मोदीको ‘फाइभ–टी’ सूत्रबाट नेपालले कसरी फाइदा लिने

203

Share
  •  
  •  
  •  

वीरगन्ज ३० बैसाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भम्रणका क्रममा नेपालको विकासको नयाँ सूत्र ‘फाइभ–टी’ भएको बताएका छन् । मोदीले ‘फाइभ–टी’ अर्थात् ट्रेडिसन (परम्परा), ट्रेड (व्यापार), टुरिजम (पर्यटन), ट्रान्सपोर्ट (यातायात) र टेक्नोलोजी (प्रविधि) मार्फत नेपालले विकास गर्न सक्ने र भारतले यसमा सघाउने बताए ।

नेपालको विकासमा मोदीको नयाँ सूत्र ‘फाइभ–टी’अनुसार नेपालले के लाभ लिन सक्छ ? अथवा भारतले कसरी मद्दत गर्न सक्छ ? भन्ने विषयमा सरोकारवालाको धारणा :

धार्मिक पर्यटनमार्फत विकासमा साझेदारी

नेपाल भारतको धार्मिक, सांस्कृति तथा परम्परागत सम्बन्ध निकै बलियो छ । दुवै देशका संस्कार तथा परम्परा उस्तै–उस्तै छन् । मोदीजीले दिनुभएको ‘फाइभ–टी’ सूत्रमा समेटिएको ट्रेडिसन (परम्परा) भनेको यही सम्बन्धलाई थप नयाँ उचाइमा लगेर दुवै मुलुकको विकास गर्नु नै हो ।

अशोक वैद्य अध्यक्ष, नेपाल भारत मैत्री संघ

अहिले नेपाल–भारतबीच रामायण सर्किट, बुद्ध सर्किट र जैन सर्किटको कुरा आएको छ । यसले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा लानेछ ।

यसबाट पर्यटक आवगमनमा महत्वपूर्ण योगदान मिल्नेछ । एक–आपसका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परा जगेर्ना गर्दै त्यसका माध्यमबाट मुलुकको विकास गर्न सकिन्छ ।

मोदीजीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गरेर त्यसको प्रचारप्रसारमा अतुलनीय योगदान दिनुभएको छ ।

यसले दुवै ऐतिहासिक सम्पदामा पर्यटक उच्च दरमा बढ्ने निश्चित छ । हिन्दू धर्ममा चार धामको भ्रमण गर्नुपर्ने मान्यता छ ।

यदि चार धाम जान नसकिए मुक्तिनाथ मात्रै गए पनि पूरा हुने भनाइ छ । मोदीको भ्रमणले मुक्तिनाथ र जनकपुर विश्व मानचित्रमा परेका छन् । दुवै सम्पदामा अब भारतीय तथा अन्य मुलुकका पर्यटक बढ्नेछन् । खासगरी भारतको दक्षिण क्षेत्रमा नागरिकको उपस्थिति अझ बाक्लिनेछ ।

व्यापार घाटा घटाउन भारतले सहयोग गर्नुपर्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल विकासको नयाँ सूत्र ‘फाइभ–टी’ भित्र टेड (व्यापार) पनि समावेश छ । यसअनुसार व्यापारमार्फत नेपालको विकासमा भारतले सहयोग पु-याउने मोदीले प्रतिबद्धता जनाउनुभएको हो ।

खासमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणमा पनि नेपाल–भारतको व्यापार सहजीकरण, नेपालको व्यापार घाटा न्यूनीकरणलगायत थुप्रै विषयमा समझदारी तथा सम्झौता भएका छन् ।

रवि सैंजू सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

त्यस्तै, काठमाडौंमा सम्पन्न वाणिज्य सचिवस्तरको आइजिसी बैठकले दुई देशबीचको वाणिज्य सन्धि, पारवहन सन्धि र रेलसेवा सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

मोदीले पनि सन्धि–सम्झौता पुनरावलोकन गर्ने घोषणा गरिसकेका छन् । यसले पक्कै पनि आगामी दिनमा नेपाल–भारत व्यापार नयाँ बाटो पहिल्याउने नै छ ।

