×

वीरगंज,वैशाख, २४

भारतबाट आयातित एक कन्टेनर मासु र माछा वीरगन्ज भन्सार कार्यालयले बरामद गरी नष्ट गरेको छ। कोलकाताबाट वीरगन्ज नाका हुँदै भित्र्याउन लागिएको अवस्थामा भन्सार कार्यालयले खान अयोग्य ठहर्‍याएको खसी र राँगाको तयारी मासु तथा माछा बरामद गरी आइतबार नष्ट गरेको हो।

कोलकातास्थित बीएन इन्टरप्राइजेजबाट काठमाडौंको मेट्को फुडले खरिद गरेको मासु र माछासहितको एचआर ६९ सी ६२२० नम्बरको कन्टेनर वैशाख १५ गते भन्सार कार्यालयमा आइपुगेको थियो।कन्टेनरमा रहेका मासु र माछाको गुणस्तर परीक्षण गर्न भन्सारले पशु क्वारेन्टाइन कार्यालय वीरगन्जमा पठाएको थियो। राँगाको मासु ७० क्विन्टल, खसीको मासु १२ क्विन्टल, माछा ३१ क्विन्टल ६ सय ४३ कार्टुनमा प्याक गरिएको २२ लाख ५९ हजार २ सय ४० रुपैयाँ मूल्य बराबरको रहेको जनाइएको छ ।

पशु क्वारेन्टाइन कार्यालयले कन्टेनरमा रहेका मासु र माछा खानयोग्य नरहेको प्रमाणित गरेपछि आइतबार साँझ वीरगन्ज भन्सार कार्यालयको यार्डमै खाल्डो खनेर पुरिएको भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

‘विदेशबाट आयात हुने मासु, माछाको गुणस्तर चेकजाँच गर्न क्वारेन्टाइन कार्यालयमा पठाउने गरिन्छ’, उनले भने, ‘अहिले बरामद भएको मासु र माछा पनि हामीले चेकजाँच गर्न क्वारेन्टाइनमा पठाएका थियौं। क्वारेन्टाइनले उक्त मासु र माछा खान अयोग्य रहेको प्रमाणित गरेपछि आइतबार नष्ट गरिएको हो ।’

पशु क्वारेन्टाइन वीरगन्जका प्रमुख हरेराम यादवका अनुसार भन्सार कार्यालयले परीक्षणका लागि पठाएको मासु र माछा आयातकर्ता मेट्को फुडका प्रतिनिधिसँग ओरिजन सर्टिफिकेट र अन्तर्राष्ट्रिय सेनिटोरी सर्टिफिकेट मागिएको थियो। आयातकर्ताका प्रतिनिधि श्याम कार्कीले दुवै कागजात उपलब्ध गराउन नसक्ने लिखित जवाफ दिएपछि मासु र माछा खान अयोग्य रहेको प्रमाणित गरिएको उनले सुनाए।

Back to top