×

वीरगन्ज ३१ साउन । वीरगन्ज महानगरपालिकाको नेतृत्व र उच्च पदस्थ अधिकारीहरुले रकमी मिलेमतोमा सवारी करको ठेक्का लगाएको खुलासा भएको छ । उच्च अदालतको आदेशलाई लत्याएर वीरगन्ज महानगरले मोना कन्स्ट्रक्सनलाई चोर बाटोबाट सवारी करको ठेक्का दिएको हो ।

स्रोतकाअनुसार सो मिलेमतोबापात मोना कन्स्ट्रक्सनका सञ्चालक रामाकान्त चौरसियाबाट प्रमुख कार्यकारी अधिकृत भीष्म भुसाल र राजश्व शाखका तत्कालिन प्रमुख रामदयाल यादवले मोटो नजराना बुझेका छन् । हाकिम भूसालले पोल खुल्ने डरले प्रक्रियाको काजगपत्र सञ्चारकर्मीले माग्दा विभिन्न बाहानामा उपलब्ध गराएनन् । सञ्चारकर्मीले कागजातको माग गर्दै सूचनाको हकअन्तर्गत पत्र दर्ता गराएका थिए ।

महानगरले अनिमिति तरिकाले ठेक्का स्वीकृत गरेको भन्दै परेको रीटमा उच्च अदालतले सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिए पनि मोना कन्स्ट्रक्सनलाई ठेक्का दिइएको हो ।

महानगरले आर्थिक वर्ष २०७५/७६ का लागि आह्वान गरेको सवारी करको ठेक्का पाएका ठेकेदारको मापदण्ड नपुगेको भन्दै परेको रिटमा उच्च अदालतले गत शुक्रबार निर्णय यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशलाई अवज्ञा गर्न महानगरले सवारी करलाई ‘सवारी व्यवस्थान शुल्क’को नाममा ठेक्का दिएको छ ।

वीरगञ्जको आदर्श सप्लायर्सका सञ्चालक पवनकुमार कानुले महानगरलाई विपक्षी बनाएर हालेको रिट हालेका थिए । अदालतले भदौ ८ गतेका लागि छलफलमा बोलाएको सप्लायर्सका कानून व्यवसायी सुधीर कर्णले बताए ।

महानगरले आर्थिक वर्ष २०७५÷७६ का लागि वार्षिक तथा पटके सवारी करको ठेक्का मोना कन्स्ट्रक्सन प्रालिलाई दिने निर्णय गरी सम्झौताका लागि पत्र पठाएको थियो । मूल्य अभिवृद्धि करबाहेक ७ करोड ५ लाख रुपैयाँमा ठेक्का तय भएको थियो ।

बोलपत्र शर्तको ८ नम्बर बुँदामा उल्लेख भएको शर्त पूरा नगरेको कम्पनीलाई ठेक्का दिन लागिएको भन्दै अदालतमा रिट परेको थियो । कम्तीमा २ वर्षको कार्यअनुभव र अघिल्लो वर्षसम्मको अन्तिम लेखा परीक्षणमा नाफा देखिनुपर्नेमा यो शर्त पूरा नभएको दाबी रिट निवेदनकर्ताको छ ।

यसैबीच वीरगन्जको अलौस्थित एकीकृत जाँच चौकी ९आईसीपी०को मुलगटेमा बिहीबार भारतीय ढुवानीका साधन चालकले ठेकेदारले मनोमानी तरिकाले कर लिएको विरोधमा प्रदर्शन गरेका छन् । सवारी कर व्यवस्थापनको नाममा तोकिएभन्दा दुई गुणा रकम बढी लिएको आरोप लगाउँदै चालकहरूले प्रदर्शन गरेका हुन् ।

सवारी शुल्क १ सय ९० रुपैयाँ तोकिएकोमा भारतबाट नेपालका लागि मालसमान लिएर आएका साधनका चालकसँग मोना कन्स्ट्रक्सनका कर्मचारीले १ सय ९० भारतीय रुपैयाँ असुल गरेको चालकले बताए । आईसीपीबाट निस्किँदा र प्रवेश गर्दा पटकपटक रकम लिएको गुनासो उनीहरूको छ ।

कन्स्ट्रक्सनका सञ्चालक रामाकान्त चौरसियाले सवारीले पटकैपिच्छे कर तिर्नुपर्ने बताए । वरिष्ठ अधिकृत सुमन श्रेष्ठले ठेक्काको सुरुआतमा यस्ता समस्या सामान्य भन्दै आएका समस्यालाई समाधान गर्दै जाने पनि बताए । यसैबीच अनधिकृत रकम सङ्कलनको आरोपमा प्रहरीले ठेकेदारका ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । ठेकेदारका कर्मचारी पक्राउ परेपछि भारतीय चालकले मूलगेटको अवरोध टुङ्ग्याएका थिए ।

Back to top