×

बीरगंज २८ मंसिर मुलुककै मुख्य नाका वीरगञ्जबाट एक महीनामा सवा ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका सवारीका साधन भित्रिएका छन् । गत कात्तिक महीनामा यो नाकाबाट ३ अर्ब ३३ करोड रुपैयाँका विभिन्न सवारीका साधन आयात भएको तथ्याङ्क वीरगञ्ज भन्सार कार्यालयसित छ ।

भन्सार प्रमुख सेवन्तक पोखरेलले भारत र तथा तेस्रो मुलुकबाट सो अवधिमा आएका सवारीका साधनबाट मात्र ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए । चालू आर्थिक वर्ष २०७४/७५ को कात्तिक महीनामा सबैभन्दा बढी मोटरसाइकल आयात भित्रिएको तथ्याङ्क छ । ‘१ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरका मोटरसाइकल आयात भएको छ । यसबाट १ अर्ब ७ करोड ६४ लाख रुपैयाँ राजस्वमा योगदान पुगेको छ,’ भन्सार प्रमुख पोखरेलले भने ।

अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा वीरगञ्ज नाकबाट ३ अर्ब ४१ करोड रुपैयाँको सवारीका साधन आयात भएको थियो । भन्सारले यो आयातबाट मात्र एक महीनामा ४ अर्ब ५ करोड रुपैयाँ राजस्व असुली गरेको थियो ।

वीरगञ्ज नाकाबाट हुने आयातमध्ये सवारीका साधन बढी राजस्व दिने बस्तुमा पर्छ । २०७२/७३ को ६ महीने मधेस आन्दोलन र नाकाबन्दीका कारण यो नाकाबाट हुने गाडीको आयात अन्य नाकातिर केन्द्रित भए पनि राजस्व योगदानका आधारमा अहिले पनि मुख्य बस्तुकै सूचीमा छ ।

सवारीका साधनमा सरकारले उच्च दरमा रावस्व लिनेको गरेको छ । गाडीको आयातमा २ सय ३० प्रतिशतसम्म राजस्व लिने गरिएको छ ।

Back to top