उद्योगका हानिकारक फोहर खोलानालामा,उद्योगीहरु सरकारलाई दोष देखाएर उम्किदै-अशोक बैद्य

181

वीरगन्ज ३ भदौ वीरगन्ज महानगरपालिका १८ भवानीपुरका सुनिल साहको खुट्टाको चोट लामो समयसम्म निको भएन । ‘सिर्सिया खोला पारी खेत छ, खनजोत गर्न जानै पर्छ । नदीको पानीमा टेकेर जाँदा सुरुमा छाला चिलाउने समस्या देखियो, त्यसपछि बिस्तारै ठूला फोकाहरु आउने, चिलाउने हुँदा वीरगन्ज, काठमाडौंका चिकित्सकले दिएको औषधी ३ महिना प्रयोगपछि बल्ल निको भयो’ उनले भने । अहिले खोलाको पानीमा टेक्न डर लाग्छ । आफ्नै खेतमा सिधा नगएर सिर्सिया खोला तर्न घुमेर जगरनाथपुर स्थित पुलमा पुग्छु । र त्यहाँबाट घुमेर खेतमा आउँछु उनले थपे । औद्योगिक नगरी वीरगन्जमा उद्योगबाट निस्कने रसायनहरु खोलामा प्रसोधन विना छाड्ने क्रम चलिरहेको छ । यसको असर प्रत्यक्ष जनस्वास्थ्यमा परिरहेको छ । सुनिल साह त्यसको प्रतिनिधि पात्र मात्रै हुन् । उनको जस्तो समस्या बारा पर्साका खोला छेउका धेरै मानिसमा छ । हर्दियाका गणेश माझी अम्बे सिमेन्टमा मजदुरी गर्न थालेको एक दशक भइसक्यो । उनी अहिले छातीको संक्रमण र छालाजन्य रोगबाट ग्रसित छन् । उनीसँगै अरु मजदुरहरुमा पनि छालाजन्य रोगको संक्रमण देखापरेको छ । व्यवसायजन्य स्वास्थ्य सम्बन्धी सावधानीहरुका बारेमा उनीहरुलाई थाहै छैन । औद्योगिक क्षेत्रमा स्वास्थ्य जोखिम कम गर्न विभिन्न उपायहरु अबलम्बन गरिन्छ । तर यहाँका मजदुरहरु त्यसबारे अनभिज्ञ छन् ।



वीरगन्ज पथलैया औधोगीक करिडोर स्थित एक सिमेन्ट उद्योगका श्रमिकको शरीरमा देखा परेको छाला रोग । 

