×

काठमाडौं ३ असार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुमाथि हुंदै आएको धरपकड अब नहुने बताएका छन् । सरकारले देशभरबाट निर्माण व्यवसायीलाई पक्राउ गर्न थालेपछि त्यसको विरोध गर्दै आएको नेपाल निर्माण व्यवसायी महासङ्घसँगको छलफलका क्रममा मन्त्री महासेठले व्यवसायीलाई पक्राउ नगरिने बताएका हुन् ।

गृह मन्त्रालयले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही र पक्राउ गर्न भन्दै सबै जिल्ला प्रशासनलाई परिपत्र गरेर निर्माण व्यवसायीको सूची पठाउन र पक्राउ गर्न थालेपछि त्यसको महासङ्घले बिरोध गर्दै आएको थियो । मन्त्री महासेठ अध्यक्ष रहेको निर्माण व्यवसाय विकास परिषद्को बैठकमा आइतवार बोल्दै उनले अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेको महासङ्घले बताएको छ । मन्त्री महासेठले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने जानकारी दिएका छन् ।

सोही बैठकमा महासङ्घ प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्नसमेत आग्रह गरेका छन् । निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष नभएको भन्दै उनले व्यवसायीलाई धरपकड नगरिने जानकारी दिए । “कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण कार्य ढिलो भएका छन्, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन” मन्त्री महासेठले भने । कहीँ कतै निर्माण कार्यमा कमजोरी देखिए त्यसमा व्यवसायी मात्र नभएर प्राविधिक पनि दोषी ठहरिने मन्त्री महासेठको भनाइ थियो । निर्माण कार्यलाई छिटो छरितो बनाउन साइट क्लियरेन्स नगरी टेण्डर आह्वान नगर्न आफूले सडक विभागलाई निर्देशन दिइसकेको मन्त्री महासेठले बताएका छन् । उनले आयोजना डिजाइनको काम पनि सरकार आफैंले गर्ने बताएका छन् ।

निर्माण व्यवसायी र नेपाल सरकारको सम्बन्ध नङ–मासुको जस्तै हुनुपर्ने भन्दै मन्त्री महासेठले मुलुक निर्माणका लागि सबैले इमानदारी पूर्वक काम गर्नुपर्ने बताएका छन् । ‘ए’ क्लासका कन्ट्रयाक्टर देश विकासका लागि मेरुदण्ड भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले सबै निर्माण व्यवसायीलाई स्थापित गर्न चाहेको बताए । तर, जानी जानी गलत काम गर्ने कसैलाई नछाडिने उनको भनाई छ । “गलत काम गर्ने व्यवसायी हुन् या प्राविधिक, कसैलाई छाडिँदैन” मन्त्री महासेठले भने ।

यस्तै व्यवसायीहरुको आफ्नो ठूलो रकम भुक्तानी रोकिएको सन्दर्भमा मन्त्री महासेठले यसको पनि समस्या समाधानको पहल भइरहेको जानकारी दिएका छन् ।

धरपकड रोक्न प्रमलाई ज्ञापन पत्र पठाईयो

यसैबीच देशभरका निर्माण व्यवसायीहरुमाथि भइरहेको धरपकडको विरोध गर्दै व्यवसायीका विविध समस्या (चन्दा आतंक, असुरक्षा, सरकारी निकायबीचको समन्वय अभाव, निरन्तरको महङ्गी, निर्माण सामग्रीको अभाव) बारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन आइतवार विहान ७७ जिल्लाका निर्माण व्यवसायी सङ्घले जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

साथै सातै प्रदेशका प्रदेश महासङ्घले पनि आइतवारै मुख्यमन्त्री मार्फत् प्रधानमन्त्री ओलीलाई सोही बेहोराको ज्ञापनपत्र बुझाएको महासङ्घले बताएको छ । सभार -अभियान

Back to top