×

वीरगंज, चैत १७ - आफ्नो कार्यकालमा खेलकुद विकासलाई नयाँ गतिले अगाडि बढाउने प्रदेशसभा सदस्य डा.अन्जु कुमारी यादवले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बजरंग युवा क्लबको आयोजनामा शनिबार सम्पन्न चन्देश्वर पटेल स्मृति चौथो श्रीसिया वीरगंज गोल्ड कप २०७४ को समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य डा.अन्जु कुमारी यादवले आफ्नो कार्यकालमा जिल्लाको खेलकुद विकासलाई विशेष प्राथमिकताका साथ नयाँ गतिले अगाडि बढाउने प्रतिबद्धता भएको छ । उहाँले खेलकुदबाट युवाहरुको शसक्तिकरण गर्ने भएको हुनाले खेलकुदको धेरै महत्व रहेको बताउनु भयो । खेलाडिहरुको वृति विकासका लागि आफुले प्रदेशसभाबाट विशेष योजनाहरु ल्याउन पहल उहाँले गर्ने र प्रदेश नम्बर दुईलाई खेलकूदको हव बनाउने बताउनु भयो ।

उहाँले पछिलो समयमा नेपाली क्रिकेट खेलाडिहरुले अन्र्तराष्ट्रिय स्तरमा कठोर मेहनतका साथ प्रस्तुत भएर उपलब्धिहरु हाँसिल गरेकोमा गर्व महशुस भएको बताउदै डा. यादवले फुटबल खेलाडिहरुलाई पनि त्यस्तै लगनसिलताका साथ् मेहनत गर्दै सिँगो राष्ट्रको गौरवलाई माथि उठाउन अनुरोध गर्नु भएको थियो ।

आजको अन्तिम खेलमा वीरगंज युथ एकेडमीलाई दुई गोलले पराजित गर्दै वीरगंज युनाइटेडले श्रीसिया वीरगंज गोल्ड कप २०७४ को उपाधि हासिल गरेको छ । वीरगंज युनाइटेडका प्रज्ज्वल थापामगर र विदेशी खेलाडी गेलरीले १–१ गोल गरेका थिए । विजयी टिमलाई डा. यादवले १ लाख रूपैयाको चेक, मेडल, शिल्ड, प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने उपविजेतालाई ५० हजारको चेक प्रदान गर्नु भएको थियो ।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी वीरगंज युनाइटेडका प्रज्ज्वल थापामगर घोषित भएका थीए । यस्तै, उत्कृष्ट गोलकीपरमा प्रदीप भण्डारी, अग्रपङ्तिमा विदेशी खेलाडी गेलरी र वीरगंज युथ एकेडेमीका कृष्ण शाक्य उत्कृष्ट मिडफिल्डर घोषित भए । प्रतियोगितामा उत्कृष्ट डिफेन्डरमा कृष्ण कार्की घोषित भएका थिए । सबै खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथिले डा. यादवले पुरस्कृत गर्नु भएको थियो ।

क्लबका अध्यक्ष श्याम पटेलको अध्यक्षतामा सम्पन्न आजको अन्तिम खेलमा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, राष्ट्रिय जनता पार्टीका केन्द्रीय महासचिव शिव पटेल, वाटिका ग्रुप नेपालका अध्यक्ष अनुज यादव, पर्सा यातायात व्यवसायिक संघका अध्यक्ष भैयाराम प्रसाद पटेल, ड्राइपोर्ट भान्सारका प्रमुख सुर्य प्रसाद सेढाई लगायतको उपस्तिथी रहेको थियो ।

Back to top