×

वीरगञ्ज, १५ भदौ, - वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भएको तोडफोडको घटनाप्रति नेपाल विद्यार्थी संघले आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेविसंघ क्याम्पस इकाइका अध्यक्ष मनोजकुमार साहले क्याम्पस प्रमुख प्रमोद कुशवाहलाई ज्ञापनपत्र बुझाएर विद्यार्थी हकहतिका सन्दर्भमा उठेका विवादलाई शान्तिपूर्ण प्रक्रियाबाट समाधान गर्नुको साटो विद्यार्थी संगठन क्याम्पसलाई भौतिक क्षति पुग्ने गरी तोडफोडमा उत्रिनु निन्दनीय काम भएको बताएका हुन् ।

उनले क्याम्पसमा अध्ययन अध्यापनको वातावरण बनाउन सरोकारका सबै पक्षसँग अपिलसमेत गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएपछि बनेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीले बिहीबार बिहान क्याम्पसमा तोडफोड गरेका थिए । विगतमा क्याम्पसले बाँड्ने छात्रवृत्ति बितरणको बेलामा सोही संगठनले लेखा शाखामा लागाइएको ताला विद्यार्थीहरुले तोडिदिएका थिए । क्याम्पस प्रशासनले सोही विषयमा छलफलका लागि बोलाएकोमा सहमति नबनेपछि उत्तेजित अनेरास्ववियूका विद्यार्थीले क्याम्पसमा तोडफोड मच्चाएका हुन् । तोडफोडबाट क्याम्पसको भौतिक संरचनामा क्षति पुगेको छ ।

स्नातक तहको परीक्षा र नयाँ भर्नाको मुखमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तोडफोड भएको हो । मोफसलकै पुरानो र महत्वपूर्ण शैक्षिक धरोहरका रुपमा रहेको यो क्याम्पसलाई बदनाम गराउन यस्ता घटनाहरु सुनियोजित रुपममै भइरहेको बताइएको छ । वीरगञ्जको एकमात्र सरकारी क्याम्पस ठाकुररामलाई बदनाम गराउन पाए आफ्नो व्यवसाय मालामाल हुने मनोकांक्षा पालेका वीरगञ्जका निजी कलेज सञ्चालक र शैक्षिक माफियाहरुले विद्यार्थीलाई उचालेर बेलाबेलामा यस्ता हर्कत मच्चाउने गरेको ठाकुररामका एक प्राध्यापकले बताए ।

ठाकुररामको क्याम्पस प्रमुख, प्रशासन, लेखा र परीक्षा शाखामा तालाबन्दी सामान्यजस्तै भएको छ । ती विभागको ढोकामा तालामाथि ताला ठोकिएको दृष्य सजिलै देख्न सकिन्छ । विद्यार्थी हकहतिको आवरणमा वैयक्तिक स्वार्थको दूनो सोझ्याउन पल्किएका विद्यार्थी समूह र तिनका नेताको हर्कतले यो क्याम्पसको शिक्षण र छविमा आँच पुगेको भन्दै विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Back to top