जहाँसम्म नेपाल विकासमा व्यापारका माध्यमबाट सघाउने मोदीको घोषणा छ, त्यसका लागि भारतले हाम्रो व्यापार घाटा न्यूनीकरणमा सहयोग गरे सबैभन्दा राम्रो हो ।

त्यसका अलावा निर्यात सहजीकरण, पूर्वाधार निर्माण तथा बजार पहुँचमा पनि भारतले सहयोग गर्नुपर्छ । आइजिसी मिटिङमा भएको सहमतिअनुसार वाणिज्य सन्धि, पारवहन सन्धि र रेलसेवा सम्झौता पुनरावलोकन भएमा यस्ता सबै विषय समेट्न सकिन्छ ।

भारत हाम्रो छिमेकी मुलुक मात्रै नभई सबैभन्दा ठूलो व्यापार साझेदार पनि हो । ठूलो व्यापार साझेदारले दुवै मुलुकलाई फाइदा हुने गरी व्यापार गर्ने प्रतिबद्धता जनाउनु पनि ठूलो उपलब्धि हो । अब यसको कार्यान्वयनको पक्ष महत्वपूर्ण हुन्छ ।

सकारात्मक प्रचारले भारतीय पर्यटक बढ्ने देखिन्छ

भारतीय प्रधानमन्त्रीको यस भ्रमणका अवसरमा सायद पहिलोपटक भारतीय सञ्चार माध्यमबाट सबैभन्दा बढी नेपालबारे सकारात्मक कभरेज भइरहेको छ । यो कभरेज नेपालले ठूलो मूल्य तिर्दा पनि पाउने अवस्था थिएन ।

प्रधानमन्त्रीले यस भ्रमणमा नेपालका तीनवटा महत्वपूर्ण धार्मिक क्षेत्र (जनकपुर, पशुपतिनाथ र मुक्तिनाथ)को भ्रमण गर्नुभयो । यी स्थान नेपालको तराई, पहाड र हिमालमा अवस्थित छन् । त्यसकारण यो भ्रमणबाट नेपालको तीनवटै भूगोलमा रहेका धार्मिक गन्तव्यको निकै ठूलो प्रचार भएको छ ।

दीपकराज जोशी प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

भारतीय प्रधानमन्त्री सामाजिक सञ्जालमा पनि निकै सक्रिय हुनुहुन्छ । भारतमा रहेका हिन्दू समुदायका मानिसलाई नेपालका यी धार्मिक गन्तव्यबारे केही न केही थाहा छ ।

तर, भारतीय प्रधानमन्त्रीको यस भ्रमणले नेपालबारे कम चासो राख्ने मानिस र कर्पोरेट हाउसका मानिससम्मको ध्यानाकर्षण गराएको छ ।

किनकि भारतीय प्रधानमन्त्रीलाई भारतका ठुल्ठूला कर्पोरेट हाउसका मानिसले पछ्याउने गर्छन् । धुमधाममा निस्कने ठूलो जमात पनि कर्पोरेट हाउसबाटै हुन्छन् ।

यो नेपालका लागि ठूलो अवसर हो । नेपालको पर्यटकीय पहिचान अहिलेसम्म साहसिक गन्तव्यका रूपमा अधिक छ । भारतीय प्रधानमन्त्रीको धार्मिक यात्राले अब खर्चालु धार्मिक पर्यटकको आवागमन बढाउने अपेक्षा छ ।

यो अवसरलाई सकारात्मक परिणाममा बदल्न हामीले पनि प्रयास गर्नुपर्छ । नेपाल पर्यटन बोर्डले भारतीय प्रधानमन्त्रीको धार्मिक यात्राको श्रव्यदृश्य सामग्री समेटेर एउटा प्रवद्र्धनात्मक सामग्री बनाउने योजना बनाएको छ । यसलाई भारतमा हुने विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममा प्रस्तुत गर्छौं ।

रेलवे र कनेक्टिभिटीमा भारतीय सहयोग महत्वपूर्ण हुन सक्छ

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पछिल्लो नेपाल भ्रमणमा नेपाल विकासका लागि परम्परा, व्यापार, पर्यटन, प्रविधि र यातायातमा सहयोग गर्ने घोषणा गरेका छन् । यसअघि पनि यी सबै क्षेत्रमा भारतीय सहयोग हुँदै आएको छ ।

