×

वीरगञ्ज, ३० पुस वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोकुमार वैदले बारा पर्साका सिमेण्ट उद्योगको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४२ औ वार्षिक साधारणसभामा बोल्दै वैदले भारतीय रेलवेले रक्सौल यार्डमा क्लिङ्कर अनलोडमा प्रतिबन्ध लगाएपछि बारा र पर्सा जिल्लामा सञ्चालित १३ ओटा सिमेण्ट उद्योगहरु कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेको भए पनि नेपाल सरकार समाधानमा उदासिन देखिएको बताएका हुन् ।

कार्यक्रममा सहभागी अर्थराज्यमन्त्री उदय समशेर राणाको ध्यानाकर्षण गराउँदै वैदले तत्काल विकल्पको खोजी गरी तत्काल उद्योगको समस्या निराकरण गर्न माग गरे । नेपालका उद्योगको समस्या भएकाले समाधानमा नेपाल सरकार नै बढी जवाफदेही बन्नुपर्ने उनको धारणा थियो ।

समाधानको पहल गर्न आफू भारतीय पक्षसम्म पुगेको भन्दै उनले नेपालले सम्झौता गरेमा भारतीय पक्ष पूर्वाधार बनाइदिन तयार रहेको पनि वैदको भनाइ छ । भारतीय पक्षले २ वर्षअघि नै त्यसका लागि नेपाल सरकारलाई पत्राचार गरेकोमा सरकारकै उदासिनताका कारण अहिलेसम्म सम्भव हुन नसकेको बताए ।

Back to top