×

वीरगन्ज ७ भदौ - स्थानीय युवा उपमहानगरपालिका–८ गम्हरगावाका १९ वर्षीय रञ्जन राउत कुर्मीको अपहरण गरी भारतको रक्सौल पुर्‍याएर हत्या गरेको भन्दै अम्विका राउत कुर्मी र उनकी पत्नी मीनादेवीले जिल्ला प्रहरी कार्यालय बारा धाइरहेका छन् । तर, छोराको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको उनीहरूको गुनासो छ।

असार ३० गते काठमाडौं हिँडेका रञ्जनलाई हड्डी भन्ने अनोज महतो, सरोज महतो ९अनोजका दाजु०, दिनानाथ महतो ‘धानुक’ र रुना साह तेलीले अपहरण गरी रक्सौलमा लगेर हत्या गरेको अम्बिकाले बताए।

रञ्जन सम्पर्कविहीन भएपछि उनको खोजीका लागि अम्बिका र उनकी पत्नीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। छोराको खोजी गर्दै जाँदा यही भदौ २ गते रक्सौलको सहदेवास्थित रेलवे लाइनछेउ झाडीमा कंकाल भेटिएको अम्बिकाले सुनाए। ‘टाउको र शरीरको हड्डीसहितको कंकालमा घरबाट निस्किएका दिन छोराले लगाएको जिन्स पाइन्ट र भित्री कट्टु भेटियो’, जिल्ला सदरमुकाम कलैयामा बिहीबार भेटिएका उनले भने, ‘कपडाकै आधारमा त्यो कंकाल हाम्रै छोरोको हो भनेर ठम्याएका हौं।

घटनास्थलमा भेटिएको हड्डी र कपडा लिएर सोमबार जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरी निरीक्षकले जाहेरी लिएर आउन भनेपछि निराश भएर फर्किएको उनले बताए। ‘हामी अनपढ मान्छे छौं, जाहेरी कहाँ गएर लेखाउने भन्ने आइडिया नै थिएन। गाउँका केही व्यक्तिले सल्लाह दिएछि बिहीबार कलैयामा आएर वकिलबाट जाहेरी लेख्न लगाउँदै छु’, बारा जिल्ला अदालत अगाडि भेटिएका उनले भने, ‘शुक्रबार यो जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिन्छौं।’

उनका अनुसार काठमाडौंमा रहेका भिनाजुसँग डकर्मीको काम गर्दै आएका रञ्जन र उनीसँगै काम गर्ने गाउँकै अनोजबीच तीन महिनाअघि विवाद भएको थियो। त्यसपछि अनोजले गाउँ फर्किएपछि ज्यान मार्ने धम्की दिएका थिए। त्यही रिसइबी साँध्न अनोजले अरू युवासँग मिलेर रञ्जनको हत्या गरेको आरोप उनले लगाए।

सम्पर्कविहीन भएको दुई दिनपछि खोजबिन गर्दा दिनानाथले रञ्जन रक्सौलमा अनोजसँगै रहेको बताएको उनले सुनाए। त्यसपछि अनोजकै दाजु सरोजले रञ्जनलाई खलासीको जागिर लगाइदिएको छु चिन्ता लिनुपर्दैन भनेपछि मीनादेवी छोरो भेट्न सरोजसँग रक्सौल गएकी थिइन्। तर, रक्सौल रेलवे ढालामा पुगेपछि सरोज मीनादेवीलाई झुक्याएर भागेका थिए।

‘रञ्जनलाई रक्सौलमा लगेर हत्या गर्नेहरू अहिले गाउँमै छन्’, मीनादेवीले भनिन्, ‘अहिले मेरो छोरो खोइ भन्दा हामीलाई थाहा छैन भन्छन्।’

बाराका प्रहरी उपरीक्षक मीरा चौधरीसंग बुझदा हामी अनुसन्धान गदै छौ हामी यो घटनाबारे बुझन हाम्रो प्रहरी युनिटलाई सक्रिय बनाएका छौ।

Back to top