संविधान संशोधनको ग्यारेन्टी नभएसम्म हामी सरकारमा जाँदैनौं-लक्ष्मणलाल

1326

Share
  •  
  •  
  •  

० चुनाव सकिएको छ । अब सरकार गठनको चर्चा चल्न थालेको छ । सरकार कहिले गठन हुन्छ ?
— समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भइसकेको छ । तर, समानुपातिकतर्फको सिट बाँडफाडका साथै नाम पठाउनेलगायतका काम बाँकी नै छ । यो काम सकिएपछि बल्ल प्रतिनिधिसभाले पूर्णता पाउने छ । त्यसपछि मात्र सरकार गठनको प्रक्रिया सुरू हुन्छ ।
० वामगठबन्धनको नेतृत्वमा सरकार बन्दैछ । मधेशकेन्द्रित दल पनि यो सरकारका सहभागी हुन्छन् ?
— अहिले वामगठबन्धन मिलाएर नै सरकार बन्ने अवस्था देखिन्छ । बहुमत नपुगेको अवस्थामा सबभन्दा ठूलो दललाई अरू दलसँग सहकार्य गरी सरकार बनाउन राष्ट्रपतिबाट आह्वान हुन्छ । सरकारमा सामेल हुने विषयमा वामगठबन्धनसँग कुनै कुरा भएको छैन । हामीले सरकारमा जाने नजाने विषयमा कुनै निर्णय गरेका छैनौं ।
० सरकारमा आउन आग्रह गरियो भने के गर्नुहुन्छ ?
— हाम्रो मुल सवाल संविधान संशोधन हो । संविधान संशोधनको ग्यारेन्टी नभएसम्म हामी सरकारमा जाँदैनौं ।
० हालै भएको प्रतिनिधि र प्रदेशसभाको चुनावबाट मधेशकेन्द्रित दलले प्राप्त गरेको मतले संविधान संशोधन गराउन सकिन्छ ?
— यसमा दुई वटा कुरा छन् । हामीले संघर्ष छाडेका छैनौं । हामीले संघर्षको स्वरूप मात्र परिवर्तन गरेका छौं । निर्वाचनलाई हामीले आन्दोलनकै रूपमा प्रयोग गरेका छौं । हामी संघर्ष र आन्दोलनबाट अलग भएका छैनौं । अब हाम्रो आन्दोलन सदनमा हुन्छ । जहाँसम्म मतको कुरा छ । सरकार निर्माणको म्याण्डेट हामीलाई छैन । मधेशी जनताले मतको माध्यमबाट आफ्नो भावना अभिव्यक्त गरेका छन् । अन्तरिम संविधानले दिएको अधिकारसमेत खोस्ने काम भएको छ । ती अधिकार प्राप्तिका लागि मधेशी जनताले मत दिएका छन् । जुनसुकै सरकार बने पनि जनमतको कदर गर्नुपर्छ । मधेश नेपालमा छ । मधेशी पनि नेपाली हुन् । यो कुरामा विचार गरिएन भने देशमा शान्ति हुँदैन ।
० तपाईंहरूले राम्रै मत पाउनुभयो । तर, हालैको चुनावबाट आएको मतको बलमा संविधान संशोधन गराउन सक्नुहुन्छ ?
— हाम्रो सडकको आन्दोलन अब सदनमा पुगिसक्यो । मधेशी मलाई चाहिँदैन, मधेश मलाई चाहिँदैन भन्ने हो भने दुई तिहाइ कहिल्यै पुग्दैन । मधेशी पनि चाहिन्छ, मधेश पनि चाहिन्छ, यो पनि नेपालको भाग हो, मधेशी पनि नेपाली नागरिक हुन् भन्ने कुरा आत्मसात गरियो भने संविधान संशोधन हुन्छ । मधेशी जनताले आफ्नो भावना मतमार्फत् व्यक्त गरेका छन् ।
० भनेपछि मधेशकेन्द्रित दलले चुनावमा पाएको मतले नेकपा एमालेसहित संविधान संशोधनको विरोध गर्ने दलहरूको सोचमा परिवर्तन ल्याउने सम्भावना छ ?