हर्दियाका गणेश माझी अम्बे सिमेन्टमा मजदुरी गर्न थालेको एक दशक भइसक्यो । उनी अहिले छातीको संक्रमण र छालाजन्य रोगबाट ग्रसित छन् । उनीसँगै अरु मजदुरहरुमा पनि छालाजन्य रोगको संक्रमण देखापरेको छ । व्यवसायजन्य स्वास्थ्य सम्बन्धी सावधानीहरुका बारेमा उनीहरुलाई थाहै छैन । औद्योगिक क्षेत्रमा स्वास्थ्य जोखिम कम गर्न विभिन्न उपायहरु अबलम्बन गरिन्छ । तर यहाँका मजदुरहरु त्यसबारे अनभिज्ञ छन् । मुलुकको प्रवेशद्वार वीरगन्ज आर्थिक राजधानी र औद्योगिक क्षेत्र पनि हो । वीरगन्ज क्षेत्रमा सानाठूला गरी ३४ सय कलकारखाना छन् । २०३६ साल यता योे क्षेत्र औद्योगिक कोरिडरको रुपमा विकास भएको छ । तर ती उद्योगहरुका कारण हुने प्रदुषण डरलाग्दो छ । अधिकांश उद्योगहरुले वतावरणीय मापदण्ड पुरा गरेका छैनन् । प्रदुषण न्यूनिकरणमा सक्रिय प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंह वातावरणीय मूल्यांकन विनै उद्योग सञ्चालन भएको दावी गर्छन् । पर्साको ५१ वटा उद्योगहरुले सरकारको विद्यमान कानून उलंघन गर्दै वातावरणमा असर पारिरहेका छन् । कलकारखाना देशको विकासका मेरुदण्ड हुन् । तर त्यही कलकारखाना कै कारण यस भेगका खोलाको अस्तित्व गुम्दै छ । वि.सं. २०५५ यता धेरै खोलाहरु ढलमा परिणत हुदै गएको छ । खोलानालामा भइरहेको प्रदुषणका बारेमा विभिन्न समयमा अनुगमन भए पनि त्यो कर्मकान्डी मात्रै छ । प्रदुषण फैलाउने कारखानाहरु कानूनी दायरामा छैनन् । यो समस्याले बेला बेला उद्योग सञ्चालक र स्थानीय बीचमा द्वन्द्वको सिर्जना हुने गरेको छ । २०६७ देखि स्वच्छ वातावरण सिर्जना अभियान नेपाल मार्फत संस्थागत रुपमै विरोध गर्दै आएको अभियानका सचिव अनिल कुमार साह बताउँछन् । ८ वर्ष अघि ‘सिर्सिया नदी प्रदूषण अनुगमन समिति’ ले वीरगन्ज पथलैया औद्यौगिक करिडोर अन्तर्गत बारा र पर्सा जिल्लाका ४७ वटा उद्योगहरुले प्रदुषण गरेको तथ्याँक सार्वजनिक गरेको थियो । जसमा बाराका १४ र पर्साका ३३ वटा उद्योग जिम्मेवार रहेको तथ्याँकले औंल्याएको थियो । यस्तो अनुगमनले उद्योगहरुले नदीमा गरेको प्रदुषणले मानव स्वास्थ्यसंगै नदी, वातावरण, गौचरण क्षेत्रमा असर परेको देखाएको छ । नदीमा गरिने स्थानबाट समेत यहाँका बासिन्दाहरु बन्चित छन् । आठ वर्ष यता प्रदुषण झन बढेको छ । प्रदुषण कम गर्ने तिर उद्योगहरुको रुचि छैन । यहाँको औद्योगिक क्षेत्रमा सिमेन्ट, छाला, प्लास्टिक, केमिकल, साबुन, बनस्पति, रसायन, औषधी जस्ता उद्योगहरु छन् । ती उद्योगहरुको चरम लापरवाहीले सिर्सिया सहित उरिया, मकहरीया, गंगोल, नौरंगी, तिलावे र सोतखोला गरी ७ वटा ठूला खोलाहरु प्रदुषित छन् । अर्कातिर त्यहाँ कार्यरत मजदुरहरु पनि जोखिमपूर्ण अवस्थामा छन् । श्रमिकमात्र नभई वरपरका स्थानीय समेत उद्योगको प्रदुषणका कारण समस्या झेल्न बाध्य भएको नारायणी उप–क्षेत्रीय अस्पतालका मुट्टु रोग विशेषज्ञ डा. अरुण कुमार कर्ण बताउँछन् । उद्योग कारखानाकै कारण स्वास्थ्य सम्बन्धि धेरै जटिलताहरु लिएर बिरामीहरु अस्पताल आउने डा. कर्णको भनाइ छ ।

                               सोझै नदीमा मिसाईएको सहजै देख्न सकिने उधोगहरु ।

प्रदुषणले मुटुको चाल परिवर्तन, झाडापखाला, आखाँ दुख्ने जस्ता समस्याहरु बढी मात्रामा देखिने गरेको चिकित्सकको भनाई छ । औधोगिक क्षेत्रभित्र मानव स्वास्थ्यका लागि कामदारहरुले अपनाउनुपर्ने सुरक्षा उपायहरु समेत खासै अपनाएको हामी पाउँदैनौं, त्यसैले धेरैलाई असर गरिरहेको छ, डा. कर्ण भन्छन् । औद्योगिक कोरिडोरका उद्योगकै प्रदुषण सिर्सिया नदीमा मिसिँदा यस भेगका प्रसौनी, सबैठवा, रामगढवा, मनियारी, भवानीपुर, लालपर्सा, प्रसोतीपुर, बेल्वा, चोर्नी लगायत गाऊँका स्थानीयहरुमा समेत छालाका रोगहरु घाऊ, खटिरा आदिको संक्रमण हुने गरेको पाइन्छ । औधोगिक करिडोर अन्तर्गत पर्ने चोर्नी, बेल्वा, लालपर्सा, बगही स्वास्थ्य चौकीमा यो साउन महिनामा आएका विरामीहरुको तथ्यांकले पनि समस्या कति विकराल छ भन्ने पुष्टि गर्छ । एक महिना भित्रमा चर्मरोगका ६ सय ४ जना, आँखा पाक्ने रोगका ८२ जना, मुटुको समस्याका ९१ जना, श्वासप्रश्वास घटबढ हुने जस्ता विरामी २ सय ४७ जना र झाडाँपखाला पीडितहरु १ सय १५ जना रजिष्टर भएको  जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको तथ्यांङ्क अधिकृत नवलकिशोर साहले जानकारी दिए । कारखाना वरपरका स्वास्थ्य संस्थाकै तथ्याङ्कबाट आखाँ, छाती, पेट र छालाको रोगका बिरामी बढी आउने गरेको देखिएको तथ्याङ्क अधिकृत साह बताउँछन् । औद्योगिक प्रदुषणका कारण स्थानीय र औद्योगिक क्षेत्रका मजदुरमा नसर्ने रोगहरुको समस्या बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

