×

वीरगन्ज २८ जेठ विगत दुई महिना देखि मिर्गौला, श्वासप्रश्वास र प्यानक्रियाजको समस्याबाट पीडित नेपाल तरुण दल पर्सा जिल्लाका अध्यक्ष ४२ वर्षीय वीरेन्द्र पटेलको आइतबार बिहान उपचारका क्रममा राजधानीको ग्राण्डी अस्पतालमा असमायिक निधन भएको छ। उनको निधनले यति बेला नेपाली कांग्रेस र नेपाल तरुण दललाई शोक स्तब्ध बनाएको छ । लामो समय देखि नेपाल तरुण दल र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनको निधन प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्नुभएको छ । यस्तै उहाले आज नै शोक विज्ञप्ति जारी गर्दै अध्यक्ष पटेलको निधनबाट भातृ संस्था तरुण दल र कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख समेत उल्लेख गर्नुभएको छ । स्व। अध्यक्ष पटेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज अपराह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ना लागि नेपाली कांग्रेस पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, एनपी साउद लगायत केन्द्रीय सदस्यको साथमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही लगायतका नेताहरु त्यहाँ पुग्नु भएको थियो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अध्यक्ष पटेललाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि पार्टी र नेपाल तरुण दलका नेता एवं कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो। पटेलको अन्त्येष्टिका लागि उनको पार्थिव शरीर आइतबार नै वीरगञ्ज लगिएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले अध्यक्ष पटेलको निधनले सारा नेपाल तरुण दल नै ठुलो क्षेति पुगेको बताउनुभएको छ । यस्तै उहाले नेपाली कांग्रेस र नेपाल तरुण दलले ठुलो सम्पति गुमाएको समेत बताउनुभएको छ । त्यसै गरि अध्यक्ष पटेलको निधनमा दुःख व्यक्त गर्दै आइतबारबाट ३ दिनसम्म देशभरिका तरुण दलका कार्यालयहरू बन्द गर्ने साथै झण्डा आधा झुकाउने निर्णय भएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले जानकारी दिनुभएको छ ।

Back to top