषी :
पप्पुलाई भएभरका काम लिएर अलपत्र पार्ने कम्पनीको रुपमा चित्रित गरिएको छ । तर, कम्पनीले आफूले ठेक्का सकारेका पुल र सडकको निर्माण भइरहेको विलम्वमा सरकार र विभागीय निर्णय प्रक्रिया दोषी रहेकोमात्र बताइरहेको छैन, उसले टिकुलिया घटनामा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।
कुनै पनि योजना समयमा पूरा नहुनुमा विभागीय प्रक्रिगत ढिलाई, बजेटको अभावजस्ता कारण मुख्य जिम्मेवार हुने कम्पनीका अध्यक्ष सुमित रौनियारले बताएका छन् । मिडियाले सरकारी ढिलासुस्ती र प्रक्रियागत अवरोधका कारण हुन गएको विलम्वलाई कम्पनीको दोषको रुपमा आरोप लगाएको बताएका छन् ।



बद्नाम गराउने नियत :
उनले आफूले सम्पन्न गरेका कामलाई ओझेलमा पारी कम्पनीलाई बद्नाम गराउने उद्देश्यबाट आफ्नो जिम्मामै नरहेका र सम्पन्न भइसकेका कामलाई पनि पूरा नभएको भनी झूठो प्रचार गराइएको समेत दाबी गरे । कम्पनीले आफूले निर्माण पूरा गरेका कार्यहरुको सूची पनि सार्वजनिक गरेको छ ।

१५ पुल पूरा :
कम्पनीले बितेको वर्ष १५ ओटा पुलको निर्माण कार्य सकेको छ । तीमध्ये बारा र पर्सामा मात्र ११ ओटा छन् । बाराको दुधौरा, किर्किचा र तियार पुलको काम पूरा भएको छ भने पर्साका नौरंगिया, सिक्टा र भदौरा पुलको निर्माण कार्यले पनि पूर्णता पाएको रौनियारले बताए ।
कम्पनीका अनुसार रौटहतको भकुवा, चाँदीखोला, तरहरी खोलामा ४ ओटा पुल निर्माण भएको छ । त्यस्तै काठमाडौंको बागमती, डल्लु, बल्खुमा निर्माण पूरा भइसकेको छ ,भने मकवानपुुरमा बागमति पुल बनाइएको छ । यस्ता पुलको कुल लम्वाई ८ सय ३१ मीटर रहेको बताएको छ ।

भवनमा पनि प्रगति :
कम्पनीले विभिन्न ठाउँमा ६ ओटा भवनको निर्माण कार्य पूरा गरेको छ । पर्साको पोखरिया अस्पताल र डीयुडीबीसी भवन बनाएको छ भने रसुवा अस्पताल, काठमाडौंमा रेडक्रस र बर्दियामा सीजी फुुडको भवन पनि निर्माण सम्पन्न भएको छ । भूकम्पमा क्षति भएका १ सय २५ भवनको निर्माणका काम पनि सकिएको कम्पनीको भनाइ छ ।

सकिए १८ सडक :
पप्पुले १८ ओटा सडक निर्माणको काम सकेर हस्तान्तरण गरिसकेको जनाएको छ । तीमध्ये बारा र पर्सा जिल्लामा मात्र १० योजना छन् । पर्साको वीरगञ्ज–जगरनाथपु, बिन्दवासिनी गम्हरिया, जनता सडक, महुवन–देउरवाना, लक्ष्मीपुर–परसवा, हरिपुर–बडनिहार र प्रसौतीभाटा सडक छन् ।
बारामा छातापिपरा–नितनपुर, पथलैया–चुरे र बंकुल हिमालबास–निजगड रोड सम्पन्न भएको छ । बर्दियाको बंशगढी–मैनापोखरी र बैदी–बग्रगढी,सडकलाई पनि पूर्णता दिएको छ ।
मकवानपुरको डिभिजन रोड, बाँकेको नेपालगञ्ज कोहलपुर, महोत्तरीको बख्रीबथनाह जलेश्वर, काठमाडौंमा ताहाचल–छाउनी र रोल्पामा कनाहा खोला गरी कुल १ सय १५ किलोमिटर सडक निर्माण भएको कम्पनीले उल्लेख गरेको छ ।

विमानस्थलको प्रगति कति ?
विमानस्थलतर्फ निजगढ, जनकपुुर र नेपालगञ्जको काम पनि सम्पन्न भएको छ । सिंचाईतर्फ बर्दियाको बबई र रौटहतको बागमतिको काम पूरा भएको रौनियारले बताए ।