×

वीरगञ्ज, २१ असार, वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तारमा सरोकारका पक्षको गैरजिम्मेवारी र लापरवाहीका कारण अहिले सो सडकखण्डमा दैनिकजसो दुर्घटना हुने गरेको छ । औद्योगिक कोरिडोर र देशकै मुख्य नाकालाई जोड्ने मार्ग भएकाले स्वाभाविकरुपमा यहाँ सवारी र ढुवानीका साधनको आवागमन अधिक हुने गर्दछ । तर, यसको विस्तारमा सडक विभाग र निर्माणकम्पनीहङरूको लापरवाहीका कारण दुर्घटना बढिरहेको छ । यो खण्डको परवानीपुरदेखि पथलैयाखण्डमा बढी दुर्घटना देख्न सकिन्छ । यो खण्डमा सधैंजसो पल्टिएका सवारी र ढुवानीका साधन सहजै देख्न पाइन्छ । गण्डक र परवानीपुरसम्म दुईतर्फी बाइपासले जोडेकाले खासै समस्या नभए पनि परवानीपुर बाइपासदेखि पथलैयासम्मको सडकखण्ड धरापजस्तै बनेको छ । यो खण्डमा सडक विस्तारको काम व्यवस्थित हुन नसक्दा सर्वसाधारण जोखिम मोलेरै आवागमन गर्न बाध्य छन् । ६ लेनमा विस्तार गर्न लागिएको यो सडक निर्माणमा आवगनमलाई अवरोध नपुगोस भन्नका लागि कुनै प्रकारको पूर्वतयारी अपनाइएको छैन । सडक जथाभावी खनेर अस्तव्यवस्त बनाइएको छ । जथाभावी खनिएका सडकमा सवारीका साधन तँ छाड म छाड गर्दै कुदाउँदा जामको समस्या पनि बढी हुने गरेको छ । अस्तव्यस्त सडकमा जथाभावी सवारी हिड्दा जामको समस्या हुने गरेको छ । घण्टौं जाम हुँदा पनि यो खण्डमा सवारी व्यवस्थित गर्ने ट्राफिक प्रहरीको उपस्थिति कतै पनि देखिन्न । खाल्डे सडकमा प्रतिस्पर्धात्मकरुपमा दौडिने सवारी र ढुवानीका साधन पल्टिनु त सामान्य घटनाजस्तो भएको छ । बढी मालवाहक साधन पल्टिएका देखिन्छन् । बर्खामा पानी परेको बेला खाल्डोमा पानी जमेर बाटोको अन्दाज नहुँदा झन बढी दुर्घटना हुने गरेको चालकहरु बताउँछन् । यो खण्डमा आधिकांश औद्योगिक प्रतिष्ठान रहेकाले त्यस्ता प्रतिष्ठानमा पुग्न सम्पर्क सडक भए पनि सडक विस्तार योजनाले बाटो खन्दा त्यस्ता सम्पर्क सडक अवरुद्ध भएका छन् । त्यहीमाथि पेट्रोलियम पाइपलाइन विस्तारका लागि बाटो खन्ने कार्यको सकस अलग्गै छ । यो समस्याको बारेमा सरोकारका सडक विभाग, ट्राफिक प्रहरी र निर्माण कम्पनीलाई सोध्दा ती निकायका जिम्मेवार अधिकारीहरुले अरुमाथि जिम्मेवारी पन्छाउनेजस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको छन् ।

Back to top