×

वीरगन्ज, २५ साउन÷आफूलाई वीरगन्जको सबैभन्दा ठूलो उद्योगी र समाजसेवी भन्न रुचाउने बाबुलाल चाचान र उनको समूहले गरेको बदमासीको पोल खुलेको छ । उनको नारायणी सिमेन्ट उद्योगले उत्पादन गरेको त्रिशक्ति र बज्रशक्ति ब्राण्डको सिमेन्ट गुणस्तरहीन रहेको फेला परेपछि बाबुलालको सफेद पोसको आवरणमा लुकेको कालोधन्धाको पर्दाफास भएको हो ।

आफ्नो उत्पादनलाई गुणस्तरको हकमा नेपालमै नम्बर वान दाबी गर्ने नारायणी सिमेन्टले उत्पादन गरेको ओपिसी र पीपीसी दुवै सिमेन्टमा कमसल गुणस्तर भेटिएपछि गुणस्तर तथा नापतौल विभागले सो उद्योगलाई कारवाही गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगको उत्पादन गुणस्तरहीन पाइएकाले गुणस्तर चिन्ह स्थगन गरिएको बताए ।

त्रिशक्ति र बज्रशक्ति सिमेन्टमा आइआर नामको रसायनको मात्रा मादण्डभन्दा न्यून रहेको परीक्षणका क्रममा पत्ता लगेको पुडासैनीले बताए । नारायणी सिमेन्ट उद्योग बाबुलालका भतिजा शतिस चाचानले प्रत्यक्षरुपमा हेर्ने गरेका छन् । शतिस कमसल उत्पादन बजारमा पठाएर नाफा कमाउन पल्किएका छुपारुस्तम उद्योगीका रुपमा कुख्याति कमाएका व्यक्ति हुन् ।

चाचानले वीरगञ्जका औद्योगिक घरानाहरु चाख्न खप्पिस उमेशचन्द्र ठाकुरलाई महाप्रबन्धकको रुपमा नियुक्त गरेको छ । प्रहरी प्रशासनदेखि गुणस्तरका हाकिमहरुलाईसमेत रिझाउन माहिर ठाकुरको फर्मुला यस पटक भने फेल खाएको छ । पैसाको बिटोले कारवाही र नियमनका निकायको मुख थुन्न माहिर चाचानको यस्तो प्रयत्न काम नलागेपछि उनको करतुत बाहिर आएको हो ।

त्रिशक्ति र बज्रशत्ति सिमेन्टको प्रयोगबाट निर्माण गरिएका संरचनाहरु अत्यन्तै कमजोर हुने गरेको विभागसम्बद्ध स्रोतले बताएको छ । उत्पादनमा गुणस्तर नभेटिएपछि अब सो उद्योगले बजारमा पठाएको सम्पूर्ण सिमेन्ट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ ।

सो उद्योगले उत्पादन गर्ने सिमेन्टमा आवश्यक गुणस्तरीय कच्चा पदार्थको सट्टा ढुंगामाटो र बालुवासमेत प्रयोग हुनेको त्यहाँका कर्मचारीहरु नै बताउँछन् । उद्घाटित तथ्यले बाबुलाल चाचानले आमजनताको जीवनको सुरक्षासँग गरिरहेको खेलवाड पनि बाहिर आएको छ ।

चाचान समूहका अन्य उद्योगका उत्पादनसमेत गुणस्तरहीन र मावनस्वास्थ्यका लागि घातक भएको गुनासो आउने गरेको छ । उपभोक्ताको व्यापक गुनासो र उजुरीपछि चाचानले उत्पादन गरेका खानेतेलको गुणस्तरमा समेत जाँचबुझ थालिएको बताइएको छ । यसबारेममा थप तथ्यहरु उद्घाटित हुँदै जानेछ । विगतमा समेत विभिन्न आवरणमा दुई नम्बरी काम गरेर अकुत आर्जन गरेको चाचानले केही वर्षयता पैसाको आडमा २ नम्बरी छविलाई ढाकछोप गरेर आफूलाई ठुलो समावसेवी बनाउन खोजे पनि नानीदेखि लागेको बानी झै उनको असली अनुहार पुन एक पटक सार्वजनिक भएको छ ।

 

Back to top