×

वीरगन्ज, ३० जेठ अरुको ब्राण्डको नक्कल गरिएको सामान बेचेको आरोपमा वीरगञ्जका व्यवसायी अनोज रुङ्गटालाई प्रहरीले पक्राउ गरेको छ । रुङ्गटाले अरु कम्पनीको नक्कली रेती (धार लगाउने औजार)बिक्री गरेको उजुरीका आधारमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजन लिम्बुले रुङ्गटालाई अनुसन्धानका लागि ल्याइएको बताए । भारतको जेके फाइल इण्डष्ट्रिजले उत्पादन गरेका रेती बेचेको उजुरी परेको प्रहरीको भनाइ छ । कम्पनीका प्रतिनिधि सतीश शर्माले उजुरी दिएका थिए ।

उत्पादक कम्पनीले उजुरी दिएपछि रुङ्गटाको व्यवसायस्थलमा चेकजाँच गर्दा उजुरीकर्ताको दाबी अनुसारको सामान भेटिएपछि उनलाई सोधपुछका लागि ल्याइएको लिम्बुले बताए । प्रहरीले ३ सय प्याकेटभन्दा बढी रेती बरामद भएको जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

पक्राउ परेका रुङ्गटा पहिलादेखि नै विवादास्पद व्यापारीका रुपमा चिनिन्छन् । रुङ्गटालाई छुटाउन रानीतिक दबाब आइरहेको प्रहरी स्रोतको दाबी छ । उनी नेपाली कांग्रेसबाट पूर्वसांसद बनेका अनिल रुङ्गटाका भाई हुन् । रुङ्गटाको भनसुनमा कांग्रेसको उच्च नेतृत्वबाट दबाब आएको प्रहरी स्रोतले बतायो ।

Back to top