ठाकुरराम क्याम्पस ‘मिनी भन्सार’मा परिणत, एकपछि अर्को भ्रष्टाचारको पोल खुल्दै

1861

Share
  • 179
  •  
  •  
    179
    Shares

वीरगन्ज, २५ साउन÷विद्या आर्जनको थलोलाई भ्रष्टाचारको अखडा बनाइएको छ भन्दा कमैलाई मात्र पत्यार लाग्न सक्छ । तर, वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस केही भ्रष्ट प्राध्यापक र कर्मचारीका कारण ‘मिनी भन्सार’को रुपमा परिणत भएको छ । यो शैक्षिक प्रतिष्ठानको घोटाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगिसकेको बताइएको छ ।
क्याम्पस प्रमुख प्रमोद कुशवाह र केही चल्तापूर्जा कर्मचारीको मिलेमतोमा भइरहेका भ्रष्टाचारका पोलहरु खुल्दै गएका छन् । क्याम्पसका विभिन्न संरचना मर्मतका नाममा भएको अनियमितताको प्रयास केही असन्तुष्त विद्यार्थीहरुको विरोधका कारण अवरुद्ध हुन पुगेपछि लाखौं कमाउने उद्देश्य अवरुद्ध भएकोमा त्यस्ता प्राध्यापक र कर्मचारी अहिले तिल्मिलाइरहेको स्रोतले बतायो ।
स्रोतका अनुसार भ्रष्ट प्राध्यापक र कर्मचारीहरु असन्तुष्टलाई आर्थिक लाभको प्रलोभनमा पारेर आफ्नो दुनो सोझ्याउने अभियानमा लागेको बताइएको छ । ३० लाख रुपैयाँको मर्मतको कामलाई ५ लाख रुपैयाँभन्दा कमको काममा टुक्र्याएर समितिमार्फत काम गरी अनियमितताको प्रपञ्च रचिएकोमा अहिले त्यो अवरुद्ध हुन पुगेको छ ।
सार्वजनिक खरीद र आर्थिक ऐन अनुसार ५ लाख रुपैयाँभन्दा बढीको काम ठेक्काबाट गराउनु पर्दछ । त्यसो गर्दा भ्रष्टाचार गर्न नपाइने भएपछि काम विभाजन गरेर मोटो रकम कुम्ल्याउने प्रपञ्च मिलाइएको त्यहाँका कर्मचारीहरु बताउँछन् ।
क्याम्पस हातामा हुर्किएका सिसौका लाखौ रुपैयाँ मूल्य पर्ने रुख नियमविपरीत काटिएको बताइएको छ । वन कार्यालयले विभागको स्वीकृति लिएरमात्र काट्न भनेकोमा नियमलाई बेवास्ता गरी रुख काटेर हिनामिना गरिएको छ । यसमा वन कार्यालय पर्साका कर्मचारीको समेत मिलेमतो भएको बुझिएको छ । यसरी काटिएका रुख केही भ्रष्ट प्राध्यापक र चल्तापूर्जा कर्मचारीको घरघमासमेत पु¥याएको कर्मचारी नै बताउँछन् ।
परीक्षामा खटिने गार्डको नाममा समेत भ्रष्टाचार भएको भन्दै कर्मचारीले विरोध गरेपछि यो विषयले पनि अहिले क्याम्पसमा बबाल भएको छ । राजनीतिक आस्थाका आधारमा क्याम्पसको नेतृत्व फेरिने भएकाले अहिलेको परिवर्तित राजनीतिक शक्ति सन्तुलनका कारण पद् जाने निश्चित भइसकेका क्याम्पस प्रमुख अहिले ‘एनी हाउ माल कमाउ’को उद्देश्यमा तल्लिन भएको अन्य प्राध्यापकहरुको आरोप छ ।
क्याम्पसको प्रशासन, स्टोर र खरीदजस्ता विभाग एउटै व्यक्तिलाई जिम्मा दिएर भ्रष्टाचार भइआएकोमा अहिले विरोध बढ्न थालेपछि ती ठाउँको अधिकार बाँड्न थालिएको छ । क्याम्पसको स्टोरमा सामान नआउने, तर बीलमात्र आएर भुक्तानी हुने प्रवृत्ति सामान्यजस्तै भएको लेखा शाखाका भुक्तभोगी कर्मचारीले बताए । लेखाका कर्मचारीले रकमको प्रलोभनमा फर्जी बिलमा भुक्तानी दिने गरेका छन् ।
क्याम्पस प्रमुख प्रमोद कुशवाहले नियमअनुसार नै सबै काम भएको दाबी गरे । उनले काटिएका रुखमा वन कार्यालयल टाँचा लगाएको दाबीसमेत गरेका छन् । मर्मतका नाममा भएको अनियमितताबारे गरिएको प्रश्नमा उनले नयाँ निर्माण नभएर मर्मतमात्र भएकाले कोटेसनमा गर्न मिल्ने दाबी गर्दै भ्रष्टाचारको उद्देश्य नभएको दाबी गरे । सञ्चारकर्मीको जिज्ञाशामा सुरुमा घटना पुरानो भन्दै पन्छिने प्रयास गरेका कुशवाहले प्रक्रियाको कागजपत्र माग गर्दा सुरुमा दिन नमिल्ने बताए पनि पछि सूचनाको हकको कुरा उठाएपछि लिखितरुपमा मागे उपलब्ध गराउने बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here