किन जाँदैनन् आयातकर्ता हल्दिया बन्दरगाह ?

1100

Share
  •  
  •  
  •  

वीरगन्ज १३ फागुन हल्दिया (भारत)। तेस्रो मुलुकबाट हुने आयातमा अधिक चल्तीमा रहेको भारतको कोलकाता बन्दरगाहको ढिलासुस्ती र यसबाट पर्ने जरीवानाका बारेमा सधैं गुनासो गर्ने आयातकर्ता नजीकैको हल्दिया बन्दरगाहको उपयोगमा भने उदासीन देखिएका छन् । हल्दिया पोर्ट कोलकाता पोर्टको अव्यवस्थाको तत्कालीन निकासको सहज विकल्प हुने देखिए पनि आयातकर्ता त्यतातिर आकर्षित भएका छैनन् ।

कोलकाताबाट १ सय ५२ किलोमिटर रेलवे दूरीमा रहेको हल्दियाबाट अहिले आयातकर्ताले कोइला र मलखादमात्र आयात गरिरहेका छन् । तेस्रो मुलुकबाट आउने कण्टेनर भने हल्दियामा बिरलैमात्र आउने गरेको हल्दिया इण्टरनेशनल कण्टेनर टर्मिनलका वरिष्ठ महाप्रबन्धक तपन सेनगुप्ताले बताए । ‘हामी आयातकर्तालाई सहज ढुवानीका लागि सक्षम छौं । तर, आयातकर्ता नै यहाँ आउन मानिरहेका छैनन्,’ महाप्रबन्धक सेनगुप्ताले आर्थिक अभियानलाई बताए ।

हल्दिया टर्मिनलका अधिकारीले केही समयअघि वीरगञ्ज पुगेर आयातकर्तालाई यो बन्दरगाहका विशेषता र उपलब्ध सुविधाका बारेमा जानकारी गराएका थिए । तर, अपेक्षित उपलब्धि भने देखिएको छैन । बितेको वर्ष नेपाली आयातकर्ताले यो बन्दरगाहबाट ८ सय १५ ओटा कण्टेनर मगाएको तथ्याङ्क हल्दिया टर्मिनलसँग छ ।

कोलकाता पोर्ट ट्रष्टकै स्वामित्वमा रहेको यो बन्दरगाह निजीक्षेत्रले सञ्चालन गर्दै आएको छ । कोलकाता पोर्टले यो बन्दरगाह १० वर्षका लागि जेएम बक्सी ग्रूपलाई दिएको हो । यो ग्रूपले हल्दियालगायत भारतका अन्य ९ ओटा बन्दरगाह सञ्चालन गर्दै आएको छ ।

न्यून परिमाणमा भए पनि सन् २०१५ देखि नेपाली आयातकर्ताले प्रयोग गर्दै आएको हल्दिया बन्दरगाह कोलकाताको तुलनामा सहज र अत्याधुनिक उपकरणयुक्त भए पनि पहिलो रोजाइमा पर्न सकेको छैन । कोइला र रासायनिक मलजस्ता कार्गो आए पनि कण्टेनर आयात कमैमात्र भएको टर्मिनल प्रमुख क्याप्टेन सुदीप बनर्जीले बताए । ‘यो पोर्टको कण्टेनर ह्याण्डलिङ क्षमता कोलकाताभन्दा बढी छ । तर, आयातकर्ता यसको उपयोगमा उदासीन देखिएका छन्,’ बनर्जीले भने ।

यो बन्दरगाह कोलकाताजस्तै रिभरबेष्ड भए पनि यहाँ तुलनात्मक ठूला पानीजहाज आउन सक्छन् । हल्दियाको कण्टेनरतर्फ क्षमताको आधा पनि उपयोग हुन नपाएको पोर्टका अधिकारीहरूले बताए । कोलकातामा उपयुक्त पूर्वाधारको अभावमा एउटा रेल र्‍याक २ पटकमा लोड गर्न सकिन्छ । हल्दियामा भने यो समस्या नभएको बनर्जीले बताए । ‘बन्दरगाहमा पर्याप्त ठाउँको अभावमा कण्टेनर लिएर आएका पानीजहाजलाई समुद्रमै पर्खाएर राख्नुपर्ने अवस्थामा पनि यो बन्दरगाहमा समस्या छैन,’ उनले भने ।

बन्दरगाहमा मेरिन कण्टेनर ह्याण्डलिङ प्रणाली जडान गरिएको छ । यसबाट बन्दरगाहमा अनलोड गरिएका कण्टेनरको स्थान र अवस्था पत्ता लगाउन सकिने भएकाले सञ्चालन सहज हुने महाप्रबन्धक सेनगुप्ताले बताए । यो प्रविधिबाट कष्टम क्लियरेन्स र कण्टेनर हेण्डलिङमा सहजता थपिएको उनको दाबी छ ।

सीएचएको स्वार्थ र स्पष्टोक्ति
कोलकातामा वर्षौंदेखि काम गरिरहेका कष्टम हाउस एजेण्ट (सीएचए)को स्वार्थका कारण आयातकर्ताले हल्दियाबाट लाभ उठाउन नसकेको पोर्ट सञ्चालकको आरोप छ । कोलकाताका सीएचएले हल्दियामा पनि सहजै काम सक्ने भए पनि अधिकांशले कोलकातामा आआफ्नो ट्रान्सपोर्ट सञ्चालन गरेकाले हल्दियामा आउन नचाहेको बनर्जीले बताए ।

आयातकर्ताका एजेण्टले कृत्रिम समस्या सृजना गरेर आयातकर्तालाई रेलको सट्टा ट्रकबाट कण्टेनर ढुवानी गर्न बाध्य पार्ने गरेको दाबी बन्दरगाह सञ्चालकको छ । कतिपय सीएचएले कोलकातामा आफ्नो ‘सेटिङ’ भएकाले हल्दियाको सहज उपयोगका बारेमा आयातकर्तालाई गुमराहमा राखेको पोर्ट ट्रष्टका उच्च अधिकारीहरू बताउँछन् ।

एजेण्ट भने आयातकर्ताले बिचौलियामार्फत काम गराउने भएकाले खर्च बढी देखिन गएको दाबी गर्छन् । ट्रान्सपोर्ट, फ्रेट फर्वाडर्सलगायतका माध्यम हटाएर सीधै सीएचएमार्फत काम गराउँदा अहिलेको खर्चमा ३० प्रतिशतसम्म कमी आउने दाबी कोलकाता कष्टम हाउस एजेण्ट एशोसिएशनका अध्यक्ष राजु गोस्वामीले बताए ।

अद्यावधिक छैनन् आयातकर्ता
कोलकातामा बन्दरगाह र भन्सार क्लियरेन्सको अधिक प्रक्रियाका कारण आयात कारोबार बढी खर्चिलो भइरहेको आयातकर्ताको साझा गुनासो हो । पोर्टका अधिकारीहरू आयातकर्ता आफू अद्यावधिक हुन नसक्दा पनि सीएचएले गलत फाइदा उठाइरहेको बताउँछन् । आयातकर्ताले आनलाइनबाटै आयातको प्रक्रिया र खर्चका बारेमा जानकारी लिन सक्ने भए पनि एजेण्टमाथि अति निर्भरताका कारण नेपालको आयात महँगो परेको दाबी ती अधिकारीहरूको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here