प्रदेश नं २ मा आइतबार सार्वजनिक विदा सीडीओ विरुद्ध अदालत जाने कानूनमन्त्री

466

वीरगन्ज १५ भदौ । प्रदेश नं २ को सरकारले आइतबार ९भदौ १७० सार्वजनिक विदा दिने निर्णय गरेको छ । कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ। यता प्रदेश २ मा मन्त्री र प्रमुख जिल्ला अधिकारीबीच सार्वजनिक विदासम्बन्धी विवाद उत्कर्षमा पुगेको छ।

प्रदेश सरकारले दिएको सार्वजनिक विदा संघीय सरकार मातहतका कार्यालयले अस्वीकार गरेपछि मन्त्री र प्रमुख जिल्ला अधिकारीबीच तिक्तता बढेको हो।

प्रदेश सरकारले विभिन्न अवसरमा दिएको सार्वजनिक विदा संघीय कार्यालयले नमानेपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव प्रमुख जिल्ला अधिकारीविरुद्ध अदालत जाने तयारीमा जुटेका छन्।

पछिल्लो पटक रक्षा बन्धनको अवसरमा प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदा जिल्ला प्रशासनलगायत संघीय सरकार मातहत रहेको अदालत, राष्ट्र बैंकलगायतका कार्यालयले अस्वीकार गरेको थियो। संघीय कार्यालयहरुले विदा दिन अस्वीकार गरेपछि कानूनमन्त्री यादव आफैं राष्ट्र बैंक पुगेर कार्यालयमा ताला लगाएका थिए। यद्यपी केहिबेरमै गेटपालले ताला फुकाएको थियो।

प्रमुख जिल्ला अधिकारीले नेपालको संविधान, कानून र प्रदेश सरकारको निर्णयलाई अवज्ञा गरेको भन्दै कानूनी उपचार खोज्न अदालतमा जाने तयारी गरिएको कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

स्थानीय संस्कृति तथा पर्वमाथि प्रदेशमा रहेका संघीय निकायले अवहेलना गर्ने प्रयास गरेकोले कानूनी उपचारको लागि अदालत जान बाध्य भएको उनको भनाइ छ।
हालै लागू भएको मुलुकी देवानी कार्य संहिताले समेत सार्वजनिक विदासम्बन्धमा व्यवस्था गरेपनि संघीय सरकार मातहतका कार्यालयले अटेर गरेको मन्त्री यादवले बताए।
‘पछिल्लो पटक रक्षा बन्धन पर्वको अवसरमा विदा नमानेपछि हामीले संघीय सरकारको गृहमन्त्रालयलाई परिपत्र गरेका छौँ,’ मन्त्री यादवले भने,‘ प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेका विदा कार्यान्वयन गर्न उहाँहरुले आश्वासन दिनु भएको छ। आश्वासन व्यवहार नै कार्यान्वयनमा नआए हामी अदालत जान्छौँ। मुद्दाको तयारी भइरहेको छ।’

प्रदेश सरकारले अब आउने कृष्णाष्टमीको विदा कार्यान्वयन हुन्छ भन्ने जिज्ञासामा मन्त्री यादवले भने,‘विदा कार्यान्वयनका लागि हामीले छिट्टै निष्कर्ष निकाल्न भनेका छौँ। अब आउने विदाहरु कार्यान्वयन हुनेमा म विश्वस्त छु।’

यसअघि रामनवमी, जानकी नवमी, ईद, बकरईदलगायतका पर्वहरुमासमेत प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो। तर, प्रदेश सरकार मातहतका कार्यालयहरुले विदा पालना गरेपनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गरेको थियो ।