तुलसी सिटौला पूर्वसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

खासगरी यातायातमा पनि भारतको सहयोग पहिल्यैदेखि थियो, अहिले पनि छ । भारतले थुप्रै राजमार्ग निर्माणमा सहयोग गरेको छ । अहिले पनि सडक स्तरोन्नति, हुलाकी राजमार्ग निर्माण तथा कनेक्टिभिटीमा पनि भारतले सहयोग गरिरहेको छ ।

हुलाकी सडकमा अलि बढी अलमल भएको देखिन्छ । मोदीको घोषणाले यस क्षेत्रमा अझै सहयोग आउने अपेक्षा गर्न सकिन्छ ।

अब खासगरी नेपाल–भारतबीच रेलवे निर्माण, बंगलादेशसँगको सीधा पहुँच र व्यापारिक सडक निर्माणमा भारतीय सहयोग लिन हामीले जोड दिनुपर्छ । बंगलादेशसँगको पहुँच पनि उपलब्ध छ तर त्यहाँ धेरै प्रतिबन्ध छन् ।

त्यसलाई खुलाउँदै सहज रूपमा बंगलादेशसम्म पहुँच पाउनुपर्छ । भारतले यसतर्फ ध्यान दिन आवश्यक छ । यसअघि घोषणा भइसकेका र हालै घोषणा भएका रेलवे निर्माणका लागि हामीले आफ्नो ठाउँबाट जोडबल लगाउनुपर्छ ।

आइसिटी क्षेत्रको जनशक्ति उत्पादन र अनुसन्धानमा भारतले सघाउन सक्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो सूत्र ‘हिट’मा पनि आइसिटी अटाएको थियो । अहिलेको विश्वको विकासको माध्यम वा समृद्धिको आधार भनेकै आइसिटी हो । यसर्थ, मोदीको सूत्र ठीक छ, अझ आइसिटीमा सघाउने उद्घोष स्वागतयोग्य छ ।

विनोद ढकाल सभापति, आइसिटी समिति, नेपाल उद्योग वाणिज्य महासंघ

अब उहाँहरूले राजनीतिक तहबाट घोषणा गरेको विषयलाई दुवै मुलुकका कर्मचारी र निजी क्षेत्रले कार्यान्वयनको पाटोमा लैजाने हो ।

सबैभन्दा पहिला भारतले हाम्रो आइसिटी क्षेत्रमा जनशक्ति विकासका लागि सहयोग गर्नुपर्छ । दुवै मुलुकबीच ज्ञान र सीप आदान–प्रदान हुनुपर्छ । हामीले भारतबाट सफ्टवेयरमा धेरै लाभ लिन सक्छौँ ।

यस क्षेत्रमा सहकार्य आवश्यक छ । हाम्रो बैंकिङ, कर्पोरेट हाउसलगायत थुप्रै क्षेत्रमा भारतीय सफ्टवेयर बढी प्रयोग हुन्छन् । कतिपय अवस्थामा ती सफ्टवेयर महँगा पनि छन् ।

नेपालमै यस्ता सफ्टवेयरको विकासमा भारतले मद्दत गर्न सक्छ । मुलुकको समग्र आइसिटी क्षेत्रको अनुसन्धान र विकासमा (आर एन्ड डी)मा पनि भारतले सहयोग गर्न सक्छ ।

हामीले आइटी पार्क निर्माण गरेर पनि सञ्चालन गर्न सकेका छैनौँ । तर, भारतमा बैंगलोर, हैदरावादजस्ता सहर नै आइटीका हब बनिसकेका छन् । आइटी पार्क सञ्चालन तथा आइटी हब निर्माणमा पनि हामीले भारतबाट सिक्न सक्छौँ । भारतले सार्क स्याटेलाइट लञ्च गरेको छ ।

त्यसमा हामीलाई पनि उपयोग गर्न दिने भनेका छन् । यस्ता थुप्रै क्षेत्रमा हामीले भारतबाट सहयोग लिन अथवा भारतसँग सहकार्य गर्न सक्छौँ । त्यसका लागि अब हामीले के–कस्ता क्षेत्रमा कसरी लाभ लिने भनेर दुई मुलुकबीच छुट्टै छलफल आवश्यक छ । सभार नयाँ पत्रिका


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here