ठोरी प्रदेश नं. ३ मा गाभिने कोसिस गरियो भने कत्लेआम पनि गर्न तैयार छौं – जालिम मियाँ

2443

Share
  •  
  •  
  •  

वीरगञ्ज १२ पौष पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उदघोषको पार्टी भित्रैबाट बिरोध सुरु भएको छ ।
पार्टी बाहिरबाट मात्रै नभएर पार्टी भित्रकै नेताहरुले पनि प्रचण्डको उद्घोष गलत भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका छन् । वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले अध्यक्ष प्रचण्डले हचुवाको तालमा त्यस्तो उद्घोष गरेको बताए ।
उनले ठोरी गाउँपालिका पर्साको भएका कारण त्यसको एक इन्च पनि प्रदेश नं ३ मा गाभ्न नमिल्ने भन्दै जर्बजस्ती गाभ्न खोजे ‘कत्लेआम’ (जनसंहार, सार्वजनिक हत्या’ गर्न पनि पछि नपर्ने चेतावनी दिए । ‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जानु छ गए हुन्छ तर एक इन्च जमिन पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन,’ उनले भने ‘ठोरीलाई प्रदेश नं २ मै राख्नुपर्छ, पर्सावासीको भावनाको विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु ।’ दुई दिन अघि ठोरी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठोरीलाई प्रदेश नं ३ मा गाभ्ने उदघोष गरेका थिए । यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
पार्टी भित्र एक अर्कालाई कारबाही गरिएको दावी
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज उर्मिला अर्याल र जिल्ला संयोजक विजय महतोलाई कारबाही गरिएको दावी उनीहरुले गरेका छन् ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा पार्टीका दुई तिहाई सदस्यहरुले पुस ३ गते बसेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावी समिक्षा बैठकबाट अर्याल र महतोलाई साधारण सदस्य समेत नरहनेगरि निस्कासित गरिसकेको दावी उनीहरुले गरेका छन् ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष बाबुराम कौशिक र केन्द्रीय सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला इन्चार्ज अर्याल र संयोजक महतो कै कारण प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुःखद हार व्यहोर्नु परेको दावी गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य एवं जिल्ला उपाध्यक्ष राम दरश कुशवाहाले पनि पुस ३ गतेकै बैठकबाट उनीहरुलाई कारबाही गरिएको दावी गरे । ‘पार्टी भित्रैबाट छिनोफानो गरौं भन्ने सोचेर हामीले कारबाहीको कुरा बाहिर ल्याएका थिएनौं, अध्यक्ष र संयोजकले सस्तो प्रचारबाजी गर्न थालेपछि सार्वजनिक गर्न बाध्य भयौ ।’
जिल्ला अध्यक्ष बाबुराम कौशिकले प्रतिनीधि सभामा क्षेत्र नं ४ बाट उम्मेदवारी दिएकी अर्याललाई जनताले नै कारबाही गरिसकेको बताए । ‘हामीलाई कारबाही गरेको भनेर झुठो प्रचारबाजी गर्नेलाई जनताले नै कारबाही गरिसकेका छन् ।’ नेता कौशिकले भने ‘हामी केन्द्रीय सदस्य र गाउँपालिका प्रमुखलाई कारबाही गर्ने अधिकार पार्टी हेडक्वाटरसँग मात्रै छ । आत्म समीक्षा नगरी प्रचारबाजीमा उत्रिएपछि हामी पत्रकार सम्मेलन गर्न बाध्य भयौं ।’
पुस ८ गते विज्ञप्ति जारी गर्दै मंसिर २१ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको र पार्टी हित विपरीत काम गरेको भन्दै जालिम मियाँ र बाबुराम कौशिक दुईजनालाई नेकपा माओवादी केन्द्र पर्साले कारबाही गरेको थियो ।
विज्ञप्तिमा पार्टीका पर्सा इन्चार्ज उर्मिला अर्याल, जिल्ला संयोजक विजय महतो र पोलिटव्यूरो सदस्य छोटेलालप्रसाद यादवले हस्ताक्षर गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here