                        उधोगहरुको प्रदुषणले जलचर विना देखिएको कालो पनी ।

प्रदुषणबारे उद्योग सञ्चालकहरु आफ्नो बचाऊ गर्न खप्पिस छन् । उनीहरु सबै दोष सरकारको भएको भनि उम्किरहेका छन् । शालिमार सिमेन्ट, के एनपी पेन्टस, शालिमार मेटल, हेमन्त ईन्डष्ट्रिज लगायतका सञ्चालक तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहिसकेका अशोक बैद्य उद्योगीलाई मात्रै दोष लगाएर नहुने भन्दै उद्योग भएको ठाउँमा प्रदुषण हुने स्वीकारे । प्रदुषण नियन्त्रणका लागि सरकारले औधोगिक क्षेत्र छुट्याइ दिओस् उनले भने । हिजो सिर्सिया खोलाको किनारमा रहेका उद्योग नजिक मानव बस्ती थिएन । त्यो बस्तीहरु अहिले आएर बसेको हो । उनले सरकार आफैले सिर्सिया नदीमा सोझै ढल तथा नाला मिसाएको बताए । यस्तै मोहित एग्रो प्रोडक्ट, मोहित ईन्डष्टीज, त्रिलोकी ब्राण्ड प्रा.लि. लगायत खाद्यान्न उद्योगका सञ्चालक सुबोध गुप्ता प्रदुषण घटाउने विभिन्न उपायहरु अपनाएको बताउँछन् ।

                                     उद्योगीहरु सरकारलाई दोष देखाएर उम्किदै

                                                   उधोगी अशोक बैद्य ।

उद्योगबाट हुने प्रदुषण कम गर्ने प्रयास फितलो रहेको स्वच्छ वातावरण सिर्जना अभियान अध्यक्ष ओमप्रकाश साह कानु बताउँछन् । स्थानीय प्रशासन पनि यसमा चनाखो हुन नसकेको उनको भनाइ छ । सिर्सिया नदी प्रदूषण अनुगमनमा ४७ वटा उद्योगबाट हुने प्रदुषणको स्रोतहरुलाई नियन्त्रण गर्न जरुरी रहेको देखाएको थियो । प्रतिवेदनले राज्यको पहल र उपलब्ध कानूनी व्यवस्थाको कार्यन्वयनबाट नै प्रदुषण नियन्त्रण सम्भव समेत रहेको बाटो देखाएको थियो । तर प्रतिवेदन बनेको झण्डै ८ वर्षपछि पनि मानव स्वास्थ्य, नदी तथा वातावरण जोगाउन कुनै निकायबाट ठोस प्रयास हुन सकेको छैन । उद्योग वरपरका लालपर्सा, मनियारी, रामपुर टोकनीमा समेत स्थानीय क्लब, संघ संस्थाहरुले उद्योग प्रदुषणबारे आवाज उठाएका छन् जसको सुनुवाइ भएको छैन । घरेलु तथा साना उद्योग कार्यालय पर्साका अनुसार पर्सा जिल्लाभित्र रहेको करिब ३४ सय कल कारखानाहरु नियमित नविकरणमा छन् । ती उद्योगहरु मध्ये स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने ५१ वटा उद्योगहरुले वातावरणीय दृष्टिकोणले बनाउनु पर्ने प्रशोधन केन्द्रहरु निर्माण नै नगरी उद्योगहरु सञ्चालन गरिरहेको जनाएको छ । उद्योग स्थापना गर्नुभन्दा पहिला प्रशोधन केन्द्र निर्माणका लागि लाग्ने समय र व्यवस्थापन गर्न नसक्दा उद्योगबाट उत्पादित रसायन, फोहोर मैला सोझै नदीमा खसाल्ने गरिएको छ । नदीमा मिसाएको फोहर तथा बोसो युक्त पानीले नदी प्रदुषित छ । छठ पर्वमा अब यहाँका बासिन्दाहरु नदीमा जान नसक्ने अवस्थामा पुगेका छन् । सिर्सिया नदी किनारमा दुई दर्जनबढी छठी घाटमा ब्रतालुहरुले छठपर्व मनाउने गर्दछन् । पर्वका बेला स्थानीयहरुको विरोधका कारण करिब एक साता प्रशासनको कडा आदेशका कारण उद्योगहरुले यी खोलामा प्रदुषित पानी र खरानी फाल्दैनन् । तर छठ सकिना साथ सिर्सियाको दुर्दशा सुरु भइहाल्छ । नदीको पानीबाट खेती गर्ने किसान, बोटविरुवा, घरपालुवा जनावरहरु समेतलाई असर पर्ने गरेको छ ।

