×

वीरगंज,जेठ,९ ।कालिकामाई गापा–२ अन्तर्गतको स्वास्थ्य चौकी भेडिहारीको अवस्था दयनीय भएको छ ।

स्वास्थ्य चौकीमा कर्मचारी बस्ने फर्निचर, बिरामीको उपचार गर्ने ठाउँ समेत छैन । अस्पतालमा अहेब तीनजना, अनमी दुईजनाको दरबन्दी भएको र काम गर्नका लागि एउटा मात्र भाँचिएको टेबुल छ । अस्पतालमा पुग्दा कर्मचारीहरू बेन्चमैं बसेर काम गरिरहेका देखिन्छ । अस्पतालमा दुईवटा मात्र कोठा छ जसमध्ये एउटा ओपिडी सेवा र अर्कोमा प्रशासन शाखा छ ।

भाँचेको टेबल ओपिडी सेवाको लागि प्रयोग हँुदैछ भने नजिकै रहेको वडा कार्यालयबाट कुर्सी ल्याएर प्रयोग गरिएको स्वास्थ्य चौकी इन्चार्ज अश्वेश्वर महतोले बताउँनु भयो । अस्पतालको अवस्थाबारे पटक–पटक वडा र गाउँपालिकालाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको वहाले बताउँनु भयो । कम्तिमा दुईवटा टेबुल र १२ वटा कुर्सी भइदिएको भए अस्पताल सञ्चालनमा सजिलो हुने महतोले जानकारी गराउँनु भयो । वहाँले पानी खाने फिल्टर, एमसी चेक गर्ने ठाउँ नरहेकोले समस्या भएको बताउँनु भयो ।

Back to top