×

काठमाडौं ,वैशाख २ – सरकारले राष्ट्रिय आर्थिक गणना कार्यक्रमलाई सफल बनाउन सबैलाई आह्वान गरेको छ। केन्द्रिय तथ्यांक विभागले प्रथम राष्ट्रिय आर्थिक गणना कार्यक्रमलाई सफल बनाउन सबैमा आह्वान गरेको हो। सरकारले पहिलो पटक नेपालमा आर्थिक गणना अभियान कार्यक्रम सुरु गरेको छ। मुलुकको समग्र आर्थिक विषयवस्तुहरूको एकै समयको तथ्यपरक विस्तृत सूचना तयार पार्न आर्थिक गणना अभियान सुरु गरिएको विभागमा महानिर्देशक सुमनराज अर्यालले स्पष्ट पारेका थिए। आर्थिक सर्वेक्षण हुने गरेको भएपनि आर्थिक विषयको विस्तृत सूचनाको अभाव रहेकाले यस वर्षबाट त्यसलाई पूर्ति गर्न आर्थिक गणना सुरु गरिएको पनि उनले बताए। बैशाख १ गते नयाँ वर्षको अवसर पारेर सुरु गरिएको आर्थिक गणना जेष्ठ ३१ गतेसम्म हुनेछ। आर्थिक गणनाले आर्थिक नीति बनाउन महत्वपूर्ण निर्वाह गर्ने महानिर्देशक अर्यालले बताए। मुलुकको नीति निर्माणमा यो गणनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभागले जनाएको छ। मुलुकमा भएको आर्थिक गतिविधि, लगानी र त्यसले दिएको प्रतिफलको गणनाले वस्तुनिष्ट सूचना हुने पनि महानिर्देशक अर्यालले बताएका छन्। नेपालमा औंपचारिक रुपमा तथ्यांक संकलन गर्न सुरु गरिएको करिव ११० वर्ष भयो। विगतका अनुभवको आधारमा अव भरपर्दो तथ्यांक संलकन गर्न आर्थिक गणना सुरु गर्न लागिएको विभागले जनाएको छ। गणनालाई सफल बनाउन विभागले जिल्ला आर्थिक गणना कार्यालयहरु स्थापना गर्न टोलीहरु परिचालन गरिसकेको छ। विभागबाट आर्थिक गणनाका विवरणहरु संकलन गर्न प्रत्येक घरदैलो वा प्रतिष्ठान व्यवसाय स्थलमा गणकहरु पठाउने व्यवस्था गरिएको छ। गणकहरूलाई सही र यथार्थ विवरण उपलव्ध गराउन पनि सम्बन्धित निकायलाई विभागले आह्वान गरेको छ।

Back to top