                                 वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा ।

शवको दाहसंस्कार गर्दा समेत मलामीहरुले खोलामा ननुहाई घरमै गएर नुहाउनुपर्ने बाध्यता छ । अहिले यी खोलाहरुमा जलचरहरु हराई सकेका छन् । बाराको सिमरादेखि वीरगंजस्थित नेपाल भारत सीमासम्म करिब २५ किमी लामो यात्रा तय गर्ने यो खोलाको पानी उद्गमको २/४ कि.मी. पछि क्रमशः दुर्गन्धित छ । प्रदुषणबाट अवाक् छन् वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा । उनी विगत सम्झदै भन्छन्, २५/३० वर्ष पहिला हामी सिर्सिया नदिमा नुहाउन जाने गरेका थियौ, तर अहिले पानी मात्रै छोयौँ भने छाला रोग लाग्छ ।

संघले सिर्सिया खोलालाई प्रदूषित बनाउन जिम्मेवार उद्योगहरुलाई नियम बमोजिम कारर्वाही हुनुपर्ने जनाएको छ । संघले पटक पटक विभिन्न सार्वजनिक ठाउँमा भनेको छ, जुन उद्योगले पैसा कमाउँछ, त्यो खालको उद्योग प्रशोधन केन्द्र स्थापना गर्नुपर्छ । कागजमा धेरै उद्योगीहरुले उद्योगमा प्रशोधन केन्द्र स्थापना गरेको देखाएको छ, अध्यक्ष शर्माले भने, उद्योगीहरुले उद्योग चलाउने हो भने, कसैको जिउ ज्यानसँग खेल्ने होइन, उद्योगबाट फाईदा कमाउँछ भने, उद्योगीहरुले प्रसोधन केन्द्र स्थापना गराउँनै पर्ने अध्यक्ष शर्माको भनाइ छ ।

प्रदुषणको मामलामा उद्योगीहरु चुकेकै छन् वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा उद्योगी सुबोध गुप्ता पनि स्वीकार गर्छन् । वातावरण पत्रकार चन्द्रकिशोर झा नेपालमा प्रदुषणको मापदण्ड मुल्यांकन गर्ने पद्दती नै नरहेकाले समस्या हुने गरेको तर्क गर्छन् । उनले भने, कुन उद्योगले कस्ता खालका सामाग्री उत्पादन गर्छ, र त्यसले वायु, नदी र जमिनमा कति सम्मको प्रभावित गर्न सक्छन् त्यस्ता खालको मुल्यांकन र कार्वाही नहुने गरेकाले उद्योग सञ्चालकहरु मनलाग्दी प्रदुषण फैलाई रहेका छन् उनले भने ।               

                                              मुख्यमन्त्री लालबाबु राउत ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत कुनै पनि लगानी कर्ताले उद्योग स्थापना गर्दा सर्वसधारणको स्वास्थ्य र मर्कालाई बुझेर नै आफनो कारखाना स्थापना गर्नुपर्ने बताउँछन् । नेपाल सरकारसँग पनि उद्योगपतिले जनतालाई असर नपर्ने गरी कारखाना सञ्चालन गर्ने कागज मै प्रतिवद्धता जनाएका हुन्छन् । प्रदुषण फैलाउने उद्योेग सञ्चालकलाई उपस्थिति गराएर निति नियम पालना गराउन प्रदेश सरकार प्रतिबद्ध रहने मुख्यमन्त्री लालबाबु राउतले आश्वासन दिए । तर अहिलेसम्म ठोस प्रयास मूख्यमन्त्री कार्यालयबाट पनि भएको छैन ।

