×

काठमाडौँ, वैशाख २१ - सुन तस्कर ‘गोरे’ भनिने चुडामणि उप्रेती र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलबीच भएको ‘दुई करोड’ लिनेदिने सहमति असल उद्देश्यको लागि नभएको पाईएको छ ।

बुधबार जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालमा पेश गरेको अभियोग पत्रकाअनुसार पैसा लिएर अपराधी भगाउनकै लागि बालकृष्ण सञ्जेल र डिएसपी प्रजित केसीले मोटो रकम बार्गेनिङ गरेका थिए ।

त्यसरी रकम बार्गेनिङ भएकोबारे जानकार तत्कालिन अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहनीले पनि सुन तस्कर ‘गोरे’ लाई भगाउन भूमिका खेलेको भन्दै सरकारी वकिल कार्यालयले लोहनी र केसीलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (४) मा परिभाषित कसुर बमोजि सोही ऐनको दफा ९ को देहाय (ख) बमोजिम सजाय हुन माग दावी लिएको छ ।

धरानको जंगलमा सनम शाक्यको हत्या भएपछि सुन तस्कर ‘गोरे’ ले शवको फोटो सई बालकृष्ण सञ्जेलाई पठाएको पाईएको छ । उक्त कुराको जानकारी सञ्जेलले एसएसपी दिवेश लोहनीलाई समेत जानकारी गराएका थिए । सनमको शव गाड्नलाई खाल्डो खन्ने कार्य हुँदाहुँदै प्रतिवादी बालकृष्ण सञ्जेलको आश्वासनमा शव गाड्न खाल्डो खन्ने कार्य बन्द गरी गाडीमा शव हाली इटहरीतर्पm शव लगेको भन्ने तथ्यमा समेत विवाद नदेखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

गम्भिर घटनाको जानकारी पाएका लोहनीले स्थानीय प्रहरीलाई सूचना दिएर तत्काल चुडामणि उप्रेती ‘गोरे’ सहितका प्रतिवादीहरुलाई पक्राउ गर्नसक्ने अवस्था भएपछि काठमाडौंबाट प्रहरी पठाउँदै ८ घण्टा ढिलोगरी घट्नास्थल पुगेको भन्दै सुन तस्करी छानविन समितिले लोहनीलाई दोषी ठहर गरेको छ ।

‘उर्लाबारीदेखि धरानसम्म झण्डै आधा दर्जन ईलाका प्रहरी कार्यालयहरु रहेकोमा जुनसुकै प्रहरी कार्यालयले सानो सूचना पाउँदा पनि तुरुन्तै ‘गोरे’ भन्ने चुडामणि उप्रेतीसहितका प्रतिवादीहरुलाई पक्रन सक्ने अवस्था देखिन्छ’ बुधवार जिल्ला अदालत मोरङमा पेश गरिएको अभियोग पत्रमा भनिएको छ, ‘काठमाडौं उपत्यका मात्र कार्यक्षेत्र भएको महानगरीय अपराध महाशाखाले झापा, मोरङ, सुनसरीमा रहेका सुरक्षा निकायहरुलाई कुनै सुईंकोसम्म नदिई काठमाडौंबाट मोरङ उर्लाबारीको घटनामा हस्तक्षेप गर्नु सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा ४ को उपदफा (१) र दफा ५ का कानूनी प्रावधान विपरित देखिएको छ ।’

सरकारी मुद्दा सम्बन्धी ऐनअनुसार अपराधी भाग्न सक्ने अवस्थामा अर्को प्रहरी कार्यालयको क्षेत्रमा गएर कारवाही गर्न सक्ने अवस्था भएपनि बाहिरबाट जाने प्रहरी कर्मचारीले कारवाहीको सूचना सम्बन्धित ईलाकालाई यथासम्भव चाँडो दिनुपर्ने हुन्छ ।

‘काठमाडौँका प्रहरी कर्मचारीले मोरङमा भएको घटनामा कुनै प्रमाण लोप नाश हुन नदिने, अपराधी भाग्ने उम्कन नदिने कार्य गर्न सक्नु तर सो कार्य मोरङ सुनसरीकै प्रहरी कर्मचारीबाट हुन नसक्ने भन्ने तर्क कुनै दृष्टिले पनि विश्वास लायक देखिदैँन’ अभियोग पत्रमा भनिएको छ, ‘कानूनी व्यवस्था अनुसार अन्य प्रहरी कार्यालय क्षेत्रभित्र अपराध भएमा सोको सूचना यथाशीघ्र सम्बन्धीत प्रहरी कार्यालयलाई दिनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि प्रतिवादीहरु दिवेश लोहनी र प्रजित केसी कार्यरत रहेको प्रहरी कार्यालय त्यसमा पनि सो कार्यालयका प्रमुख दिवेश लोहनीले यस्तो बाध्यात्मक कानुनी प्रावधानको पालना गरेको देखिँदैन् ।’

