×

वीरगन्ज २१ असार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध ६ वटा दल एकीकृत भएर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डल प्रणाली समाप्त हुँदैछ । राजपा गठनका बेला बनाइएको पार्टीको विधान मै अध्यक्ष मण्डल प्रणालीको व्यवस्था गरिएको थियो । तर आज बस्ने राजनीतिक समितिको बैठकले पार्टीको विधानबाट उक्त व्यवस्था हटाउँदैछ । यसअघि बसेको राजनीतिक समितिको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको प्रणाली हटाउन माग गरेको थियो । जसअनुरुप लक्ष्मणलाल कर्ण, सर्बेन्द्रनाथ शुक्ला र बृषेश चन्द्र लाल सम्मिलित विधान संशोधन समिति गठन गरिएको थियो । उक्त समितिले अध्यक्ष मण्डल रहने प्रणाली समाप्त गरी र एक अध्यक्ष हुने व्यवस्थासहितको संशोधन राजनीतिक समितिमा पेस गर्दैछ । आज अध्यक्ष अध्यक्ष मण्डलको बैठकबाट संशोधित विधानलाई पारित गरी राजनीतिक समितिको बैठकमा लग्नेछ । आज दिउँसो एक बजेपछि राजनीतिक समितिको बैठक बस्न लागेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए । यादवका अनुसार पार्टीको विधानसहित संसदीय दलको विधानसमेत पारित हुने सम्भावना रहेको छ । यसैगरी पार्टीको पहिलो महाधिवेशनको तयारीका विषयमा छलफल हुने यादवले बताए । पार्टी गठनको एक वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि तोकिएको समयमा महाधिवेशन नभई एक वर्ष ढिलो महाधिवेशनको मिति तय गरिएको छ । राजपाले हालसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन ।

Back to top