×

वीरगञ्ज, २४ साउन÷वीरगञ्जमा आइतबारदेखि २ दिने नेपाल–भारत साहित्य महोत्सव–२०१८ सुरु हुने भएको छ । नेपाल–भारत सहयोग मञ्च, ग्रीन केयर सोसाइटी, भारत र हिमालिनी मासिकको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

आयोजकले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबाट हुने महोत्सव आयोजक समितिका अध्यक्ष अशोककुमार वैदले बताए ।

उद्घाटन समारोहमा आचार्य महाश्रमणका विदुषी शिष्या डा. चारित्र प्रज्ञाको पनि सहभागिता रहने वैदले बताए । नेपाल र भारतका विभिन्न स्थानबाट २ सय ५० जना साहित्यकारहरूको सहभागिता रहने महोत्सवमा साहित्य वाचन र अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश गरिने संयोजक गणेश लाठले बताए । सो अवसरमा साहित्य रचनाको प्रदर्शनीको पनि व्यवस्था मिलाइएको उनले बताए ।

त्यस अवसरमा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु हुने नेपाल र भारतका साहित्यकारहरूलाई सम्मानित गर्ने कार्यक्रमसमेत रहेको आयोजकले बताएको छ । महोत्सवमा नेपाल र भारतका साहित्यप्रेमीहरूबीच साहित्यका विविध विधा र अवयवका बारेमा वृहत विमर्श हुने लाठले बताए । महोत्सवबाट साहित्यिक, सांस्कृतिक र सामाजिक सहकार्य एवम् आपसी सद्भाव अभिवृद्धि हुने विश्वास आयोजकको छ ।

Back to top