— विल्कुल । सोच परिवर्तन गर्नै पर्छ । देशमा शान्ति र स्थिरता कायम गर्ने हो भने जुनसुकै सरकार बने पनि सोचमा परिवर्तन गर्नै पर्छ ।
० संविधान संशोधनको पक्षधर रहेको माओवादी अहिले नेकपा एमालेसँग गठबन्धन गरेको छ । भनेपछि माओवादीले एमालेलाई संविधान संशोधनको पक्षमा ल्याउन सक्छ कि माओवादी पनि एमालेको जस्तै संविधान संशोधनको विरोधमा जाने सम्भावना देख्नुहुन्छ ?
— मुख्य कुरा के हो भने यो देशमा मधेश चाहिन्छ कि चाहिँदैन ? मधेशलाई यो देशको भाग बनाउने कि नबनाउने ? एमाले होस् अथवा माओवादी यो कुरा बुझ्नुपर्छ । अब जनमत परिवर्तन भएको छ । जनमतलाई ध्यान दिनै पर्छ । जनमतलाई ध्यान नदिने सरकार टिक्न सक्दैन ।
० चुनावमा फोरम नेपालसँगको गठबन्धन कत्तिको फलदायी रह्यो ?
— जनताको भावनालाई हामीले कदर गर्नुपर्छ । जनताले मधेशबाट एमाले, माओवादी र कांग्रेसलाई विदा गर्न खोजेका छन् । जनमत हाम्रो पक्षमा छ ।
० प्रदेशहरूलाई अधिकार सम्पन्न नबनाइएकै हो ?
— पहिलो कुरा के हो भने प्रदेशको सीमाङ्कनमा नै हाम्रो विमति छ । प्रदेशको सीमाङ्कनको हामीले विरोध गर्दै आएका छौं । हामीले सम्पूर्ण २२ जिल्लामा दुई वटा प्रदेश खोजेका थियौं । तर, हामीले आठ जिल्लाको प्रदेश मात्र पायौं । १४ जिल्ला अहिले पनि बाहिर छ । त्यसका लागि लडाईं जारी छ । हामीले संविधान जलाउनुको कारणमध्ये अर्को एउटा कारण हो, प्रदेशलाई अधिकारविहीन बनाइयो । प्रदेश अधिकार सम्पन्न छैन । प्रदेशलाई कम मात्र अधिकार दिइएको छ । गाउँपालिकाभन्दा पनि कम अधिकार प्रदेशलाई दिइएको छ ।
० प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघर्षलाई कसरी अगाडि बढाउनुहुन्छ ?
— यसका लागि हामी संसद्बाट लडाईं सुरू गर्छौ । संसद् र सरकारले यसलाई कत्ति सम्बोधन गर्छ, त्यसलाई मूल्याकंन गरी अरू निर्णय लिन्छौं ।
० प्रदेश नम्बर २ को राजधानी कहाँ बनाउनुपर्छ ?
— यो प्रदेशसभाले निर्णय गर्छ । कुन ठाउँमा राख्दा राम्रो हुन्छ, कुन ठाउँ उपयुक्त हुन्छ, त्यो प्रदेशले छिनोफानो गर्छ । नेपाली कांग्रेस मधेशमा हार ब्यहोरेपछि यो विषयलाई जताततै उठाइरहेको छ । जनकपुरबासीले जनकपुर र वीरगञ्जबासीले वीरगञ्ज भनिरहेका छन् । यसको जवाफ दिने अधिकार प्रदेशलाई दिइएको छ । संवैधानिक व्यवस्थाअन्तर्गत हिंड्नुपर्छ । विवादरहीत ढंगबाट सबै अगाडि बढ्नुपर्छ । र, अहिले विवाद श्रृजना गर्ने पार्टीले नै संविधान बनाएको हो । संविधान बनाउँदा प्रदेशको राजधानी तोकिएन । तर, अहिले आएर विवाद गराउनु अनुचित हो ।
० प्रदेश नम्बर २ को नाम के राख्नुपर्ला ?
— दुई नम्बर प्रदेश त मधेश प्रदेश हो । त्यसमा कुनै शंका नै छैन । भाषाको दृष्टिकोणबाट प्रदेशको नाम राखियो भने विवाद झन् जन्मिन्छ । त्यसकारण अहिले मधेश प्रदेश नाम राख्नु नै उपयुक्त हो ।
० दुई नम्बर प्रदेशलाई मात्र मधेश भनेर नामाकरण गरियो भने मधेशका बाँकी भूभागलाई के भन्ने त ?
