×

बारा २६ साउन बारामा प्रहरीलेनै चोरीको गाडी चढ्ने गरेको भेटिएको छ । विभिन्न समयमा बरामद भएका मोटरसाईकलहरु आवश्यक कारवाहीका लागि भन्सार चलान गर्नुपर्ने नियम विपरित जिल्ला प्रहरी कार्यालय बाराले नै मातहतका प्रहरी युनीटमा पठाउने गरेको रहस्य खुलेको छ ।बाराको पचरौता नगरपालिका ८ स्थित प्रहरीचौकी लङ्गडाका प्रहरीले चढ्ने गरेको एक मोटरसाइकलमा राखिएको नम्बर प्लेटका आधारमा यसको रहस्य खुलेको हो । उक्त प्रहरी चौकीका प्रहरीले चढ्ने गरेको बजाज कम्पनीको १५० सिसि पल्सर मोटरसाइकलमा सेतो प्लेटमा ना ४५ प ६४२२ नम्बर उल्लेख गरिएको छ ।सेतो रङ्गको सरकारी नम्बर प्लेटमा मोटरसाईकलको हकमा अञ्चलको नाम र अंक पछि ब लेखिएको हुन्छ तर प्रहरीले चढेको सेतो प्लेटको मोटरसाइकलमा ना र अंकपछि प लेखिएको भेटिएपछि उक्त मोटरसाईकल चोरीको रहेको रहस्य खुलेको हो ।सोही मोटरसाईकल चढेर बुधबार बाराको पचरौता ८ स्थित नेराप्राविमा आयोजित एक सार्वजनीक सुनुवाई कार्यक्रममा भाग लिन आएका प्रहरी चौकी लङ्गडाका प्रहरी हवल्दारले सञ्चारकर्मीसंग मोटरसाईकल आफ्नो रहेको र फोटो नखिच्न आग्रह गरेका थिए । नको आग्रहपछि मोटरसाइकलको नम्बर प्लेटका विषयमा कुराकानी गर्दा उनले जिल्ला प्रहरी कार्यालय बाराले गस्ती गर्नका लागि उक्त मोटरसाइकल चौकीलाई उपलव्ध गराएको र थपकुरा आँफूलाई जानकारी नभएको बताए । ‘मोटरसाईकलको सवारी दर्ता किताब, नम्बर तथा अन्य कुरा मलाई जानकारी छैन’ ती प्रहरी हवल्दारले भने । यो मोटरसाईकल हामीलाई जिल्लाबाट गस्ति गर्नका लागि उपलव्ध गराईएको हो– उनले भने ।सोहि नम्बरको नीजि मोटरसाइकल चितवन टाँडी रत्ननगरका बासुदेव रिजालको नाममा दर्ता रहेको र उक्त मोटरसाइकल चितवनमै रिजालले प्रयोग गरिरहेका छन् । बजाज मोटरसाईकलको बारा जीतपुर स्थित विक्रेता एसडिएस इन्टरप्राइजेजका अनुसार ना ४५ प ६४२२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल चितवनमा विक्री भएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जका अनुसार उक्त मोटरसाईकल रातो÷कालो रङ्गको रहेको छ । तर प्रहरीले नीलो रङ्गको मोटरसाइकलमा उक्त नम्बर प्रयोग गरेको छ ।यातायात व्यवस्था कार्यालय वीरगञ्जको सवारी दर्ता रजिष्टरमा उक्त मोटरसाईकल बासुदेव रिजालको नाममा दर्ता रहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जितसिंह राठौरले आफ्नो मातहतका प्रहरीले यस्तो गल्ती गरेको भए छानविन गर्ने बताए । प्रहरी चौकी लङ्गडाका ती प्रहरी हवल्दारले भने अनुसार उक्त मोटरसाईकल जिल्ला प्रहरी कार्यालयबाटै चौकीलाई हस्तान्तरण भएको हो भने तत्काल उक्त मोटरसाईकल फिर्ता गरि भन्सार बुझाईने उनले बताए । ‘हामी घटना के हो तत्काल बुझ्छौं, प्रहरीबाट भएका कमजोरीलाई तत्काल सुधार गर्नेछौं’ बारा प्रहरी प्रवक्ता राठौरले भने ।यता जिल्लाका अधिकाँश प्रहरी चौकीहरुमा यस्तै प्रकारका मोटरसाईकलहरुको प्रयोग भइरहेको जनगुनासो छ । पचरौता नगरपालिकाका एक जनप्रतिनिधिले उक्त घटना उदाहरण मात्र भएको बताए । ती जनप्रतिनिधिका अनुसार बाराको दक्षिणपुर्वी भागमा रहेका अधिकाँश प्रहरीहरुले भारतिय तथा चोरीका मोटरसाईकलमा नेपाली नम्बर राखेर चढ्ने गरेका छन् ।

Back to top