सनम शाक्यको हत्या गर्दा वारदातस्थलमा रहेका १६ जनामध्ये सबै पक्राउ गर्न सक्ने अवस्था भएपनि एसएसपी लोहनी र डिएसपी केसी चुकेको छानबिन समितिले ठहर गरेको छ ।

सनम शाक्यको हत्यापछि ‘गोरे’ सहितका सुन तस्कर नीजि गाडीहरुमा चढेर उर्लाबारीबाट धरानतर्फ गई त्यहाँबाट जोगबनी र रक्सौल हुँदै भारतको सिमाना काटेको पाईएको छ । छानबिन समितिले करिब ५ घण्टाको बीचमा सुन तस्कर भाग्नसक्ने सूचना स्थानीय प्रहरीले पाएको भएमा पक्राउ गर्न सक्ने ठहर गरेको छ ।

अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र सुन तस्कर ‘गोरे’ बीच दुई बर्ष अघीदेखि संगत रहेको कुरा समितिसमक्ष बयान दिने क्रममा सञ्जेल आफैंले स्विकार गरेका छन् । सञ्जेल र गोरेले एक आपसमा ‘मामा–भाञ्जा’ को व्यवहार गर्दै आएको कुरा गोरेका ड्राईभर टेकराज मल्लले बयानका क्रममा बोलेका छन् ।

०७३ पुस २३ गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल हुँदै आएको साढे ३३ किलो सुन प्रकरणमा ‘गोरे’ जिल्ला अदालत काठमाडौंको फरार सूचीमा रहेको तथ्य महानगरीय प्रहरी परिसर अपराध महाशाखा प्रमुख लोहनी र सञ्जेल दुवै जानकार रहेको बताईएको छ ।

सनमको हत्या भएको खबरसँगै धरान जाने क्रममा प्रतिवादीहरु प्रजित केसी, बालकृष्ण सञ्जेल र प्रतिवादी ‘गोरे’ भन्ने चुडामणि उप्रेतीबीच बाटोमा निकै पटक फोन सम्पर्क भएको, शव वेपत्ता पारी केश मिलाए बापत शुरुमा पाँच करोडको प्रस्ताव भएपनि डिल दुई करोडमा भएको तथ्य प्रतिवादीहरुले स्वीकार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

‘प्रतिवादीहरुले दावी गरेको उक्त डिल अभियुक्तलाई पक्राउ गर्न गरिएको भन्ने जिकिर अन्य कुनै प्रमाण परिस्थितिले पुष्टि भएको देखिदैँन्’ अभियोग पत्रमा भनिएको छ, ‘टेकराज मल्ल ठकुरी समेतका प्रतिवादीहरुको बयान हेर्दा सुनसरीको इटहरी, धरान पुग्दा कैयौँ पटक प्रहरी नायब उपरीक्षक प्रजित केसी र प्रहरी नायब निरीक्षक बालकृष्णबीच पटक–पटक बाटोमा फोनबाट सनम हत्यामा संलग्न प्रतिवादीहरुलाई संरक्षण दिने, रकम जम्मा गरी राख्न लगाउने, वारदातास्थलमा संलग्न प्रतिवादीहरुलाई भाग्न उम्कन र देश बाहिर फरार हुन उपाय र तरिका समेत सुझाई आपराधिक समूहलाई सहयोग पु¥याएको तथ्य प्रतिवादी टेकराज मल्ल, ‘गोरे’ भन्ने चुडामणि उप्रेती र यी प्रतिवादीहरु प्रजित केसी र बालकृष्ण सञ्जेलबीचको कल डिटेल्स समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ ।’

प्रतिवादीहरु बालकृष्ण सञ्जेल र प्रजित केसीले दिवेश लोहनीकै आदेश बमोजिम घटनाको वास्तविक तथ्यलाई लुकाई एक्कासी मोरङस्थित जिल्ला प्रहरी कार्यालय, नजिक विराटनगरमा शव भेटिएको भन्ने प्रतिवेदन दिएको बताईएको छ ।

‘प्रतिवादीहरु दिवेश लोहनी र प्रजित केसीको माथि विवेचित कार्यले आपराधिक समूहलाई संगठित अपराध गर्न सघाउ पु¥याएको साथै संगठित अपराध गर्ने त्यस्ता व्यक्तिहरुलाई भाग्ने उम्कने मौका दिएको र सो अवस्था सिर्जना गरिदिएको उल्लेखित प्रमाणबाट पुष्टि भएको छ’ बुधवार अदालतमा पेश गरिएको अभियोग पत्रमा भनिएको छ । रातोपाटि

Back to top