×

वीरगंज, जेष्ठ ११ - वीरगंज भन्सारबाट चार पांग्रे सवारी साधनको आयात बढेको छ । पछिल्लो दश दिनको अवधिमा वीरगंज भन्सार हुँदै ६ सय ३३ वटा साना चार पाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएका छन् ।

नयाँ बजेट घोषणा पछि अन्त:शुल्क परिवर्तन हुने अनुमान गर्दै व्यवसायीहरुले सीमामै थन्क्याएर राखेका चार पाङ्ग्रे गाडि धमाधाम आयात गर्न थालेका हुन् । बजेटमार्फत सवारी साधनको अन्तःशुल्क परिवर्तन हुने अनुमानका आधारमा व्यवसायीले आयात बढाएको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताए । 'बजेट आउने दिन नजिकिँदै गर्दा अनुमानका आधारमा गाडी भित्र्याउने पहिलेदेखिकै चलन हो, अहिले पनि त्यही भइरहेको छ' पोखरेलले भने।

वैशाख अन्तिम सातादेखि नै सवारी साधनको आयात बढ्न थालेको उनले बताए । साना सवारीका अतिरिक्त मोटरसाइकल र अन्य ठूला सवारीसाधन पनि जेठ १५ अघि नै भन्सार 'क्लियर' गर्ने हतारोमा आयातकर्ता लागेका छन् ।

बजेट आउन चार दिनमात्रै बाँकी रहँदा सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्कको दर परिवर्तन हुने सूचना अर्थमन्त्रालयबाट चुहिएको भन्दै व्यवसायीले गाडी आयात बढाएका हुन् । अन्तःशुल्क बढे त्यसले सवारी साधनको मूल्य बढाउने भएकाले बजेट अगावै सामान भित्र्याउने क्रम बढेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट निर्वाचनको समयमा ल्याएकोले राजस्वका दरमा हेरफेर गर्न पाएन । निर्वाचन आचारसंहिता लागू भएकाले नयाँ कार्यक्रम थपिएको थिएन भने करको दर पनि परिवर्तन भएको थिएन । 'गत वर्ष आयातमा खासै फरक देखिएको थिएन, यो वर्ष धेरै नै बढेको छ' पोखरेलले भने ।

Back to top