×

वीरगन्ज १८ असार - वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगंज महानगरपालिकाको यस्तो हविगत निर्वाचन अघि थाहा भएको भए निर्वाचन नै नलड्ने कुरा बताएका छन् । महानगरपालिकाको मेयरमा चुनाव लड्दा गरेका वाचाहरू अहिले आएर कसरी पूरा हुन्छ भन्ने दोसाँधमा परेको बताए ।

आन्तरिक राजस्व घट्दो छ, सरकारले महानगरपालिका घोषणा मात्र गरेको छ, त्यस अनुरूप सेवासुविधा उपलब्ध गराएको छैन । वडाध्यक्षहरू र सदस्यहरूबीच तालमेल छैन । सेवा सुविधा प्रदान गरी जनताको मन जित्नेभन्दा अवसरको फाइदा उठाएर आप्mनै सेवा सुविधा हेर्ने प्रवृत्ति हावी रहेको उनले आरोप लगाएका छन् । मेयर सरावगीले वडा सदस्यहरूले सरकार र प्रदेस सरकारले व्यवस्था गरेभन्दा बढी सुविधा माग राखी नगरसभाको बन्द सत्र सञ्चालन हुन नदिएकोमा पनि आपत्ति जनाएका छन् । उनले सरकार र प्रदेश सरकारले व्यवस्था गरेभन्दा एक इन्च सेवा सुविधा नबढाउने दाबी गरे ।

मेयर सरावगीले ऐनमा पहिलोपटक डाकिएको नगरसभामा कुल सदस्य सङ्ख्याको ५१ प्रतिशत सहभागिता हुनुपर्ने दोस्रोपटक सात दिनभित्र सभा डाक्नैपर्ने र दोस्रोपटक डाकिएको नगरसभा २५ प्रतिशत सदस्यले पारित गर्दा पनि हुने व्यवस्था रहे अनुरूप असार १० गते डाकेको नगरसभा उद्घाटन सत्रपछि गणपूरक सङ्ख्या नपुगेर स्थगित गर्नुपरेकोमा असार १८ गते सोमवार डाकेको जानकारी गराएका छन् । उनले हाल महानगरपालिकामा १६० जना जनप्रतिनिधि रहेका र पहिलो नगरसभामा ४३ जनाले हस्ताक्षर गरेकोमा सोमवारको नगरसभामा सोही सङ्ख्याको उपस्थितिबाट नगरसभाको बन्द सत्र सम्पन्न हुन सक्ने बताए ।

उनले ऐनमा त्यस्तो व्यवस्था भए पनि सबैको सहयोग र सहभागितामा नगरसभा सम्पन्न गर्ने अभियानमा लागेको बताएका छन् । सकभर सबैको सहभागितामा नगरसभा सम्पन्न होस् भन्ने मेरो चाहना छ, उनले भने । मेयर सरावगीले देशभरिका जनप्रतिनिधिले सेवा र सुविधाको लागि नगरसभा बहिष्कार वा स्थगित पारेका छैनन् तर दुर्भाग्य, वीरगंज महानगरका सदस्यहरूले त्यस्तो काम गरेर देशभर महानगरपालिकालाई हँसाउने काम गरे । उनले सङ्घ सरकार र प्रदेश सरकारले उपलब्ध गराएको सेवा–सुविधाभन्दा कुनै गापा, नपा, उपमनपा र महानगरपालिकाले नबढाएको सन्दर्भमा वीरगंजले बढाउने कुरै हुँदैन र यो विषयमा कसैसँग कुनै सम्झौता गर्ने पक्षमा नरहेको प्रस्ट्याएका छन् ।

मेयर सरावगीले आन्तरिक राजस्व आव ०७३–०७४ को तुलनामा १८ करोडबाट १३ करोडमा झ¥यो । यस विषयमा कसैको चासो छैन । किन घट्यो भन्दा महानगरपालिकाका केन्द्रित सेवा सुविधा वडापालिकामा विकेन्द्रित भयो अनि वडाध्यक्षहरूले एकीकृत सम्पत्तिकर तिरे नतिरे केही नहेरेर अन्धाधुन्ध जनताको सिफारिस गरी पठाउँदा विभिन्न शीर्षकमा उठ्नुपर्ने राजस्व प्रभावित भयो र यस वर्षको आन्तरिक राजस्व खस्कियो । आगामी वर्षका लागि राजस्वको दायरा वृद्धि गरिएको छ । महानगरपालिका घोषणा भएपनि सो अनुरूपको सरकारले सेवा सुविधा दिएको छैन । महानगरपालिकाले ३२ वडामध्ये आधाबाट मात्र राजस्व सङ्कलन गर्ने हो । नयाँ थपिएका १६ वडाबाट आगामी वर्षसम्म कुनै राजस्व सङ्कलन नगर्ने पुरानो सम्झौता छ । जुन वडाले अहिले राजस्व तिर्दैनन् तिनै पिछडिएका छन् र विकास निर्माणको काम पनि त्यहीं बढी गर्नुपर्ने चुनौती छ । यो अवस्थामा राजस्व सङ्कलनको दायित्वबोध गर्ने, वडामा विकास निर्माणका कामलाई गति दिने, जनताको समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ चिन्तित हुन जनप्रतिनिधिहरूलाई कुनै चासो छैन । उनीहरूको एउटै चिन्ता र एकबद्ध भएका छन्, सेवा र सुविधा वृद्धिका लागि ।

मेयर सरावगीले सदस्यहरूको सबै खाले समस्याको समाधान गर्ने थलो नगरसभा हो भन्दै सो अवसर नगुमाउन आग्रह गरेका छन् । उनले अहिले सदस्यहरूको माग पुरा गर्दा महानगरपालिकालाई साढे तीन करोडको आर्थिक भार पर्ने बताए । आन्तरिक राजस्व वृद्धिदर घटिरहेकोमा उनीहरूको माग सान्दर्भिक पनि नभएको र बहिष्कार, स्थगनको कुराले नराम्रो सन्देश प्रवाह हुने उनले बताएका छन् । मेयर सरावगीले यावत तनावका कारण अहिले राजीनामा दिउँदिउँ भइरहेको बताएका छन् । अाजकाे प्रतीकमा समाचार छ । जनतालाई दिएको वाचा पूरा नहुने आशङ्का, त्यसमा असहयोगको राजनीति भइरहेको र कर्मचारीहरूले पनि पुरानै भ्रष्ट प्रवृत्ति त्याग्न नसकेको अवस्थाबारे अलिकता पनि सुइँको पाएको भए चुनाव नै लड्ने थिइनँ भन्दै मेयर सरावगीले जुनसुकै बेला पनि राजीनामा दिने मुड बनाएर बसेको बताएका छन् ।

Back to top