राजपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले गरे खतरनाक ‘सहमति’, जुन देउवाले मानेका थिएनन्

405

Share
  •  
  •  
  •  

वीरगन्ज ३० जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन गम्भीर कदम चालेका छन्। ओलीले टीकापुर घटनामा मुख्य योजनाकार रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ खुवाउने तयारी गरेर राजपालाई सरकारमा ल्याउने कसरत थालेका हुन्।

बालुवाटार निकट उच्च स्रोतका अनुसार संविधान संशोधन मुद्दासहित संघीय समाजवादी फोरम सरकारमा सहभागी भइसकेको र राजपाले ‘रेशम चौधरीको सपथ गराइदिनुस हामी सरकारमा आउँछौं’ भनेकाले ओलीले राजपालाई सरकारमा ल्याउन चौधरीको सपथको तयारी थालेका हुन्। उनले चौधरीको सपथको वातावरण बनाइदिने भनेर राजपाका नेतासँग आन्तरिक सहमति समेत गरिसकेका छन्। चौधरीको सपथ सुनिश्चित गराउन पनि ओलीको दल नेकपा फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने अडानबाट पछि हटेको थियो। निलम्बन शब्द हटाएर संसद नियमावली गर्न ओली तयार भएका थिए।

रेशम चौधरी टीकापुरमा २ वर्षअघि नेपाल प्रहरीका एसएसपी र नाबालकसहित ७ जनाको हत्या गरिएको घटनाका मुख्य योजनाकार हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट उनी राजपाको उम्मेदवार भई अत्यधिक मतले विजयी भएका थिए। विजय भएपछि दुई वर्षदेखि फरार उनले अदालतमा आत्मसमर्पण गरेका थिए। उनी अहिले जेलमा छन्।

टीकापुर घटनाका पीडित परिवारले चौधरीलाई उन्मुक्ति नदिन बारम्बार अनुरोध गर्दै आएका छन्। आफ्नो आशुमा राजनीतिक नगर्न उनीहरुले आग्रह गर्दै हत्यारालाई कारवाही गरी न्याय दिन माग गर्दै आएका छन्। पीडित परिवारको न्याय याचनापछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई सपथ गराएका थिएनन्। चौधरी निर्वाचित हुँदा देउवा प्रधानमन्त्री थिए। एकै ठाउँका (सुदूरपश्चिम) भएपनि उनले सपथ गराएनन्। तर, देउवालाई विस्थापित गर्दै प्रधानमन्त्ती बनेका ओलीले बहुमतको सरकार हुँदाहुँदै राजपालाई सरकारमा सहभागी गराउन हत्या जस्तो जघन्य अपराधका मुख्य योजनाकारलाई सपथ दिलाएर पुरस्कार दिने प्रपञ्चमा लागेका छन्।

चौधरीको सपथ हुनेवित्तिकै सरकारमा जान्छौं : राजपा

यता राजपाका महासचिव केशव झाले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने उनले जिकिर गरे। नेता झाले यही आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथ ग्रहण भए त्यसको एक–दुई दिनभित्रै पार्टी सरकारमा जाने दोहोर्याए।

‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरुले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ, म फेरि पनि दोहोर्याएर भन्छु हाम्रो पार्टीका सांसद रेशम चौधरीको सपथको वातावरण बन्यो र संविधान संशोधनमा सहमति भयो भने हामी सरकारमा जान्छौं’, उनले स्पष्ट पारे।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here