×

वीरगन्ज १ असार पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा एक महिला र उनकी तीन महिने छोरी सँगै जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएका आमा छोरी दुवैको अवस्था गम्भीर रहेको छ । स्थानीयले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको भएपनि उपचार हुन नसकेपछि दुवै आमा छोरीको काठमाडौंको कीर्तिपूरमास्थित बर्निङ सेन्टरमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छन । सन्जु देवीको घाटीमा धारिलो वस्तुले काटेको घाउ देखिनुका साथै उनको छाति, गाला र दुवै हातमा आगोले पोलेको छ । उनकी छोरीको पनि घाटीमा ब्लेडले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ । आमाभन्दा छोरीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए । घाइते सन्जु देवीले घरायसी विवादको विषयलाई लिएर ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी छिन् । तर सन्जु देवीका सासू ससुरा र देवरले भने सन्जु देवी आफैले छोरी र आफनो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको बताएका छन् । सन्जु देवीले जीउमा आगो लगाउनुभन्दा पहिले छोरीको घाँटीमा ब्लेडले काटेर घाउ पनि बनाएको ससुरा लक्ष्मीप्रसाद साहले बताए । घरायसी झगडा भएपछि त्यसैको आक्रोशमा सन्जु देवीले दूधे छोरीसहित आत्महत्याको प्रयास गरेको ससुरा लक्ष्मी साहले बताएका छन् । प्रहरीले अनुसन्धानका लागि सन्जु देवीका ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । आमा र छोरीको जीउमा धारिलो हातियारले काट्ने र आगो लगाउने काम कस्ले र्गयो, त्यो अहिलेसम्म खुलेको छैन, प्रहरी नायव उपरीक्षक लिम्बूले भने ।

Back to top