                                 प्रदुषित खोलालाई नयाँ जिवन दिने प्रतिष्ठानको प्रयास विफल

प्रदुषित खोलालाई नयाँ जीवन दिन प्रयासरत संस्था प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले आफूहरुको लामो प्रयासपछि पनि सिर्सिया खोलालाई सफा र स्वच्छ बनाउन सरकारी निकाय तथा उद्योगी व्यवसायी लगायत कुनै पनि सरकारी निकाय गम्भिर नभएको आरोप लगाए । वीरगंज महानगरका मेयर बिजय सरावगीलाई पनि आफूले लिखित तथा मौखिक रुपमा सिर्सिया खोलाको प्रदुषण नियन्त्रण सम्बन्धमा गम्भिर ध्यानाकर्षण गराएको तर मेयरबाट समेत सन्तोषजनक जवाफ र प्रतिबद्धता नआएको सिंहले दावी गरे । तत्कालीन प्रहरी प्रमुख रमेश खरेलले प्रदुषण फैल्याउने उद्योगका व्यवस्थापकहरुलाई बोलाएर प्रदुषण नियन्त्रण गर्न प्लान्ट जडान नगरे सार्वजनिक अपराध मुद्दा चलाउने भनी सचेत गरेका थिए । तर एसपी खरेल गएपछि यो मुद्दा पनि शिथिल बनेको छ ।

                                      कारर्वाहीका लागि कानुन अप्रर्याप्त

कारर्वाही गर्ने अधिकार नदिएकाले उद्योग सञ्चालकहरु गैर जिम्मेवार भएको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजना काठमान्डौंका प्रयोगशाला अधिकृत दिपक लेखकको बताए । उद्योगीले मापदण्ड विपरित मानव स्वास्थ्य वा वातावरणलाई खलल पुग्ने गरी काम गर्दा आफुहरु सिफारिसमा सिमित हुनुपरेको उनी बताउँछन् । आयोजनाले हालै गरेको अध्ययन अनुसार बीरगन्जका ५ उद्योगले मापदण्ड विपरित फोहर पदार्थ नदी नाला तथा कुलामा गरेको पाइएको छ । यसका साथै ध्वनि प्रदुषण र धुलोका मात्रा मापदन्डभन्दा निकै बढी पाइएको लेखकले जानकारी दिए । आयोजनाले मजदुर र स्थानीय वासिन्दासंग बुझ्दा पनि उद्योग कारखानाले गर्दा आखाँ पाक्ने, सासफेर्न अप्ठ्यारो हुने, कान दुख्ने जस्ता समस्या हामीले पाएका थियौँ । अनुगमनबाट देखिएका यी मानव समस्या बाहेक हामीले त्यहाँबाट ल्याएको खेतीबालीको माटोको उर्वरा शक्ती पनि कम हुदैँ गएको पाएका छौँ । फोहरजन्य पदार्थ नदीमा मिसाउँदा जिवजन्तुहरु विरामी हुने र मर्ने गरेको पनि स्थानीयहरुले हामीलाई अवगत गराएको थिए । ति सबै प्रतिवेदन केही समय अगाडी मात्रै कार्यालयले श्रम कार्यालय र वातावरण मन्त्रालयलाई बुझाएको जनाएको छ ।

                                     ऐनमा व्यवस्था भए पनि उम्कदै उद्योगी

                                         अधिवक्ता कमल मोहन पोखरेल ।

वातावरण संशोधन ऐन २०५३ ले वातावरणलाई प्रतिकुल हुने गरी कुनै पनि उद्योग धन्दाले फोहर मैला निस्काश्न गर्न नपाउने संगसंगै कुनै पनि उद्योगले ध्वनि, प्रदुषण वा अन्य किसिमको हल्ला गर्ने काम गर्यो भने, उद्योगलाई ५० हजारदेखि एक लाखसम्मको जरिवाना र वैकल्पिक उपाय नअपनाए सम्म उद्योग बन्द गर्ने समेतको व्यवस्था ऐनले गरेको अधिवक्ता कमल मोहन पोखरेलले बताए । उनले भने, उद्योगहरु खोल्नका निम्ति सर्वप्रथम वातावरणीय प्रभाव मुल्यांकन गराएर मात्रै उद्योग खोल्न पाईन्छ । यदि यो नगराई वा नियम विपरित सञ्चालन गरिएको पाइएमा पनि सोही कारर्वाही हुने ऐनमा व्यवस्था रहेको उनले बताए ।

