×

वीरगन्ज २८ जेठ वीरगंज महानगरभित्र पर्ने गण्डक नहर क्षेत्र पहिलेभन्दा हाल औद्योगिक क्षेत्रको रूपमा विकास बडी भएको छ । परसौनी, भवानीपुर, लिपनीबिर्ता मनियारी, उदयपुरघुर्मी पर्ने गण्डक नहरको करिब ११ किलोमिटर कालोपत्रे गर्नुपर्ने वीरगजका उद्योगीहरूले मेयर संग माग गरेका छन् । बहुअरी, गण्डकचोकदेखि दरदरवा नजिक तिलावे पुलसम्म महानगरभित्र पर्ने भएकोले महानगरले उक्त सडकको मरम्मत वा स्तरोन्नति गरी कालोपत्रे गर्नुपर्ने माग गरिएको छ । पहिले यो सडकमा ग्राभेल गरी बाटो बनाउने काम जिल्ला विकास समितिले गथ्र्यो, आजभोलि उक्त काम बन्द छ ।

जिल्ला समन्वय समितिसँग ठूलो बजेट नभएर बाटोको मरम्मत वा पिचको लागि कुनै योजना अघि सार्न सकेको छैन । यस्तै अस्ति महानगरले शुरु गरेको ५२ किलोमिटर पिच सडकको योजनामा पनि यो सडकलाई समावेश नगरिएकोले करिब एक दर्जन उद्योगहरू मर्कामा परेका छन् । यता यो सडकको दुरवस्थाका कारण गण्डक नहरको बाटो भएर जानकीटोला, ठोरीसम्म आवतजावत गर्ने यात्रुदेखि सर्वसाधारण सास्ती भोग्छन् । वर्षात्को बेला छ, झनै कठिनाई भोग्नुपर्ने बाध्यता हुन्छ–विश्वकर्मा सिमेन्टका एकजना कर्मचारीले बताए ।

वीरगंज क्षेत्रमा पर्ने सडक वीरगंजले बनाओस्, अन्य स्थानीय तहको भागमा परेको सडक अन्यले बनाउनेछन्–व्यवसायीको माग छ । गण्डक चोकदेखि जगरनाथपुरसम्म सुपर ग्याँस प्रालि, विश्वकर्मा सिमेन्ट, कलश सिमेन्ट, प्रोबायोटेक, ओम सिमेन्ट, दराज कारखाना, मोबिल कारखानालगायत करिब एक दर्जन उद्योग सञ्चालनमा छन् । उद्योगसम्म पुग्ने स्तरीय बाटो नभएर कच्चा पदार्थ तथा उत्पादन लिएर निस्कने गाडीहरू खाल्डोमा फसेर ठूलो नोकसानी बेहोर्नुपर्छ । सरकारले उद्योग लगाएबापत अनेकौं कर लिन्छ तर सडक बनाउँदैन । त्यसैले महानगर र मेयर साहेबसँग आग्रह गरिएको उद्यागीहरूले बताए ।

Back to top