भक्तकी छोरी बलात्कार गर्ने धर्मगुरु आसारामलाई जन्मकैद, मोदीसमेत थिए आसारामका प्रशंसक

205

Share
  •  
  •  
  •  

बैशाख १२, भारतमा नाबालिकालाई बलात्कार गरेको पुष्टि भएपछि चमत्कारी धर्मगुरु रूपमा परिचित आसाराम बापुलाई जोधपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ। आसारामका अलवा बलात्कारमा शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश पनि अभियुक्त रहेका थिए। जसमध्ये शिल्पी र शरतचन्द्रलाई २०(२० वर्षको कैद सजाय सुनाइएको छ भने प्रकाश र शिवालाई सफाइ दिइएको छ। शरत छिन्डवाडा आश्रमका निर्देशक हुन् जहाँ नाबालिक केटीहरूलाई पढाइका लागि जान्थे। आसारामलाई भारतीय संविधानको धारा ३७६ अनुसार दोषी पाइएको बताइएको छ। ७७ वर्षीय आसारामले मनाई आश्रममा सन् २०१३ मा १६ सालकी युवतीलाई बलात्कार गरेका थिए। बलात्कार गरिएकी युवतीका आमा(बुबा आसारामका भक्त थिए। उक्त युवती पढाइका क्रममा लडेर घाइते भएकी थिइन्। उपचारका लागि अभिभावकले आसारामकोमा लगेका थिए। युवतीलाई भूतप्रेत लागेको भन्दै आसारामकोमा पुर्‍याएपछि त्यहीँ बलात्कारको सिकार भएकी थिइन्। आसाराम अर्की महिलालाई बलात्कार गरेको अभियोग पनि चलिरहेको छ। आसारामलाई इन्दौरबाट गिरफ्तार गरिएको थियो। उनलाई गिरफ्तार गरिएपछि समर्थकहरूले आतंक मच्चाएका थिए। गिरफ्तारीपछि आसारामको यौन क्षमताको परीक्षण गरिएको थियो। जसमा उनी सक्रिय रहेको पाइएपछि हिरासतमा राखिएको थियो। सन् २०१३ देखि नै उनी हिरासतमा थिए। आसारामले भने आफू निर्दोष रहेको बताउँदै आएका थिए। साक्षीहरूको हत्या सन् २०१४ मा जब आसारामले बलात्कार गरेको मुद्दाबारे अदालतमा सुनुवाइ सुरु भयो साक्षीहरूमाथि एकपछि अर्को हमला भए। आसारामका समर्थकहरूले उक्त हमला गरेको खुलेको छ। जसमा आसारामका सहयोगीदेखि पत्रकारसम्मको हत्या भएको थियो। यो मामिलामा आसारामका सहयोगी अमृत प्रजापतिको सन् २०१४ मे महिनामा गोली हानेर हत्या गरिएको थियो। उनको आश्रममा खाना पकाउने काम गर्ने अखिल गुप्तालाई सन् २०१५ मा मुजफ्फरनगरमा हत्या गरियो। बलात्कार काण्डमा साक्षी मानिने राहुल सचानलाई जोधपुर अदालत परिसरमा चक्कु प्रहार गरियो र पछि उनी बेपत्ता पारिए। अर्का साक्षी महेन्द्र चावलालाई पनि गोली हानेर हत्या गरियो। आसारामको बलात्कार मामिला बाहिर आएपछि योसँग आबद्ध नौ साक्षीमाथि हमला भएको छ। तीनजनाको हत्या भएको छ भने एक बेपत्ता पारिएका छन्। धार्मिक उपदेश दिने आसारामका १९ देशमा करिब ४०० आश्रम रहेका छन्। उनका ४ करोड भक्त रहेको छ। उनले ४५ वर्ष पहिले गुजरातमा आश्रम सुरु गरेका थिए। त्यसपछि उनका भक्तहरूको संख्या बढ्न थालेको थियो। भारतका शीर्ष राजनेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसमेत आसारामका प्रशंसक थिए। मोदी कतिपय धार्मिक कार्यक्रममा उनीसँगै देखिने गर्थे। एजेन्सी


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here