×

वीरगंज, चैत्र १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले हालसम्म किसानलाई रु ४० करोड भुक्तान गर्न नसक्दा अउत्पादक किसान मारमा परेका छन् ।

उद्योगले बुधबारसम्म किसानबाट रु दुई अर्ब मूल्य बराबरको उखु खरिद गरेर रु एक अर्ब ३५ करोड भुक्तानी गरे पनि बाँकी किसानलाई रु ४० करोड दिन नसक्दा मारमा परेको सम्बद्ध किसानको गुनासो छ ।

हरिवन नगरपालिका–१ मा रहेको सो चिनी मिलमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले उत्पादन गरेका करिब ८७ हजार बिगाह क्षेत्रफलको उखु बिक्री हुँदै आइरहेको छ ।

नगदेबालीको रुपमा रहेको उखुखेतीतर्फ किसान व्यवसायिकरुपले खेती गर्दै आएकाले यस उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा ५५ हजार परिवार लाभान्वित हुँदै आएको चिनी मिल प्रशासनले जनाएको छ ।

विसं २०४२ मा स्थापना भएको सो उद्योगले चालू आर्थिक वर्षको हालसम्म ३६ लाख १५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । नेपालमा वार्षिक सवा दुई लाख मेट्रिक टन चिनी खपत हुने गरेपनि उद्योगले यस वर्ष ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

बत्तीस वर्षको लामो इतिहास बोकेको उद्योगले सबभन्दा बढी यसवर्ष उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष नेपालमा एक लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो ।

प्रदेश नं २ मा छ वटा चिनी उद्योग सञ्चालनमा रहेको छ भने दुई वटा उद्योग निर्माणाधीन अवस्थामा छ । प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरिद गर्दैआएको चिनी मिलले यस वर्ष पाकिस्तान र बंगलादेशबाट चिनी नेपाल आइसकेकाले हालसम्म किसानलाई भुक्तानी दिन नसकिएको जानकारी दिंदै उपप्रबन्धक योगनारायण रजकले भने, ‘आउँदो साउन मसान्तसम्ममा बाँकी रकम भुक्तान गरिने छ ।’

मिलले चिनी बिक्री भएपछि मात्र उखुको भुक्तानी दिने भनेकाले किसान आर्थिक मारमा परेका हुन् । सर्लाही जिल्लाको पश्चिमी नाकाबाट भारतीय उखु तस्करी भई आउने गरेकाले पनि लागतअनुसारको मूल्य किसान पाउन नसकेको उखु किसान राम कलेवर साह र शुभनारायण रायको गुनासो छ ।

किसानले ऋण काढेर उखुखेती गरे पनि चिनी मिलले समयमा उखुको भुक्तानी दिन नसक्दा उनीहरु ऋणमा डुब्ने गरेको बताइएको छ ।

Back to top