मेयर सरावगीको करतुत ! आधा कर तिराएर नेशनल मेडिकल कलेजलाई क्लिन चिट

10449

Share
  • 2.7K
  •  
  •  
    2.7K
    Shares

वीरगञ्ज, २० असार – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले वीरगञ्जको नेशनल मेडिकल कलेजलाई उसले बुझाउनुपर्ने करमा अधाभन्दा बढी मिनाहा गरिदिएका छन् ।

स्थानीय चुनावताका वीरगञ्जको मेयरमा प्रत्यासी रहेका कलेजका प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीलाई हराउन कर बक्यौतालाई औजार बनाएका सरावगीले मेयरमा चुनिएपछि कर मिनाहा गर्नुलाई वीरगञ्जका बासिन्दाले आश्चर्यको रुपमा मात्र लिएका छैनन्, यो प्रकरणमा ठूलो आर्थिक चलखेल भएको महानगरकै कर्मचारीवृत्तमा व्यापक चर्चा छ ।

डेढ दशकदेखि सञ्चालनमा आएको मेडिकल कलेजले ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रूपैया कर नतिरेको भन्दै महानगरले विगतमा पटकपटक पत्राचार गरेकोमा मेयर सरावगीले अहिले आएर ४ करोड ९४ लाख रुपैयाँ कर तिराएर उन्मुक्ति दिएका छन् । यो रकम २ वर्ष अगाडिको हो । नियमति कर र जरीवानासमेत गरी ११ करोडभन्दा बढी हुने दाबी महानगगर राजश्व शाखा स्रोतको छ ।

महानगरको यही असार १० गतेको नगरसभाले नेशनल मेडिकल कजेलको स्वघोषणाका आधारमा सो रकम तिरे पुग्ने भनी निर्णय गरेको हो । यो निर्णय गराउन मेयर सरावगीलाई मेडिकल कलेजमा सञ्चालक अन्सारीले प्रभावमा पारेको मेयरनिकट आसेपासेहरु नै बताउँछन् ।

विगतमा कर निक्र्यौलका लागि महानगरपालिकाका कर्मचारी जान खोज्दा मेडिकल कलेजमा पस्नै नदिने अन्सारीलाई फाइदा हुने गरी उसकै घोषणाका आधारमा कर निर्धारण हुनुलाई ठूलो आर्थिक लेनदेनको उपजको रुपमा लिइएको छ । यसका लागि अघिल्लो नगरसभाले एउटा समिति बनाएर कर्मकाण्डसमेत पूरा गरिएको स्रोतले बताएको छ ।

मेडिकल कलेजको हिना मिना बारे खबर पाए लगतै यस सम्बन्धमा वीरगञ्ज महानगरपालिका मेयर सरावगी संग बुझ्न खोज्दा उनको मोबाईल नं. ९८५५०२१०८८ मा फोन गर्दा उनले सम्पर्कमा आउन चाहेनन । तत्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालाले कलेजलाई १ करोड ३५ लाख रुपैयाँ तिराएका थिए । अहिले सो रकमसहित ४ करोड ९४ लाख रुपैयाँ चुक्ता गराएर मेडिकल कलेजलाई उन्मुक्ति दिइएको छ । मेडिकल कलेजले यही असार १५ गते तोकिएको कर चुक्ता गरिसकेको महानगरको राजश्व शाखाका अधिकृत रामदयाल यादवले बताए ।

यता नेसनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले महानगरपालिकालाई बुझाइएको कर बारे के कस्तो मुल्यांकन भएको महानगरपालिकालाई नै सोध्न बताए । हामीले गरेको मुल्यांकन भन्दा महानगरपालिकाले गरेको मुल्यांकन के कति छ हेर्ने पर्ने आफ्नो धारणा राखे ।

कर चुक्ताको रकम बारे मेडिकल कलेजका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले चुनाव ताका राजिनामा दिएर चुनावमा होमिएका थिए । एक अर्काका विरोधी भएका बसरुदीन र मेयर सरावगी अहिले केहि कार्यक्रम पार्टीमा समेत संगै देखिने गरेका छन् । मेयर सरावगीले उक्त कर फर्छ्यौटमा उप-मेयर शान्ति कार्कीलाई समेत फकाएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here