×

वीरगञ्ज १३ माघ वीरगञ्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित आन्दोलनरत संघर्ष समितिले आज वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा बारा र पर्साका विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको आन्दोलनरत संघर्ष समितिका सदस्य एवं तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले जानकारी दिनुभयो ।

संघर्ष समितिका संयोजक एवं पूर्व सांसद राजकुमार गुप्ताको नेतृत्वमा वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध प्रदर्शन वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान परिक्रमा पछि पूनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई एमाले नेता बसरुद्दिन अंसारी, शम्भु गुप्ता, मनोज चौधरी, काँग्रेस नेता अरविन्द सिंह, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह लगायतले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा संघर्ष समितिका नेताहरुले माघ २१ गते बस्ने प्रदेश नम्बर २ को पहिलो प्रदेश सभा बैठकबाट वीरगञ्जलाई स्थायी राजधानी तोक्ने निर्णय नगरे बारा–पर्साका सभासदलाई वीरगञ्ज प्रवेशमा रोक लगाउने चेतावनी दिएका थिए ।

यसैगरि प्रादेशिक राजधानीको माग गर्दै वीरगञ्जको घण्टाघरमा २४ दिनदेखि रिले अनशन जारी छ । यथेष्ट पूर्वाधार र सम्भावना हुँदाहुँदै वीरगञ्जको उपेक्षा गरिएको भन्दै संघर्ष समितिले गत पौष २१ गतेबाट घण्टाघरमा रिले अनशन जारी राखेको छ ।

Back to top