                     फोहोर प्रशोधन केन्द्र निर्माण र सञ्चालनमा नल्याएका ५१ उद्योगहरु : –

श्री सिमेन्ट ईण्ड्रष्ट्रिज प्रा.लि. लिपनीविर्ता, विश्वकर्मा सिमेन्ट प्रा.लि. लालपर्सा, अम्बे सिमेन्ट प्रा.लि. लिपनीविर्ता, नेपाल शालिमार सिमेन्ट प्रा.लि. यस्तै छाला उद्योगहरुमा मोरियम लेदर इण्डस्ट्रिज लिपनी विर्ता, आर आर यार्न प्रोसेसिङ्ग ताजपुर पर्सा, नेपाल लेदर इण्डस्ट्रिज लिपनिविर्ता, ग्लोबल लेदर टेनिङ्ग इण्डस्ट्रिज लिपनिविर्ता यस्तै प्लाष्टिक उद्योगहरुमा हिमाल प्लाष्टिक प्रोडक्टस श्रीपुर, भवानी प्लाष्टिक उद्योग वडा नं. २ छपकैया, कामना प्लाष्टिक उद्योग रामगढवा, बाबा प्लाष्टिक वीरगन्ज १०, वीरगन्ज प्लाष्टिक उद्योग, कंचन प्लाष्टिक उद्योग प्रा.लि. मूर्ली वीरगन्ज, प्रेष्टज लुप म्याट इण्डष्ट्रिज मुर्ली वीरगन्ज, शंकर सिन्थेटिक्स प्रा.ली. चोर्नी ८ पर्सा, मनोकामना कृषि पाइप प्रा.लि आदर्शनगर, हिमाल वायर्स परवानीपुर पर्सा, शिवशक्ति केमोप्लाष्ट प्रा.लि., शिव सागर उद्योग वीरगन्ज, जगदम्बा इन्टरप्राइजेज प्रा.लि. नेशनल पोलिप्लाष्ट इण्डस्ट्रिज गण्डक पर्सा रहेका छन् । यसैगरी पेन्ट उद्योगहरुमा अशोक पेन्टस मिल्स वीरगन्ज, नेपाल शालिमार पेन्टस प्रा.लि., डालमिया पेन्ट्स एण्ड केमिकल रेश्मकोठी वीरगन्ज, डाबर नेपाल प्रा.लि. महावीर सोप इण्डस्ट्रिज गण्डक, शुसिल सोप एण्ड केमिकल उद्योग पर्सा यसैगरी डाइङ उद्योगमा सन टेक्सटाइल इण्डस्ट्रिज मुर्लि १५ वीरगन्ज, अनिल टेक्सटाइल गण्डक बहुअरी, नेपाल टेक्सटाईल वीरगन्ज, सीता टेक्सटाइल लिपनीविर्ता, डायमण्ड टेक्सटाइल परवानीपुर, सिद्धी टेक्सटाइल परवानीपुर, श्री अंकिता टेक्सटाइल्स प्रा.लि., अरनिका प्रोसिङ्ग इण्डस्ट्रिज परवानीपुर रहेका छन् । यस्तै भुष तथा खरानीबाट प्रदुषण गर्ने उद्योगहरुमा सुशील बनस्पति प्रा.लि. परवानीपुर, आदर्श तेल उद्योग आदर्शनगर, नारायणी रिफाइनरी उद्योग, सुशिल वनस्पति प्रा.लि. परवानीपुर पर्सा, आदर्श आयल इण्डस्ट्रिज आदर्शनगर, यसैगरी फलामबाट प्रदुषण गर्ने उद्योगहरुमा हिमाल आयरन एण्ड स्टिल परवानीपुर, मारुती नन्दन रोलिङ्ग मिल्स प्रा.लि. डिबी इण्डस्ट्रिज प्रा.लि. मुर्ली यसैगरी केमिकल उद्योगहरुले अबैध रुपमा गर्ने विसर्जनले हुने प्रदुषणमा अमित पेष्टिसाइट वीरगन्ज, जगदम्बा केमिकल्स प्रा.लि लिपनीविर्ता, जय विश्वकर्मा इण्डस्ट्रिज, साल्ट एण्ड स्वीट र औषधी उद्योगहरुले गर्ने डेट एक्सपायर विसर्जनबाट प्रदुषण गर्नेमा नेपाल फर्मास्यूटिकल्स प्रा.लि जीतपुर, फ्m्ल्योर हिमालयन लिमिटेड चोर्नी, हिमाल अक्सिजन परवानीपुर रहेका छन् ।

madhyanepal.com बाट