आइसिपीका कारण थप समस्या बढेको गुनासो – ओमप्रकाश शर्मा

63

Share
  •  
  •  
  •  

वीरगंज, ३१ जेठ कोलकातास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालय र वीरगंज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सम्पन्न नेपाल पारवाहन सम्बन्धी अन्तक्र्रियाका वक्ताहरूले हालै सञ्चालनमा आएको आइसिपीका कारण थप समस्या बढेको गुनासो गरेका छन् ।  कार्यक्रमका अध्यक्ष वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आइसिपीको सञ्चालनपछि सवारी जाम बढेको बताए । उनले अहिले सुगौलीसम्म सवारीका साधनहरूको जाम लाग्ने गरेको बताए । अध्यक्ष शर्माले आइसिपीको सुरक्षामा तैनाथ भारतीय सुरक्षाकर्मीहरूको रवैया मैत्रीपूर्ण नभएको गुनासो गरे । उनले सुरक्षाकर्मीहरूको अनावश्यक हस्तक्षेपकारी भूमिकाले क्लियरिङ्ग एजेन्ट र भारतबाट आउने चालकहरू आउन नमान्ने दुःखेसो पोखे । अध्यक्ष शर्माले नेपाली व्यावसायीहरूले आइसिपीको सञ्चालनपछि राहत पाउनुको साटो उल्टो समस्यामा पर्न थालेको बताए । आइसिपी सञ्चालनताका जति उत्साही व्यवसायीहरू भएका थिए, त्यत्तिकै अहिले निराश भएको बताए । अर्का वक्ता पूर्व अध्यक्ष अशोक वैदले आइसिपीको व्यवस्थापकीय कमजोरीका कारण व्यवसायीहरूले अनावश्यक विलम्ब शुल्क तिर्नुपरिरहेको तर्फ ध्यानाकर्षण गराएका थिए । उनले कोलकाता पोर्टमा तेस्रो मुलुकबाट आउने  कन्टेनरहरू चेकजाँच भएर शिलबन्दी आउँदा पुनः आइपिसी र भंसारहरूमा चेकजाँच गरिंदा व्यापारीहरूलाई आर्थिक भार र समयको हानिनोक्सानी भइरहेको बताए । उनले कोलकातामा चेकजाँच भएका कन्टेनरहरू दोहोरो चेकको व्यवस्था हटाउन अथवा कोलकातामा चेकजाँच नगरी सीधा वीरगंजमा चेकजाँच गर्ने व्यवस्थाका लागि भारतीय पक्षसँग संवाद गर्न सुझाव दिए । अन्तक्र्रियामा अर्का पूर्व अध्यक्ष प्रदीप केडिया, उपाध्यक्ष सुबोध गुप्ताले पनि कोलकाता बन्दरगाहमा नेपाली व्यापारीहरूको लाखौं लाख रकम क्लियरिङ्ग एजेन्टहरूले अनधिकृतरूपमा लिने गरेको, आइसिपीको सञ्चालन पनि ४० प्रतिशत आर्थिकभार कम हुने प्रचार गरिएकोमा उल्टो व्यापारीहरूले थप आर्थिक भार बेहोर्न परेको जस्ता गुनासो गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here