— हामीले मधेशमा दुई प्रदेशको कल्पना गरेका छौं । नारायणीदेखि पूर्व मधेश प्रदेश र नारायणदेखि पश्चिम थरूहट प्रदेश हुनुपर्छ, यसका कुनै विवाद छैन । यसमा हामी प्रष्ट छौं । पहिलो संविधानसभाका बेला नै हामी यो निष्कर्षमा पुगिसकेका थियौं ।
० ठूला दलको प्राथमिकतामा संविधान कार्यान्वयन हो । तपाईंहरूले पनिं अहिलेको संरचनालाई कार्यान्वयन गराउने कार्यमा सघाउनुहुन्छ कि मधेशमा दुई प्रदेशका लागि संघर्ष गर्नुहुन्छ ?
— बनिसकेको प्रदेशले आफ्नो काम गर्छ । सँगसँगै दुई प्रदेशका लागि हामीले आवाज उठाउँछौं । संघर्ष गर्छौ । आन्दोलन गर्छौं ।
० एकातर्फ मधेशमा दुई प्रदेश हुनुपर्छ भनिरहनुभएको छ अर्कोतर्फ अहिलेको संरचनालाई आत्मसात गरी चुनावमा सहभागी भएर अगाडि पनि बढिसक्नु भएको छ । बनेको घर (प्रदेश) भत्काउनेतिर लाग्नुहुन्छ कि घर सजाउनुहुन्छ ?
— हामीले यही सात प्रदेशको विरोधमा संविधान जलाएका थियौं । कालोदिन मनायौं । त्यसकारण हामीले कहिल्यै पनि सात प्रदेशलाई स्वीकार गरेका छैनौं । हाम्रो असन्तुष्टि कायम नै छ । घर बिगार्ने कुरा हामीले गरेका छैनौं । घर सफा बनाउने भनेका छौं । सात प्रदेशको बनोट हेर्ने हो भने एउटा छाडेर बाँकी सबैमा खस बाहुल्य छ । जनजाति, थारू, दलितलगायत सबैलाई उपेक्षित गर्ने काम गरियो । यसका लागि हामी लड्दै जान्छौं । घर भत्काउने कुरा होइन विस्तार गर्ने कुरा हो ।
० पश्चिमतर्फका चर्चित केही नेताहरूले चुनावको मुखमै आएर पार्टी परित्याग गरे । यस्तो अवस्थामा दुई नम्बर प्रदेशबाहेक पश्चिम क्षेत्रमा राजपा र फोरमको गठबन्धनले पाएको मतलाई कुन रूपमा लिनुहुन्छ ?
— प्रदेशलाई आफ्नो शासन आफैं गर्ने अधिकार दिनुपर्छ भनेर हामीले भन्दै आएका थियौं । अन्य प्रदेशहरूलाई उत्तर दक्षिण काटिएको छ । जसले गर्दा मधेशीको बाहुल्यता भएन । मधेशी अल्पमतमा परे । त्यसकारण राजनीतिक दृष्टिकोणले केही नेताहरूले ठाउँ परिवर्तन गरे । केबल मधेशमा मात्र उनीहरूलाई ठाउँ पाउन गाह्रो भयो । उत्तर दक्षिण सीमाङ्कनका कारण उहाँहरूले यस्तो निर्णय लिएका हुन् । तर, उहाँहरूले पार्टी छोड्दैमा अधिकारका लागि लड्नुहुन्न भन्ने छैन । उहाँहरू लड्नुहुन्छ भन्ने विश्वास छ ।
० वामगठबन्धनको सरकार बनेपछि नेपाल र भारतबीचको सम्बन्धमा कस्तो असर पार्ला ?
— नेपालमा कुनै पनि दल वाम छैनन् । नाम जे सुकै राखे पनि वाम भनिने कुनै पनि दल मास्र्कवाद र लेनिनवाद विचार लिएर हिँडेका छैनन् । त्यसकारण वाम गठबन्धनबाट संशकित हुनुपर्ने आवश्यकता छैन । तर, वामगठबन्धनको व्यवहारमा पनि निर्भर छ । व्यवहार लोकतान्त्रिक गर्न सक्यो भने सबै छिमेकीसँग राम्रो सम्बन्ध रहन्छ ।
राष्ट्रिय जनता पार्टी नेपाल,सहअध्यक्ष-लक्ष्मणलाल कर्ण
(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here