×

वीरगञ्ज, १७ माघ बारा र पर्साका सिमेण्ट उद्योगीहरुले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा सरकारले स्वदेशी सिमेण्ट उद्योगले कच्चा पदार्थको आपूर्तिमा सामना गरिरहेको समस्या समाधानमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज २ दिने भ्रमणका लागि बिहीबार नेपाल आउँदैछिन् ।

भ्रमणमा नेपाली पक्षले बारा÷पर्साका १३ ओटा सिमेण्ट उद्योगले सामना गरेको समस्या निकासका लागि प्रभावकारी पहल गर्नुपर्ने बारा–पर्सा सिमेण्ट उत्पादक सङ्घका अध्यक्ष अशोककुमार वैदले बताउनुभयो । ‘सरकारले यो भ्रमणमा प्रभावकारी कुटनीतिक पहल गर्नु जरुरी छ,’ अध्यक्ष वैदले भन्नुभयो, ‘हामीले सरकारका अधिकारीहरुलाई पनि यसबारेमा आग्रह गरिसकेका छौं ।’

भारतीय रेल्वेले गत डिसेम्बर २२ यता आफ्नो रक्सौल यार्डमा क्लिङ्करको लोडअनलोड बन्द गरेपछि बारा–पर्साका सिमेण्ट उद्योगलाई विगत एक महीनाभन्दा लामो समयदेखि कच्चा पदार्थको आपूर्तिमा समस्या भइरहेको छ । रक्सौलबाट १ सय २५ किलोमीटर टाढाको भारतकै मुजफ्फरपुरनजीकै नारायणपुरबाट क्लिङ्कर ढुवानी गर्दा प्रति मेट्रिकटन २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्म बढी भाडा परिरहेको उद्योगीले बताए ।

उद्योगीहरुले तत्कालका लागि रक्सौलमै अनलोडको व्यवस्था मिलाएर दीर्घकालीन समाधान खोजिनुपर्ने बताएका छन् । वीरगञ्ज उद्योग वाािणज्य सङ्घका उपाध्यक्ष गोपाल केडियाले सरकारले भारतीय विदेशमन्त्रीलाई यसबारेमा आग्रह गरी समाधान खोज्नुपर्नेमा जोड दिए ।

प्रदुषण नियन्त्रणको उपाय अपनाएर रक्सौलमै अनलोडको व्यवस्था मिलाइनुपर्ने उद्योगीले बताए । रेलवेको रक्सौल यार्डमा क्लिङ्कर लोडअनलोडका कारण प्रदुषण बढेको भन्दै स्थानीय बासिन्दाको अवरोध गरेपछि रेलवेले रक्सौलका लागि क्लिंकर लोडिङमा रोक लगाएको थियो ।

Back to top